एसियन कपमा नेपाली महिला राष्ट्रिय फुटबल टोली उज्वेकिस्तान संग पराजित

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप खेल्ने सपना फेरि एकपटक अधुरै बनेको छ । शनिबार उज्वेकिस्तानमा भएको छनोट चरणको निर्णायक तथा अन्तिम खेलमा नेपालले घरेलु टोलीविरुद्ध अविश्वसनीय पुनरागमन गरे पनि पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
तास्केन्तस्थित घरेलु मैदानमा उज्वेकिस्तानले खेलको सुरुवातमै नेपालमाथि दबाब बनायो । दोस्रो मिनेटमै खाबिबुलेएभाले गोल गर्दै आयोजकलाई अग्रता दिलाइन् । पहिलो गोलको झट्काबाट सम्हालिन नपाउँदै १२ औं मिनेटमा नेपालले अर्को दुर्भाग्यपूर्ण गोल बेहोर्यो । नेपाली डिफेन्डर समिक्षा घिमिरेको खुट्टामा ठोक्किएर बलले जाली चुमेपछि उज्वेकिस्तानले २-० को अग्रता बनायो ।
पहिलो हाफको इन्ज्युरी समयमा साम्बामाथि फल गरेपछि उज्वेकिस्तानकी खेलाडीले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडिन् । यसले खेलमा नयाँ मोड ल्यायो र १० खेलाडीमा समेटिएको उज्वेकिस्तानविरुद्ध दोस्रो हाफमा नेपालले आक्रामक खेल प्रस्तुत गर्यो ।
दोस्रो हाफमा नेपाली चेलीहरूले अविश्वसनीय खेल प्रदर्शन गरे । लगातारको आक्रमणको फल नेपालले ७१ औं मिनेटमा पायो र खेललाई ३-२ को स्थितिमा ल्यायो । त्यसको एक मिनेट नबित्दै ७२ औं मिनेटमा कप्तान साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३-३ को रोमाञ्चक बराबरीमा फर्काइन् ।
निर्धारित समय बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलियो । तर, यहाँ नेपालको भाग्यले साथ दिएन । नेपालकी ‘गोल मेसिन’ कप्तान सावित्रा भण्डारीको पहिलो प्रहार नै पोस्टमा लागेर बाहिरिनु नेपालका लागि ठूलो झट्का बन्यो । चौथो प्रहारमा गोलकिपर अन्जना राना मगरको सटलाई उज्वेकिस्तानी किपरले बचाइन् । नेपालका लागि गीता राना र सविता राना मगरले मात्र गोल गर्न सके ।
छनोटबाट समूह विजेता टोली मात्र अर्को वर्ष मार्चमा अष्ट्रेलियामा हुने एसियन कपमा पुग्ने थियो । महिला एसियन कप र विश्वकप र ओलम्पिकको पनि छनोटको आधार भएकोले एसियन कपमै छनोट नहुँदा नेपालले एकै पटक तीन मुख्य प्रतियोगिताको अवसर गुमाएको हो ।
WRITE COMMENTS FOR THIS ARTICLE