गीतसंगीत मञ्चको चमक होइन, माटोको सुगन्ध हो– अञ्जली
सानै उमेर देखि गीत–संगीत भने पछि हुरुक्कै हुने अञ्जली पटेल स्कुलमा हुने हरेक सांगितिक कार्यक्रमहरुमा कहिले कविता, कहिले गीत तथा नृत्यमा नछुटाई सहभागिता जनाउँथिन् । स्कुल पढ्दा ताका सुरिलो स्वरमा गीत गाउने भएकाले साथीहरुको समूहमा तारीफको पात्र बन्थिन उनी, जुन अञ्जलीका लागि साँगीतिक क्षेत्रमा लाग्ने हौसलाको मुख्य स्रोत बन्यो ।
व्यवसायिक तथा पारिवारीक दौडधुपबाट केही समय मिलाएर परिवारसँग रहँदा कहिले गीत जन्मनु, कहिले संगीत जन्मनु, पनि परिवारबीच घटिरहने घटना भएको बाबु चन्द्रेश्वर राउतको स्वीकारोक्ति छ । छोरी अञ्जलीले रोजेको गोरेटोमा माता, पिताको सधैँ साथ, सहयोग र समर्थन रहन्छ ।
छोरीको संगीतप्रतिको रुचिमा किन खुसी छु भने मलाई थाहा छ, कला, साहित्यको क्षमता । जहिल्यै एकातिर संगीन हुन्छ र एकातिर संगीत । संगिनले टुक्र्याउँछ भने संगीतले सधैँ जोड्छ । कलाको शक्ति र फैलावट पनि त्यही हो ।’ भन्ने भावना पोख्छिन्–आमा चन्द्रकला ।

अञ्जलीको सपना भने तराइ जस्तै समथल र पहाड जस्तै उच्च थियो, गीत संगीतको संसारमा आफ्नो छुट्टै पहिचान बनाउने । पुरानो गित संगीतलाई मुटुदेखि माया गर्ने एक सरल र मिजासिलो कलाकार हुन् । कतिपयले उनलाई गाउँघरमै नचिने पनि हाल उनका गीत बजारमा आउन थाालेपछि को हुन् अञ्जली भनेर खोज्न भने थालेका छन् । उनको स्वर, संघर्ष र साधनाले प्रमाणित गर्न थालेको छ । गीतसंगीत सधैँ मञ्चको चमक होइन, माटोको सुगन्ध हो । त्यस सुगन्धको मौन तर चम्किलो नक्षत्र बन्दै गएकी छन् । उनी भन्छिन्– ‘संगीतमा उमेर हुँदैन । जति उमेर ढल्दै जान्छ, त्योभन्दा बढी गीत संगीतको भोको हुँदै गईन्छ ।’
गीतमा राष्ट्रिय भावनाले ओतप्रोतको सन्दर्भ होस वा प्रकृति, सृष्टि, प्रेम, रोमान्स, ट्रयाजेडी, संस्कृति एवं सँस्कारको हरेक वस्तुलाई गीतसंगीतमा ढाल्न सक्नुपर्ने बताउँदै साहित्य तथा संगीत एक अर्काका परिपूरक हुन । एक अर्काको अभावमा दुबै अधुरा वा निरस प्रतीत हुन्छन् । दुवैमध्ये कुनै एकसँग एकाकार हुँदा स्वतः अर्काको अप्रत्यक्ष उपस्थिति महशुस हुन्छ ।
शब्दहरूको मोहक संगमबाट मर्मस्पर्शी गीत सिर्जित हुन्छ, र सात सुर तथा सरगमको संगमबाट सुमधुर संगीत प्रवाहित हुने बताउँदै उनी भन्छिन्– साहित्यले अन्तरात्मा ज्ञानको ज्योति जलाउँछ भने संगीतले गहिरो संवेदना तथा भावनाका सबै पहलूलाई जागृत गर्दछ ।
प्रकृति र जीवन भोगाइले मिश्रित रूपमा गीतकारलाई सिर्जनातर्फ प्रेरणा दिएका हुन्छन् । आफ्नो वरिपरि भइरहेका घटनाको गहिराइमा डुबेर गीतको रचना गर्दा छुट्टै सन्तुष्टि प्राप्त हुने भन्दै उनी थप्छिन्–साहित्य र संगीतको उर्जा नै मनुष्यका कोमल तथा प्रणयको सेरोफेरोमा घुम्ने भावना नै हुन् । राष्ट्रप्रतिको प्रेम, समाजमा देखिने पीडादायी घटनाले यस सम्बन्धी गीत सिर्जना गर्ने प्रेरणा दिन्छ ।
नेपाली मैथिली भोजपुरी थारु हिन्दी आधुनिक गीत फिल्मी गीत भजनहरु गरी करिव २०० जात गीतहरु रेकर्ड भएको बताउँछिन्–अञ्जली

उनका गीतहरुमा मातृभाषाका मैथली गीतहरु “गे बहिना कोना के कटलौ तोहर कोहबर रात…”“करू करु पिया जी गैस चुल्हा के व्यवस्था…”“ देह छै देहाती हमर…..”“गर्दैन माया उसले जब यकिन भयो…“मैले बोल्ने शब्दहरू…” बजारमा बढि प्रचलित छ ।
गीत–संगीत, साहित्य त मानव जीवनको प्राण नै हो । यसको वर्तमान जति चम्किलो छ, भविष्य त्यसरी नै उज्जवल रहन्छ । यो त सदावहार फूलबारी हो जो विश्वभरि फैलिएको छ । मानिसको रुचिमा समय परिस्थिति अनुसार परिवर्तन आउनु छुट्टै कुरा हो ।
मौसमी प्रवृत्तिले गीत–संगीतका मधुरता, उसको अनन्त विस्तारमा कुनै प्रतिकूल प्रभाव नपार्ने भन्दै उनी भन्छिन्– कुनै कुनै गीतले त मुटु कलेजो नै निचोरेर बाहिर ल्याइदिए जस्तो अनुभव हुन्छ । ‘बाटोमा कसैले हाहा गरिरहँदा पनि सातमध्ये एक सुर लागेको हुन्छ । तर, त्यो सुर मीठो सुनिन्न । रियाज गरेको सुरमा भने एक प्रकारको मीठो आनन्द भेटिन्छ । जब राम्रो रियाज गरेर सुर लगाउन सकिन्छ, तब मीठो गीत बन्छ ।’ एक अब्बल गीत बन्नको लागि भाव, प्रस्तुति र संगित सबैको राम्रो मिश्रण आवश्यक हुन्छ ।


WRITE COMMENTS FOR THIS ARTICLE