भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखककाे संलग्नता छैन -देउवा

चितवन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेका छन् । पार्टीका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन उनले चितवनको भरतपुर विमानस्थलमा अवतरण गरेका हुन् ।
विमानस्थलमा सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै देउवाले आफ्नो भ्रमण विशुद्ध पार्टीगत भएको स्पष्ट पारे । ‘पार्टीको कार्यक्रमका लागि यहाँ आएको हुँ,’ उनले भने । देउवासँगै कांग्रेसका केही नेताहरू पनि चितवन पुगेका छन् ।
सो अवसरमा उनले गृहमन्त्री रमेश लेखकसम्बन्धी पछिल्लो विवादमा प्रतिक्रिया दिँदै लेखकको बचाउ गरे । उनले भिजिट भिसासम्बन्धी प्रकरणमा गृहमन्त्री लेखक संलग्न नरहेको दाबी गरे ।
‘उहाँमाथि फैलाइएको कुरा सुनियोजित हल्ला मात्रै हो । यस्ता हावा कुराको पछि लाग्नुहुँदैन,’ देउवाले भने ।
एमालेसँगको सत्तासाझेदारीबारे पत्रकारले जिज्ञासा राख्दा देउवाले सहकार्यमा खटपट नरहेको दाबी गरे । उनले भने, ‘सत्तारूढ दल एमालेसँग विमति हुनु सामान्य कुरा हो । हामी फरक विचारका दल हौँ। विमति स्वाभाविक हो । तर, सत्तामा खटपट छैन ।’
चितवनमा देउवाको उपस्थितिले स्थानीय कांग्रेस कार्यकर्तामा उत्साह देखिएको छ भने पार्टी कार्यक्रमहरूमा उनले सम्बोधन गर्ने कार्यक्रम छ ।
WRITE COMMENTS FOR THIS ARTICLE