बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिए
काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
प्रदेश सभामा आज सम्बोधन गर्दै बानियाँले राजीनामाको घोषणा गरेका हुन्। एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाँले विश्वासको मत लिन प्रदेश सभा बैठक बोलाएका थिए।
१०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर बानियाँको पक्षमा कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसद मात्रै रहेकाले उनले विश्वासको मत पाउने अवस्था बनेन। विश्वासको मत पाउने आधार नदेखिएपछि बानियाँले राजिनामा दिएका छन् ।
बानियाँले राजनीतिक परिस्थितिका कारण राजीनामा दिनुपरेको बताए। उनले आफ्नो छोटो कार्यकालमा प्रदेशवासीको हितमा काम गरेको दाबी गर्दै अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे।
बानियाँ २० साउन २०८२ मा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।


WRITE COMMENTS FOR THIS ARTICLE