नर्वेको युवराज्ञीका छोरामाथि बलात्कार मुद्दाको सुनुवाइ शुरू
ओस्लोस्थित एक महिलाको फ्ल्याटमा भएको हिंसात्मक घटनाका कारण पक्राउ परेका नर्वेको युवराज्ञीका छोरा मारियस बोर्ग होइबीविरुद्ध बलात्कार मुद्दाको सुनुवाइ शुरू भएको छ । पछिल्ला वर्ष नर्वे अदालतमा पुगेका सबैभन्दा ठूला मुद्दामध्ये यो एक हो ।
मुद्दा शुरू हुनुअघि २९ वर्षीय होइबी फेरि पक्राउ परेको खुलेको छ । यसपटक पनि उनको पक्राउ प्रारम्भिक पक्राउसँग मिल्दोजुल्दो परिस्थितिमा भएको बताइएको छ । उनीमाथि कुटपिट, चक्कु देखाएर धम्की दिएको र निषेधाज्ञा उल्लंघन गरेको आशंका गरिएको छ ।
प्रहरीले उनलाई चार साताका लागि थुनामा राखेको छ, जसका कारण उनी हिरासतबाटै मुद्दाको सामना गरिरहेका छन् । उनका वकिलहरूले उक्त निर्णयविरुद्ध अपिल गर्ने बताएका छन् ।
युवराज्ञी मेटे–मारिटमाथि पनि आलोचना बढ्दै गएको छ । दिवंगत यौन अपराधी जेफ्री एपस्टिनसँग उनको व्यापक सम्पर्क देखाउने सयौं इमेल सार्वजनिक भएपछि विवाद चर्किएको हो । उनले गलत निर्णय गरेको स्वीकार गरेकी छन् । यसबीच, एक संस्थाले आफ्नो वार्षिक पुरस्कारको संरक्षकबाट उनलाई हटाउने निर्णय गरिसकेको छ ।
अभियोग पढेर सुनाउँदा होइबीले चारवटै बलात्कार आरोप अस्वीकार गरे । शुरूमा उनले शान्त स्वरमा बयान दिएका थिए । मुद्दामा संलग्न चार महिलाको पहिचान खुल्न सक्ने कुनै पनि विवरण प्रकाशनमा प्रतिबन्ध लगाइएको छ, जसलाई न्यायाधीशले सुनुवाइ शुरू हुँदै स्पष्ट पारे ।
ओस्लो जिल्ला अदालतको कक्ष नम्बर २५० मा चलिरहेको सुनुवाइप्रति नर्वे मात्र नभई अन्तर्राष्ट्रियस्तरमै चासो देखिएको छ । तर शाही परिवारका कुनै पनि सदस्य सुनुवाइमा उपस्थित हुने छैनन् । राजा हाराल्ड पाँचौं र रानी सोन्या यसै साता इटालीमा हुने शीतकालीन ओलम्पिकतर्फ जाने कार्यक्रम रहेकाले यो निर्णय अस्वाभाविक नभएको टिप्पणीकारहरूले बताएका छन् । यद्यपि यसले युवराज हाकोनका सौतेनी छोरा होइबी झन् एक्लिएको अनुभूति थपेको छ ।
मारियस बोर्ग होइबी युवराज्ञी मेटे–मारिटले युवराज हाकोनसँग विवाह गर्नुभन्दा चार वर्षअघि जन्मिएका थिए । उनी परिवारका नजिकका सदस्यका रूपमा हेरिए पनि औपचारिक रूपमा राजपरिवारका सदस्य होइनन् र सार्वजनिक व्यक्तित्व पनि मानिँदैनन् ।
सन् २०२४ को अगस्टमा कुटपिट र धम्कीसम्बन्धी केही अभियोग पश्चिमी ओस्लोको फ्रोगनर क्षेत्रकी एक महिलासँग सम्बन्धित छन् । उनको पछिल्लो पक्राउ पनि सोही महिलासँग जोडिएको बुझिएको छ ।
होइबीका वकिलहरूले अधिकांश अभियोग, विशेष गरी यौन दुर्व्यवहार र हिंसासम्बन्धी आरोप अस्वीकार गरेको बताएका छन् । उनले केही साना अभियोग भने स्वीकार गरेका छन् । प्रारम्भिक पक्राउपछि उनले शारीरिक दुर्व्यवहार र सामान तोडफोड गरेको स्वीकार गरेका थिए ।
