अन्तर्राष्ट्रिय बाल योगी सम्मेलन सम्पन्न

काठमाडौँ,– काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४, उत्तर बाहिनीमा पहिलो अन्तर्राष्ट्रिय बाल योगी सम्मेलन सम्पन्न भएको छ । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपाल (जी.एस.पी.एस.एस)को आयोजनामा सम्मेलन भएको थियो ।
योग जागरणमार्फत स्व–रूपान्तरण एवं विश्व बन्धुत्व भाव सहित नेपाललाई विश्व योग गुरु र गन्तव्यको देश बनाउने विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको महा–अभियानमा जोडिई ‘राष्ट्रिय बाल दिवस’को अवसरमा पहिलो अन्तर्राष्ट्रिय बाल योग सम्मेलन आयोजना गरिएको थियो ।
अत्तरखेल भगवती मन्दिरबाट सुरु भएको पदयात्रा सहिद पार्क, गोकर्णेश्वर मन्दिर लगायत विभिन्न स्थान हुँदै उत्तरवाहिनी स्थित आत्मा साधना उत्तरवाहिनी योग केन्द्रको सभा हलमा पुगेर औपचारिक कार्यक्रममा रूपान्तरण भएको थियो ।
सम्मेलनमा स्वागत गर्दै अनु घिमिरेले पदयात्रामा सहज करण गराएकी थिइन् ।
पदयात्राका क्रममा सूर्य नमस्कार रामभक्त घिमिरेलेले, चन्द्र नमस्कार सविता न्यौपानेले, डुङ्गा ध्यान स्वमिका गुरुले गराएका थिए । पञ्चकन्याद्वारा दीप प्रज्वलन गरेर औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियो भने आरुसी घिमिरेले योगीहरूको स्वागतमा नृत्य गरेकी थिइन् ।
सम्मेलनमा नेपालको पहिलो बाल योगिनी लक्ष्मी जैसीले संस्थाको बारेमा परिचय दिएकी थिइन् । उनले योगले मानवलाई शान्ति, मोक्ष, आनन्द र शक्तिको अनुभूति गराउने बताइन् । ‘योग भनेको जोड हो । नेपाललाई योगीहरूको देशका रूपमा चिनाउने संस्थाको उद्देश्य हो ।’ उनले भनिन्, ‘संस्थाको प्रधान कार्यालय अस्ट्रेलियाको सिड्नीमा छ । काठमाडौँको बाल कोटमा केन्द्रीय कार्यालय छ । विश्वका ४४ भन्दा बढी देशमा योग अभियान विस्तार भएको छ ।’ उनले संस्थाले शान्तिपूर्ण समाज निर्माण गर्न मद्दत पुग्ने बताइन् ।
कार्यक्रममा अर्थ समितिका सभापति सन्तोष चालिसे योगको विस्तार र विकासमा आफूले भूमिका खेल्ने बताए । ‘स्वस्थ जीवनका लागि योग अपरिहार्य छ । प्रत्येक घरका नागरिक योगमा जोडिनुपर्छ’, उनले भने, ‘योगमा जोडिएका कुनैपनि व्यक्ति दीर्घ रोगको सिकार हुनुपर्दैन । सारा नेपालीलाई योगी बनाउन सकियो भने नेपालको समृद्धि र विकास समेत हुन्छ ।’
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपाल (जी.एस.पी.एस.एस)का केन्द्रीय अध्यक्ष योगी आचार्य राजन शर्माले नेपाललाई गुरु देशका रूपमा स्थापित गर्न विभिन्न प्रयासहरू भएको बताए ।
उनले विश्व गुरु देशका रूपमा घोषणा गराउने महान् अभियान अन्तरगर्त पहिलो अन्तर्राष्ट्रिय बाल योगी सम्मेलन मनाएको बताए । शर्माले अन्तर्राष्ट्रिय बाल योग दिवस दर्ता भएको भन्दै आउने दिनमा यो दिवसलाई निरन्तर मनाउने बताए ।
सम्मेलनमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले नगरलाई योगमय बनाउने उद्देश्य राखेको बताए । उनले सानैबाट परिपक्व बन्दै गएमा भविष्यमा असल र ज्ञानी हुन सकिने बताए ।
उपप्रमुख सान्नानी लामाले स्वस्थ जीवन, असल व्यक्तित्व बनाउने नगरपालिकाको उद्देश्य रहेको बत्ताइन् । उनले बालबालिकालाई अगाडि बढाउन सके बल्ल भोलीको देश समृद्ध हुने स्पष्ट पारिन् ।
