बक्यौता नउठाई लाइन जोडिए आन्दोलन–कर्मचारी संगठन
काठमाडौं, – नेपाल विद्युत प्राधिकरणका कर्मचारी संगठनहरुले बक्यौता रकम नउठाई लाइन जोडिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । अघिल्लो मन्त्रिपरिषद् बैठकले बक्यौता रकम नतिरेर लाइन काटिएका उद्योगहरुमा २४ घण्टाभित्र लाइन जोड्ने निर्णय गरेसँगै राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी कल्याण परिषद्ले आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
बक्यौता रकम नउठाई उद्योगहरुको लाइन जोडिएमा अन्य उपभोक्तामा पनि महसुल नतिर्ने प्रवृत्ति हाबी हुने कर्मचारी संगठनको ठम्याइँ छ । आम उपभोक्ताहरुले ६० दिनसम्म महशुल नबुझाउँदा लाइन काटी जरिवानासमेत असुल गरिँदै आएको अवस्थामा सरकारले उद्योगहरुसँग लामो समयदेखि ठूलो रकम उठाउन सकिरहेको छैन ।
‘लाइन काटिएपश्चात् सरकारी स्वामित्वका २ सिमेन्ट उद्योगसहित १४ वटा ग्राहकले प्राधिकरण सञ्चालक समितिले दिएको किस्ताबन्दी सुविधाअनुसार बक्यौता बुझाई लाइन जोडिएको थियो। आफ्ना ग्राहकहरूलाई सहजीकरण गर्न सञ्चालक समितिले सुविधामा थप गरी ५६ किस्ताको सुविधा उपलब्ध गराउने निर्णयसमेत गरिसकेको अवस्थामा सो सुविधाअनुसार बक्यौता बुझाई लाइन जोड्नुपर्नेमा सरकारबाट २४ घण्टाभित्र लाइन जोड्न निर्देशन हुनुले आगामी दिनमा आम उपभोक्ताबाट महशुल असुलीमा प्रतिकूल असर परी संस्था धराशयी हुने निश्चित छ,’– परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य र युनियनका वरिष्ठ उपाध्यक्ष भूमिनन्द अर्यालले हस्ताक्षर गरेको चेतावनी पत्रमा भनिएको छ ।
डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत् विद्युत प्रयोग गरेका ६१ वटा उद्योगहरूबाट २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ । प्राधिकरणका कर्मचारी संगठनहरुले बक्यौता भुक्तानी भएपछि मात्र लाइन जोड्ने व्यवस्था कडाइका साथ लागू गर्न सरकार समक्ष माग गरेका छन् । विद्युत महसुल बक्यौता रकम नबुझाई लाइन जोडिएमा सर्वसाधारण जनतालाई समेत सूचित गराई संघर्षका कार्यक्रम अगाडि बढाइने उनीहरुको चेतावनी छ ।
WRITE COMMENTS FOR THIS ARTICLE