उनले पहिलो पटक बुधबार अदालतमा बयान दिने अपेक्षा गरिएको छ । दोषी ठहरिएमा उनलाई कम्तीमा १० वर्ष कैद सजाय हुन सक्छ ।
युवराज्ञी मेटे–मारिट गम्भीर फोक्सोसम्बन्धी रोगबाट पीडित छन् र सास फेर्न कठिनाइ हुने समस्या छ । तर हाल नर्वेमा चर्चा उनको स्वास्थ्य नभई अमेरिकी न्याय मन्त्रालयले गत साता सार्वजनिक गरेका ९०० भन्दा बढी इमेल बनेका छन्, जसमा उनको नाम उल्लेख छ ।
ती इमेलको स्वरले नर्वेको भावी रानीले जेल बसेका दर्ता यौन अपराधीसँग सजगताविनै सन्देश आदानप्रदान गरेको संकेत गर्छ । साथै, एपस्टिन फ्लोरिडास्थित आफ्नो घरमा नहुँदा उनले त्यहाँ चार दिन बिताएको तथ्य पनि बाहिर आएको छ ।
यौन तथा प्रजनन् अधिकारमा काम गर्ने ‘सेक्स एन्ड सोसाइटी’ फाउन्डेसनले सार्वजनिक रूपमा मेटे–मारिटलाई आफ्नो वार्षिक ‘शेमलेस प्राइज’की उच्च संरक्षकका रूपमा अब नराख्ने जनाएको छ । संस्थाका अनुसार हाल देखिएका तथ्यहरू उनीहरूको मूल मान्यतासँग मेल खाँदैनन् ।
नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेले मेटे–मारिटलाई ‘कति हदसम्म सम्पर्क भएको थियो भन्ने स्पष्ट पार्न’ आग्रह गरेका छन् ।
सेलिब्रिटी पत्रिका से एन्ड हियर की शाही मामिलाविज्ञ क्यारोलिन भ्याग्लेले यी खुलासाहरू मेटे–मारिटलाई जीवनभर पछ्याउने विश्वास व्यक्त गरेकी छन् ।
उनले भनिन्, ‘नर्वेली जनता स्तब्ध र निराश छन्, र म पनि त्यही महसुस गर्छु । अब सबै कुरा खुलेर राख्नु नै सही बाटो हो ।’
नर्वेको टिभी२ का इतिहासकार तथा शाही संवाददाता ओले–यर्गेन स्कुल्सरुद–हान्सेनका अनुसार युवराज्ञीका सल्लाहकार र दरबारलाई एपस्टिनसँगको सन्देश आदानप्रदानबारे थाहा हुनुपर्थ्यो र त्यसलाई रोक्नुपर्थ्यो ।
उनले भने, ‘यससँगै परराष्ट्र मन्त्रालयको भूमिकाबारे पनि प्रश्न उठ्छ । नर्वेको अन्तर्राष्ट्रिय छवि जोगाउनु उनीहरूको जिम्मेवारी हो, तर यो प्रकरणले त्यो छविलाई क्षति पुर्याइरहेको छ ।’
नर्वेको शाही परिवार अझै पनि लोकप्रिय छ । केही समयअघि गरिएको नोर्सट्याट सर्वेक्षणअनुसार ७३ प्रतिशत नागरिक शाही व्यवस्थाको पक्षमा छन् ।
तर गणतन्त्रवादी धारणा राख्ने नर्वेको ग्रीन पार्टीका नेता आरिल्ड हर्मस्टाडका अनुसार यी इमेल आदानप्रदानले राजतन्त्र काम नगरेको संकेत गर्छ । उनले भने, ‘यसले शाही परिवार मात्र होइन, नर्वेलाई पनि ठूलो अप्ठ्यारोमा पारेको छ । अब कम्तीमा पनि उनी पूर्ण रूपमा इमानदार र स्पष्ट हुनुपर्छ ।’
संयोगवश, नर्वेली सांसदले मंगलबार गणतन्त्रवादीले परम्परागत रूपमा केही वर्षमा एकपटक दर्ता गर्ने प्रस्तावमाथि मतदान गर्दैछन्, यद्यपि त्यसले ठूलो समर्थन पाउने अपेक्षा गरिएको छैन ।
तर हर्मस्टाडका अनुसार धेरै सांसद शाही संस्थाको भविष्यप्रति संवेदनशील छन् । उनले भने, ‘यति ठूलो काण्डबाट उनीहरू कसरी बाहिर निस्कन्छन् भन्ने कल्पना गर्न नै गाह्रो छ ।’


WRITE COMMENTS FOR THIS ARTICLE