शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर “भीभीपी” कार्यक्रम सञ्चालन गर्दै

काठमाडौं,– नेपाल र भारतबीच लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमिको विषयमा विवाद समाधान हुन नसकिरहेका बेला भारतले सो क्षेत्रलाई समेटेर महत्वाकांक्षी आयोजना ‘भाइब्रेन्ट भिलेज प्रोग्राम’ (भीभीपी) अघि बढाएको छ ।

भारतले जम्मू र काश्मीरको विशेष अधिकार रहेको संविधानको धारा नै खारेज गरेपछि प्रकाशनमा ल्याएको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समेटेको थियो । २ नोभेम्बर २०१९ मा भारतले सार्वजनिक गरेको नक्सामा लिम्पियाधुरासहितका क्षेत्र आफ्नामा पारेको थियो ।

सो नक्सा सार्वजनिक भएपछि नेपाल सरकारले ६ नोभेम्बर २०१९ मा कूटनीतिक नोटमार्फत भारतको कदमको विरोध जनाएको थियो । तर पनि भारले त्यसको कुनै जवाफ पठाएको थिएन । त्यसपछि पनि भारतले आफ्नो क्षेत्रमा राख्दै विभिन्न परियोजनाको काम सञ्चालन गरिरहेको छ । एक वर्षअघिदेखि भारतले सो क्षेत्रमा भाइब्रेन्ट भिलेज प्रोग्राम (भीभीपी) कार्यक्रम सञ्चालन गरिरहेको पाइएको छ ।

भारतले त्यसरी कार्यक्रम सुरु गरेको क्षेत्रमा उत्तरी सिमानाका गाउँ र ब्लकहरूमा विकास गर्ने, सीमावर्ती गाउँहरूमा बसोबास गर्ने मानिसहरूको जीवनस्तरमा सुधार गर्ने उद्देश्य रहेको जनाएको छ । एक वर्षअघिदेखि सो क्षेत्रमा कार्यक्रम सञ्चालन भइरहेको पाइएको छ । भारतीय गृह मन्त्रालयले एक वर्षअघि जारी गरेको विज्ञप्तिनुसार उत्तरी सीमावर्ती क्षेत्रमा भाइब्रेन्ट भिलेज प्रोग्राम सञ्चालन भइरहेको छ ।

यसले सीमावर्ती क्षेत्रका मानिसलाई आफ्नो जन्मस्थानमा बस्न प्रोत्साहित गर्न र यी गाउँबाट विस्थापित भएकाहरूलाई पुनर्स्थापना गर्न एवं सीमा सुरक्षामा सुधार ल्याउनका लागि भीभीपी कार्यक्रम सञ्चालनमा ल्याइएको जनाएको छ । कार्यक्रमले देशको उत्तरी भूमि सिमानामा रहेका चार राज्य र एक केन्द्र शासित प्रदेशका १९ जिल्ला र ४६ सीमाखण्डका २ हजार ९ सय ६७ गाउँमा आवश्यक पूर्वाधारको विकास र जीविकोपार्जनका अवसरहरू सिर्जना गर्न कोष उपलब्ध गराउनेछ । जसअन्तर्गत अरुणाचल प्रदेश, सिक्किम, उत्तराखण्ड, हिमाचल प्रदेश, र लद्दाखको केन्द्र शासित प्रदेश रहेका छन् ।

कार्यक्रमले पर्यटन र सांस्कृतिक सम्पदाको प्रवर्धन, सीप विकास र उद्यमशीलता, कृषि–बागवानी, औषधीय वनस्पति–जडिबुटीको खेतीलगायत सहकारी संस्थाहरूको विकासमार्फत जीविकोपार्जनका कामहरू केन्द्रित रहने जनाएको छ । भीभीपी कार्यक्रमलाई तीन चरणमा सम्पन्न गर्ने योजनाअनुसार केन्द्रबाटै बजेट छुट्ट्याइएको छ । आर्थिक वर्ष सन् २०२२–०२३ देखि आज २०२५–०२६ सम्म लागू गरिएको केन्द्रीय प्रायोजित योजना हो । भारतीय गृह मन्त्रालयका अनुसार यी सीमावर्ती गाउँहरूमा ४ हजार सेवा वितरण सचेतना शिविरसहित ६ हजार कार्यक्रम आयोजना गरिएको छ । भारत सरकारले यी क्षेत्रमा रोजगारी सिर्जना गर्न ६ सयभन्दा बढी परियोजना स्वीकृत गरेको छ । ४ वर्षको अवधिमा भीभीपीमा ४८ अर्ब भारतीय रुपैयाँ खर्च गर्ने योजना बनाइएको छ ।

