साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानसँग खेल्दै

बंगलादेशको राजधानी ढाकामा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले शनिबार आफ्नो पाँचौं खेल खेल्दैछ । नेपालले पाँचौं खेलमा भुटानसँग भिडन्त गर्न लागेको हो ।
नेपालले यसअघि खेलिएको चारमध्ये तीन खेलमा जीत र एक खेलमा हारको नतिजा निकालेको छ । नेपाली टोलीले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ गोकलो फराकिलो अन्तरले पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि पूर्णिमा राई एक्लैले चार गोल गरेकी थिइन् । बाँकी दुई गोल भने सेनु परियारले गरेकी थिइन् ।
नेपाली टोली आफ्नो दोस्रो खेलमा भने तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग २–३ गोलले पराजित भएको थियो । खेलको प्रारम्भमै दुई गोल खाएको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो ।
नेपाली टोलीले आफ्नो तेस्रो खेलमा भने श्रीलंकालाई ७–० गोलको फराकिलो अन्तरले हराएको थियो । उक्त खेलमा नेपालका लागि मीना देउवाले ह्याट्रिक गरेकी थिइन् । उक्त खेलमा पूर्णिमा राईले दुई तथा सुशीला केसी र सरिता नाथले पनि एक/एक गोल थपेका थिए ।
नेपाली टोलीले आफ्नो चौथो खेलमा श्रीलंकालाई ७–० गोलको फराकिलो अन्तरले हराएको थियो । नेपालको जीतमा कुसुम खतिवडा र समीक्षा मगरले दुई/दुई गोलको योगदान गरेका थिए । पूर्णिमा राई, सरिताकुमारी नाथ र बिर्सना चौधरीले पनि एक–एक गोल गरेका थिए ।
जारी प्रतियोगितामा चार टोली सहभागी छन् । चारवटै टोलीलाई एउटै समूहमा राखिएको छ । सहभागी सबै टोलीले एक-अर्कासँग दुई/दुई खेल खेल्नेछन् । त्यसपछि अंक तालिकाको पहिलो स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
हालसम्म चारवटै टोलीले चार/चार खेल खेलिसकेका छन् । चारवटै खेल जितेको बंगलादेश १२ अंकसहित पहिलो र नौ अंकसहित नेपाल दोस्रो स्थानमा आसीन छन् । तीन अंक बटुलेको भुटान तेस्रो स्थानमा छ । चौथो स्थानमा आसीन श्रीलंका भने चारवटै खेलमा पराजित भएको छ ।
नेपाली टोलीले आफ्नो छैटौं तथा अन्तिम खेल सोमबार बंगलादेशसँग खेल्नेछ । जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा नेपालकी पूर्णिमा राई पहिलो स्थानमा छिन् । उनले सात गोल गरिसकेकी छन् ।
दोस्रो स्थानमा रहेका नेपालकी मीना देउवा, बंगलादेशकी मोसामत सागोरिका र बंगलादेशकै शान्ति मार्दीले चार/चार गोल गरेका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE