आइतवार, भदौ २८, २०८३
Sunday, September 13, 2026

राप्रपाकाे आगामी महाधिवेशन कुनै कारण वा बहानामा नरोकिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीको आगामी महाधिवेशन कुनै कारण वा बहानामा नरोकिने स्पष्ट पारेका छन् ।

मंसिर २६, २७ र २८ गते हुने महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्दै त्यसलाई पार्टी पुनर्निर्माणको अवसरका रूपमा उपयोग गर्नुपर्ने उनले बताए ।

आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै लिङ्देनले पार्टीभित्र देखिएका कमजोरी सच्याएर नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताए । विगतका गल्ती र कमी–कमजोरीलाई निरन्तरता दिने प्रयास भइरहेको भन्दै उनले त्यसको अन्त्य गर्नुपर्ने बताए ।

‘आउँदै गरेको मंसिर २६, २७ र २८ गतेको महाधिवेशन कुनै कारण वा बहानामा रोकिनेवाला छैन । यसलाई भव्यतापूर्वक सम्पन्न गर्दै पार्टी निर्माणको महत्वपूर्ण अवसरका रूपमा उपयोग गरौँ’, उनले भने ।

लिङ्देनले नेकपा एमालेको नाम नै लिएर राजनीतिक दलहरू अझै नसुध्रिएको आरोप लगाए । उनले सांसद खरिद–बिक्रीको अभ्यास दोहोरिएको भन्दै वागमती प्रदेश सरकार निर्माणका क्रममा एमालेले राप्रपाका सांसद किनेको आरोप लगाए ।

ठूलो राजनीतिक परिवर्तन र विद्रोहपछि पनि यस्ता राजनीतिक विकृति दोहोरिनु दुर्भाग्यपूर्ण भएको उनले बताए ।

वागमती प्रदेशमा पछिल्लो समय देखिएको राजनीतिक घटनाक्रमको प्रसंग उल्लेख गर्दै उनले अरूलाई मात्रै दोष दिनुभन्दा आफ्नै पार्टीको कमजोरी पनि हेर्नुपर्ने बताए ।

‘अहिले अरूलाई मात्र गाली गरेर वा दोष दिएर हुँदैन । एमालेजस्तो पार्टीले विगतका विकृति सच्याउन नसकेको र फेरि सांसद खरिद–बिक्रीको अभ्यास दोहोर्‍याएको देखिन्छ । तर आफ्नै थैलो राम्रोसँग बाँध्न नसकेर अरूलाई मात्र दोष दिनु पनि उचित हुँदैन । आफ्नै मान्छे बिक्री हुन तयार भएपछि हामीले पनि आत्मसमीक्षा गर्नुपर्छ’, उनले भने ।

लिङदेनले पार्टीको टिकट र मनोनयनबाट निर्वाचित सांसदले व्यक्तिगत रूपमा नभई पार्टीको प्रतिनिधिका रूपमा काम गर्नुपर्ने बताए ।

पार्टीको नामबाट चुनाव जितेर निर्वाचित भएका सांसदले पार्टीको निर्णयविपरीत आफूखुसी अर्को दलसँग मिल्ने वा जाने काम कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ छ ।

‘कुनै पनि सांसद व्यक्तिगत हुँदैन, ऊ पार्टीको प्रतिनिधि हो । पार्टीको टिकट र मनोनयनबाट उम्मेदवार बनेर पार्टीकै नाममा चुनाव जितेपछि आफूखुसी निर्णय गर्दै पार्टीविपरीत अन्य दलसँग जाने कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन’, उनले भने ।

यस्ता राजनीतिक विकृति अन्त्य गर्न सम्पूर्ण कार्यकर्ता पंक्ति एकताबद्ध भएर पार्टीलाई साथ दिनुपर्ने उनले बताए । पार्टीभित्र सांसदको व्यक्तिगत स्वार्थ र दल परिवर्तनको प्रवृत्ति कायम रहेसम्म बलियो पार्टी निर्माण गर्न नसकिने तथा जनताको विश्वास पनि जित्न नसकिने उनको भनाइ छ ।

विगतमा भएका गल्ती, कमी–कमजोरी र विकृतिलाई पछिल्लो समय पनि निरन्तरता दिने प्रयास भइरहेको भन्दै लिङ्देनले त्यसको ‘समूल अन्त्य’ आवश्यक रहेको बताए ।

‘विगतका गल्ती र कमजोरीलाई दोहोर्‍याउने प्रवृत्तिको अब अन्त्य हुनुपर्छ । त्यसको समूल अन्त्यका लागि सम्पूर्ण कार्यकर्ता पंक्ति एकताबद्ध भएर अघि बढ्न म आग्रह गर्दछु’, उनले भने ।

लिङदेनले पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x