मङ्लबार, भदौ ३०, २०८३
Tuesday, September 15, 2026

कांग्रेस विवाद झन् बढ्दै : समायोजन प्रस्ताव देउवा समूहद्वारा अस्वीकार

१४औँ महाधिवेशनपछिको केन्द्रीय कार्यसमिति सदस्यलाई १५औँ महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने कांग्रेस संस्थापन पक्षको निर्णय राजनीतिक सौदाबाजी भन्दै इतर समूहले यसलाई अस्वीकार गरेको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवानिवासमा सोमबार बसेको १४औँ महाधिवेशन पक्षधर नेताहरूको बैठकले विशेष महाधिवेशन पक्षधरले पदलाई सौदाबाजीको विषय बनाएकोले सहमति हुन नसकेको निष्कर्ष निकालेको हो । मंसिरको महाधिवेशनमा केन्द्रित हुने यो समूहको निर्णय छ ।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व पार्टी विभाजन संस्थागत गर्न उद्यत भएकोसमेत आरोप लगाएको छ । अदालतमा विचाराधीन प्रक्रिया पर्खिनुपर्ने वा राजनीतिक सहमतिका लागि अधिवेशन प्रक्रिया स्थगित गरेर समाधान खोज्नुपर्ने विकल्प हुँदाहुँदै विशेष महाधिवेशन पक्षधरले दुवै विकल्प अस्वीकार गरेको देउवा पक्षको जिकिर छ ।

नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने उनले बताए । ‘निश्चित सर्तहरू स्वीकार गरे मात्र पद व्यवस्थापन गरिने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँटलाई समाधानको आधार बनाइने दृष्टिकोणले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउँछ । नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन,’ बैठकपछि १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले पत्रकार सम्मेलनमा भने ।

कोइरालाले अदालतमा विचाराधीन मुद्दा पनि नपर्खने र महाधिवेशन कार्यतालिका पनि स्थगित गरेर वार्ता र संवादमा नआउने संस्थापन पक्षको कदम उचित मान्न नसकिने बताए । ‘पार्टीको आधिकारिकतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवादमार्फत सहमतिमा पुग्ने वा सम्मानित सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रूपमा अगाडि बढनु कुनै पनि हालतमा उचित मान्न सकिन्न,’ कोइरालाले भने, ‘कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशन पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्यत भएको देखिन्छ ।’

पार्टीको भविष्य केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नु आजको आवश्यकता रहेको कोइरालाको भनाइ छ । उनले नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास, जनविश्वास र राजनीतिक विरासत बोकेको कांग्रेस असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको पनि बताए । ‘पार्टीभित्र देखिएको वर्तमान विवाद कुनै व्यक्ति, समूह वा पदको विषय मात्र होइन, यो नेपाली कांग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न हो,’ उनले भने ।

उनले सहमति, सहकार्य र एकताको आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरे पनि सफल हुन नसकेको दाबी गरे । ‘पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै हामीले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेका थियौँ,’ उनले भने, ‘पार्टीलाई विभाजनको दिशातर्फ धकेल्ने कुनै पनि कदमबाट बच्न, संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न बारम्बार आग्रह गरियो । तर, दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन ।’

उनले सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रम र गैरजिम्मेवार राजनीतिक प्रचारबाट प्रभावित नहुन पनि अपिल गरेका छन् । ‘असोज ३ गतेबाट विधि–प्रक्रिया मिची सुरु गर्ने भनिएको तथाकथित अधिवेशन र महाधिवेशनमा भाग नलिन आग्रह गर्दछौँ,’ उनले भने । १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका साथीरूमा हार्दिक अनुरोध गर्दछौँ,’ कोइरालाले अपिल गरेका छन् ।

कांग्रेसको शक्ति यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित रहेको उनले बताए । विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर मात्र पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाको केन्द्रका रूपमा स्थापित गर्न सक्ने दाबी कोइरालाको छ ।

कोइरालाले एकताबद्ध भएर जान चाहेको भन्दै विशेष महाधिवेशन पक्षधरसँग वार्ता गरेर मूल बाटोमा स्वागत गर्न चाहेको बताए । ‘हामी एकताबद्ध भएर जान चाहन्छौँ । वार्ताबाहेक हाम्रो कुनै समाधान छैन । उहाँहरूसँग वार्ता गरेर मूल बाटोमा स्वागत गर्न चाहन्छौँ,’ कोइरालाले भने ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षधर संस्थापनतिर जान लागेको विषयमा पत्रकारले सोधेको प्रश्नमा कोइरालाले भने, ‘हामी एकताबद्ध भएर जान चाहन्छौँ । कुनै समूह चोइटिन्छ भने हामी के गर्न सक्छौँ ? वार्ताबाहेक हाम्रो कुनै समाधान छैन ।’ उनले संस्थापन पक्षले दाबी गरेजस्तो आफूहरूको माग सम्बोधन नभएको बताए ।

निवर्तमान प्रवक्ता प्रकाशशरण महतले आधिकारिकता आफूहरूले पाउने दाबी गर्दै छुट्टै पार्टी बनाउन नलागेको दाबी गरे । ‘हामी अर्को पार्टी बनाउँदै छैनौँ । नेपाली कांग्रेसकै १५औँ महाधिवेशन गर्दै छौँ । पद होइन, विचारलाई महत्व दिने स्वाभिमानी कांग्रेसका साथीहरू यो महाधिवेशनमा सहभागी हुनुहुन्छ भन्ने विश्वास छ,’ महतले भने । उनले विशेष महाधिवेशन पक्षधरले आफूहरूको अपमान गरेको पनि बताए । ‘हामी केन्द्रीय सदस्य भयौँ भनेर पार्टीमा लागेका होइनौँ । कांग्रेसको मूल्य, मान्यता र संस्कार छ । १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई अहिले आएर अधिवेशनमा सहभागी भए मात्रै केन्द्रीय सदस्य बन्न सक्नुहुन्छ भन्नु घाउमा नुन छर्किएजस्तो हो,’ महतले भने ।

कांग्रेस प्रवक्ता देवराज चालिसे केन्द्रीय कार्यसम्पादन समिति बैठकले माग पूरा गरेकाले अब नयाँ सर्त नराखी महाधिवेशन प्रक्रियामा सहभागी हुनुपर्ने बताउँछन् । ‘हामी लचिलो भएर उहाँहरूले उठाएका माग पूरा गरेका छौँ । अब नयाँ सर्त राख्ने होइन, विनासर्त महाधिवेशनमा सहभागी हुनुपर्छ,’ उनले भने । एकता पक्षधर नेताहरू छलफलमै रहेको पूर्वसहमहामन्त्री डिना उपाध्यायले बताइन् । ‘हामी बृहत् एकता होस् भन्ने चाहन्छौँ । दुवै पक्षसँग छलफलमै छौँ,’ उनले भनिन् ‘सर्त आएकाले केही साथीले स्पष्टता खोज्नुभएको छ । यसमा थप छलफल गर्दै छौँ ।’

दुवै पक्षको महाधिवेशन रोक्न माग गरिएको रिट दरपीठ
कांग्रेसको दुवै पक्ष (गगन थापा र शेरबहादुर देउवा)ले घोषणा गरेको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । कांग्रेसको क्रियाशील सदस्य दाबी गर्दै अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ता गर्न खोजेका थिए । तर, अदालतले उनको रिट दरपीठ गरिदिएको छ । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले सोसम्बन्धी एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता नभएको जानकारी दिए । कांग्रेस संस्थापनले १६–१९ असोजमा र देउवा पक्षले २१–२३ मंसिरमा १५औँ महाधिवेशनको मिति घोषणा गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x