(जी.एस.पी.एस.एस)का बाल कार्यक्रम संयोजक तथा पहिलो अन्तर्राष्ट्रिय बाल योगी सम्मेलनका संयोजक त्यागी अनिल मारुतले विश्वको दोस्रो कान्छी बाल योगिनीको अध्यक्षतामा पहिलो पटक अन्तर्राष्ट्रिय बाल योगी दिवस मनाएर विश्वमा नयाँ रेकर्ड कायम गरेर नेपालबाट ऐतिहासिक दुई कामको सुरुवात भएको बताए । ‘नेपालबाट कोही विदेश गोरु भएर देखिन जाने होइन, गुरु बनेर जानुपर्छ’ उनले भने, ‘कुनैपनि क्षेत्रको गुरु बन्नुभन्दा पूर्व योग योग गुरु भनी आफूलाई जगाउनुपर्छ ।’
रेडियो नेपालकी बाल कार्यक्रम सञ्चालिका दीक्षा अवस्थीले योग ध्यान साधनामा सम्पूर्ण नेपालीहरू लाग्नुपर्ने बताइन् । उनले आफूमा योग साधनाको बानी नभएको भन्दै यो सम्मेलनमा सहभागी भएपछि अबका दिनमा योग साधना गर्न प्रेरणा दिएको बताइन् ।
(जी.एस.पी.एस.एस) नेपालका कार्यक्रम निर्देशक विश्वनाथ दाहाल, (जी.एस.पी.एस.एस)का जीवन्त शिक्षा संयोजक राजन बिडारी, वडा अध्यक्ष जयराम महत, वडा सदस्य कुमार श्रेष्ठ, एन्जल हार्ट बोर्डिङ तथा कलेजका धन बहादुर पुन लगायत अन्तर्राष्ट्रिय बाल योगी दिवसको शुभकामना दिँदै पढाइसँगै योगलाई अगाडि लैजान आग्रह गरे ।
सम्मेलनमा नेपालको पहिलो बाल योगी प्रीन्स न्यौपाने, हृदम अर्याल, बाल योगिनी कृष्टिना श्रेष्ठले योगको अनुभव सुनाए । कतारबाट तृषा श्रेष्ठले योगका विभिन्न विषयमाथि बिचार राखिन् । बाल योगी हृदम अर्याल र जेसिस इन्टरनेशनल स्कुल एण्ड कलेज सतुंगलका प्रश्ना आचार्यले अङ्ग्रेजीमा विषयवस्तु राखेका थिए ।
यसैबिच ‘म सक्षम छु । कुनै एक विषयमा डर नमानीकन निरन्तर, नेतृत्व गर्न सक्छु ।’ भन्ने सङ्कल्पसहित (जी.एस.पी.एस.एस) बोधी बाल कुञ्ज अन्तर्राष्ट्रिय फोरमको घोषणा गरिएको छ ।
बाल योगी विनय दाहालले भजन गाएका थिए भने सियोना अर्यालले बालबालिका लक्षित ध्यान गरेकी थिइन् । यही क्रममा (जी.एस.पी.एस.एस) बाल गीतको छायाङ्कन गरिएको थियो भने मायरा थापाको यौगिक जन्म दिवस मनाइएको थियो ।
सम्मेलनको विभिन्न समयमा रेडनका बाल योगीहरूले स्वस्तिक वाचन र रेहन ढकालले गायत्री मन्त्र उच्चारण गरेका थिए । सियोना अर्यालले आफैले गीत लेखेर गाएकी थिइन् । सुप्रीन्स पनेरुले कविता वाचन गरेका थिए ।
हृदमिक योग एन्जीलिना सुवेदीले गरेकी थिइन् । शिव ताण्डव स्त्रोत्रं सिर्जना दाहालले गरेकी थिइन् । यौगिक कथा पोखराबाट आरुसी सिंह कटुवालले वाचन गरेकी थिइन् । कृष्टिना घर्ती मगर र प्रीज्मा दवाडीले युगल योगा गरेका थिए ।
आर्ट डेमो समृद्धि सापकोटाले प्रस्तुत गरेकी थिइन् । समुही भट्ट र प्रीयाल थापाले नृत्य गरेकी थिइन् भने एन्जेलिना सुवेदीले एकल योग नृत्य गरेकी थिइन् ।
सम्मेलनमा प्रमाणित अन्तर्राष्ट्रिय प्रशिक्षक, प्रमाणित बाल योग प्रशिक्षक तथा सबै सहभागी बाल योगीहरूलाई सम्मान गरिएको थियो ।
सम्मेलनमा आएका सम्पूर्ण पाहुनाहरूलाई अनु घिमिरेले अमृत तथा महा–भोजन गराएकी थिइन् । उनले फलफूल तथा विभिन्न गेडागुडीका टुसा मिश्रित खाजा, मोही, मकैको च्याँख्लाको पुलाउ, उसिनेको फर्सी र आलुको अर्ग्यानिक स्वाद चखाएकी थिइन् ।
सम्मेलन विश्वको दोस्रो कान्छी बाल योगिनी कृष्टिना घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE