नेपालको सहरीकरणमा देखिएका चुनाैति सम्बाेधन गर्न राष्ट्रसंघसँग सहकार्य गरिने
उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रमुख सहरी चुनौती सम्बोधन गर्न संयुक्त राष्ट्रसंघ र यूएन ह्याबिटेटसँग सहकार्य गरिने बताएका छन्।
इजिप्टको कायरोमा जारी वर्ल्ड अर्बान फोरमको कार्यक्रमका क्रममा शुक्रबार यूएन ह्याबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधि आरओएपी इसिगाकी र नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगर ह्याम्डीसँगको द्विपक्षीय बैठकमा उपप्रधानमन्त्री सिंहले नेपालले सामना गरिरहेका प्रमुख सहरी चुनौतीहरूलाई सम्बोधन गर्न सहकार्यको महत्त्वमा जोड दिएका हुन्।
भेटमा आरओएपीका प्रतिनिधि इसिगाकीले तथ्य र तथ्यांकमा आधारित योजनामा यूएन ह्याबिटेटको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
त्यसैगरी नेपालका लागि आवासीय प्रतिनिधि ह्याम्डीले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन रहने जानकारी गराएकी थिइन्। दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्न र सहरी योजनालाई मुख्य प्रवाहमा ल्याउने जटिल सहरी चुनौतीहरूको सामना गर्न यूएन ह्याबिटेटको भूमिकामा समेत आवासीय प्रतिनिधि ह्याम्डीले जोड दिएकी थिइन्।
विश्व फोरमा नेपालका तर्फबाट उपप्रधानमन्त्री सिंहले तीन सत्रमा सम्बोधन गरेका थिए।
उपप्रधान एवं शहरी विकास मन्त्री सिंहले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे चर्चा गर्दै जलवायु न्यायको माग गरेका थिए।
नेपाल जस्ता विकासोन्मुख देशहरुले धेरै कम कार्वन उत्सर्जन गरेता पनि जलवायु परिवर्तनको प्रत्यक्ष असर धेरै देखिएकाले अन्तर्राष्ट्रियस्तरको जलवायु वित्तमा सजिलो पहुँच र प्राविधिक सहयोग मार्फत मात्र जलवायु न्याय हुने कुरा विश्व समुदाय समक्ष जोडदार रुपमा उठाएका थिए।
इजिप्टको कायरोमा नोभेम्बर ४ बाट सुरू भएको फोरम शुक्रबार समापन हुँदैछ। उपप्रधान सिंह शनिबार बिहान १० बजे नेपाल आइपुग्नेछन्।
WRITE COMMENTS FOR THIS ARTICLE