प्राथमिकताका आधारमा पहिलो चरणमा ६ सय ५२ गाउँ परेका छन् । यीमध्ये ४ सय ४५ वटा गाउँ अरुणाचल प्रदेश, ७५ वटा गाउँ हिमाचल प्रदेश, ५१ वटा गाउँ उत्तराखण्डका, ४६ वटा गाउँ सिक्किम र ३५ वटा गाउँ लद्दाखका छन् । त्यस्तै, भारतले २४ अर्ब २० करोडको बजेटमा १ सय ३६ सीमावर्ती गाउँलाई मौसमी सडकले जोड्ने र २०२४ डिसेम्बरसम्म सबै गाउँमा नेटवर्क सेवा पु¥याउने लक्ष्य लिएको छ ।

दुर्गम क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न पूर्वाधार र क्षमता अभिवृद्धि गरी पर्यटन प्रवर्धनमा पनि कार्यक्रम केन्द्रित गरेको छ । भारतीय सरकारले भाइबे्रन्ट गाउँ कार्यक्रमअन्तर्गत सीमावर्ती गाउँहरूले सामना गर्ने समस्यालाई अझ राम्रोसँग बुझ्न र सम्बोधन गर्नसक्ने अपेक्षा लिएको छ ।

नेपाल–भारतबीच सीमा विवाद भएको र नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो क्षेत्रमा रहेको भनिरहेका बेला भारतले द्रुत गतिमा तीनवटा गाउँमा आफ्नो परियोजना सञ्चालन गरिरहेको छ । नेपालले आफ्नो प्रशासनिक तथा राजनीतिक नक्सामा तीनवटा क्षेत्र समेटे पनि भारतले सो क्षेत्रमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै लगिरहेको छ । तर, नेपालले भने सो क्षेत्रमा जनगणनासमेत गर्न नसकेको अवस्था छ ।

भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लाका ७२ स्थानमा सीमा विवाद छ । त्यसमध्ये सबैभन्दा धेरै पेचिलो बनेको सीमा विवाद सुस्ता र कालापानी क्षेत्रको हो । दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा नेपालले कूटनीतिक पहल गरे पनि त्यसको सुनुवाइ हुन सकेन बरु सो क्षेत्रलाई भारतले थप मजबुत बनाउँदै लगिरहेको पाइएको छ । त्यस क्षेत्रमा भारतीय सुरक्षा फौज तैनाथ गरिएको झन्डै सात दशक हुन लाग्यो ।

लिम्पियाधुराबाट बग्ने कालीनदी नै नेपाल–भारतको सिमाना हो । सो सीमा इस्ट इन्डिया कम्पनी सरकार र नेपालबीच सन् १८१६ मा भएको सुगौली सन्धिले नै निर्धारण गरेको अन्तरदेशीय सीमा हो । भारतले धेरै वर रहेको लिपुलेकबाट आएको खोलालाई कालीनदी दाबी गरेर सो क्षेत्र आफ्नामा पार्दै आइरहेको छ ।

त्यसकारण त्यहाँको गुञ्जी, कालापानी, कुटी, नाभीलगायत ३ सय ९५ वर्गकिलोमिटर क्षेत्रमा अहिले पनि भारतको निगरानीमा छ । सो भूमिलाई आफ्नो भनी भारतले दाबी मात्रै गरेको छैन, विभिन्न परियोजना सञ्चालनसमेत गरिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x