खापुङ ३२औँ आईजीपीमा नियुक्त

काठमाडौं – शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको हो । बहालवाला ३१औँ आईजीपी दीपक थापाको अवकाश हुन एक साता बाँकी रहँदै आईजीपीमा एआईजीपी चन्द्रकुबेर खापुङ नियुक्त गर्ने निर्णय गर्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति यही बीचमा परेकाले सरकारले शुक्रबार नै आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । प्रहरीमा निर्विवाद यसरी आईजीपी नियुक्त हुने अन्ततः खापुङ एक्ला प्रतिस्पर्धी हुन् ।
उसो त प्रहरीको ३२औँ आईजीपीका लागि उनी एक्ला दाबेदार भएका कारण उनलाई आईजीपी नियुक्त गर्न सरकारलाई सहज भएको हो । उनकै ब्याची अर्का एआईजी कृष्णहरि शर्मा दुई दिनपछि भदौ १५ गते नै अवकाशमा जाने भएपछि उनी आईजीपीको दौडमा एक्ला प्रतिस्पर्धी थिए । शर्मा एआईजीपीको ५६ वर्षे उमेरहदका कारण अवकाशमा जान लागेका हुन् ।
हालका आईजीपी थापा ०५१ भदौ १९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका थिए । उनी प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएपछि नयाँ आईजीपीमा खापुङ नियुक्त भएका हुन् ।
आईजीपी थापासँगै एआईजीद्वय टेकबहादुर तामाङ र सुदीप गिरीले समेत भदौ १९ गते ३० वर्षे सेवाहदका कारण अवकाश पाउनेछन् । भदौ १९ गतेदेखि लागु हुने गरी नियुक्त भएका खापुङ ०५१ कात्तिक २६ गते इन्स्पेक्टरमा भर्ना भएका अधिकारी हुन् । खापुङको कार्यकाल पनि लामो भने हुने छैन ।
हाल प्रहरीको नियमावली अनुसार, उनी दुई महिनापछि अर्थात् कात्तिक २६ मा प्रहरीको ३० वर्षे सेवाहदका कारण अवकाशमा जानेछन् । प्रहरी संगठनमै आईजीपीको सबैभन्दा छोटो कार्यकाल खापुङको रहनेछ ।
हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख रहेका खापुङ कुनै ठूलो विवादमा नपरेका प्रहरी अधिकारी हुन् । उनी डीआईजी हुँदा कोशी प्रदेश प्रहरी प्रमुख, एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि पनि उनले विभिन्न युनिटको कमान्ड सम्हालेका छन् ।
कुल ६ जना दाजुभाइमध्ये साहिँला खापुङ तेह्रथुमको मोहामा जन्मिएका हुन् । खापुङकी श्रीमती भावना श्रेष्ठले पनि प्रहरीको डीएसपीबाट अवकाश पाएकी थिइन् ।
WRITE COMMENTS FOR THIS ARTICLE