अमेरिकाद्वारा ओमानको खाडीमा आक्रमण
ओमानको खाडीमा अमेरिकी नाकाबन्दी तोड्दै इरानतर्फ अघि बढ्न खोजेको एक मालवाहक जहाजलाई अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गरी निष्क्रिय बनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पानामाको झण्डा अङ्कित ‘एम/भिले नोभा’ नामको सो जहाजलाई रोक्न अमेरिकी नौसेनाको उदग्रबिमान(हेलिकोप्टर)ले दुईवटा ‘हेलफायर’ क्षेप्यास्त्र प्रहार गरेको हो।
अमेरिकी सेनाले बारम्बार चेतावनी दिँदा पनि जहाजका चालक दलका सदस्यहरूले त्यसलाई बेवास्ता गरेपछि उदग्रबिमानबाट जहाजको मुख्य यन्त्र कक्ष (इन्जिन रुम)लाई लक्षित गरी क्षेप्यास्त्र हानिएको सेन्ट्रल कमाण्डले जनाएको छ। क्षेप्यास्त्र प्रहारपछि सो जहाज अगाडि बढ्न नसकी बीचमै रोकिएको छ।
गत जुलाई महिनादेखि अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा पुनः नाकाबन्दी सुरु गरेयता यसरी आक्रमण गरी निष्क्रिय पारिएको यो तेस्रो जहाज हो। यस अवधिमा दुईवटा अन्य जहाजलाई अमेरिकी नियन्त्रणमा लिइएको छ भने ५५ वटा जहाजलाई अन्यत्रै मोडिएको छ।
यसैबीच, इरानले पनि अमेरिकी कदमको कडा प्रतिवाद गरेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव तथा मेजर जनरल (उपरथी )मोहसेन रेजाईले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै जबसम्म अमेरिकाले आफ्ना सम्पूर्ण सर्तहरू पूरा गर्दैन, तबसम्म रणनीतिक रूपमा महत्त्वपूर्ण ‘हर्मुज जलडमरूमध्य’ बन्द नै रहने चेतावनी दिएका छन्।
इरानले अमेरिकाले नाकाबन्दी र युद्ध रोक्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्तिहरू फुकुवा गर्नुपर्ने र गाजा तथा लेबनानसहित सम्पूर्ण क्षेत्रमा जारी युद्ध अन्त्य गर्नुपर्ने सर्तहरू अघि सारेको छ। यी सर्तहरू पुरा नभएसम्म हर्मुज जलडमरूमध्य नखोलिने इरानको भनाइ छ।


WRITE COMMENTS FOR THIS ARTICLE