नव निर्वाचित सभामुख डिपी अर्याल को हुन् ?
काठमाडाै – सभामुख डिपी अर्याल धादिङको गाउँदेखि सभामुखसम्म, जापानदेखि रास्वपाको शीर्ष तहसम्म पुगेका नेता हुन । चार वर्षको अवधिमा अर्यालले राजनीतिमा निकै ठुलो छलाङ मारेका छन् ।
धादिङको ज्वालामुखी गाउँपालिकामा जन्मिएका ५१ वर्षीय अर्यालको जन्म २०३२ सालमा भएको हो । अर्याल पहिलोपटक २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट समानुपातिक सांसद बनेका थिए । त्यतिबेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत बनेका थिए ।
२०७९ माघमा तत्कालीन माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त भएका थिए । उनको त्यो कार्यकाल एकदमै छोटो रह्यो । उनले जम्माजम्मी २० दिन मात्र काम गर्न पाए ।
त्यसो त उनी दोस्रो पटक पनि उनी सोही मन्त्रालयका मन्त्री बने । त्यस पटक भने उनले अलिक लामो समय काम गर्न पाए, चार महिना जति । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ मा अन्य प्रतिस्पर्धीलाई झन्डै ३० हजारभन्दा बढी मतले पछि छाड्दै सांसद निर्वाचित अर्याल मौजुदा सरकारमा गृहमन्त्री बन्न चाहन्थे । पार्टी सभापति लामिछानेको पनि यही इच्छा थियो ।
उनले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष प्रस्ताव पनि गरेका हुन् । तर जेनजी आन्दोलनको अगुवा सुधन गुरूङलाई नै गृहमन्त्री बनाउनुपर्ने मनसायमा बालेन देखिएपछि अर्याललाई सभामुख बनाउने सहमति भएको थियो । निष्पक्ष भुमिका निर्वाह गरी सदनलाई प्रभावकारी बनाउनु पर्ने दायित्व अर्यालको काधमा आएको छ ।
राजनीतिमा आउनुअघि अर्याल विभिन्न व्यवसायमा संलग्न थिए । विसं २०४९ सालपछि रोजगारीका लागि काठमाडौं आएका उनले सुरुआती दिनमा रेस्टुरेन्टमा सामान्य मजदुरका रुपमा काम गर्दै संघर्ष गरेका थिए । त्यसपछि २०५३ मा वैदेशिक रोजगारीका लागि जापान गएका थिए । उनले त्यहाँ करिब आठ वर्ष काम गरेर स्वदेश फर्किएका थिए ।
सभामुख भएपछि अर्यालले पार्टीको सदस्यसमेत नरहने गरी राजीनामा दिनु पर्नेछ । वैकल्पिक राजनीति दलको रूपमा रास्वपा एक्लैले दुई तिहाई बहुमत प्राप्त गर्दासम्म अर्यालले अतुलनीय योगदान गरेका थिए ।


WRITE COMMENTS FOR THIS ARTICLE