लयमा फर्कियो सेयर बजार

काठमाडौं – लगातारको वृद्धिका बिच सोमबार उच्च अंकले घटेको सेयर बजार परिसूचक (नेप्से)मा मंगलबार पुनः उच्च अंककै वृद्धि भएको छ । मंगलबार ३४.४६ अंकले बढ्दै नेप्से २७६०.१७ को बिन्दुमा उक्लिएको छ ।
समग्रमा मंगलबार १.२६ प्रतिशतले नेप्से बढ्यो ।
मौद्रिक नीति जारीपूर्व र जारीपछि लगातार ३ कारोबार दिन नेप्सेमा उच्च अंकको वृद्धि भएको थियो । तर, सोमबार भने नेप्सेमा ३५.०९ अंकको गिरावट आयो ।
मंगलबार समग्र परिसूचकमा वृद्धि हुँदा सबैजसो समूहको पनि सूचक बढ्यो । सामूहिक लगानी समूहको सूचक स्थिर रहँदा बाँकी सबै समूहको सूचकमा वृद्धि भयो ।
सबैभन्दा बढी बैंकिङ समूहको सूचकमा १.८१ प्रतिशतले वृद्धि भएको छ ।
कारोबारमा आएकामध्ये २०९ को मूल्यमा वृद्धि हुँदा ३९ को भने मूल्यमा करेक्सन आएको छ ।
मंगलबार परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । २ करोड ६५ लाख १७ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँमाथिको भयो ।
कारोबार रकमका हिसाबले मंगलबार सबैभन्दा बढी बुटवल पावर कम्पनी, निफ्रा ग्रिन, रादी विद्युतलगायत शीर्ष स्थानमा रहे ।
मौद्रिक नीति सकारात्मक हुँदा हुँदै पनि सोमबार नेप्सेमा गिरावट आउँदा आम लगानीकर्तामा अन्योलता देखिएको थियो । यद्यपि, मंगलबारको वृद्धिले भने नेप्सेमा पुरानै लहर कायम रहेको देखाउँछ । सँगै, वार्षिकरुपमा हुने चाप पनि अन्त्य भएको संकेत गर्दछ ।
WRITE COMMENTS FOR THIS ARTICLE