हिरा रणपालको नयाँ गीत ‘सम्झेर रुँदैछु’ सार्वजनिक

काठमाडौं – पछिल्लो समय स्वर, संगीत एवं अभिनयमा समेत सक्रिय रहेका चर्चित सर्जक एवं लोक गायक हिरा रणपालको नयाँ गीत तयार भएको छ । उनले ‘सम्झेर रुँदैछु’ बोलको लोक गीत आफ्नै अफिसियल युट्युबच्यानल मार्फत शनिबार सार्वजनिक गरेका हुन् ।
पछिल्लो समय पाश्चात्य एवं आधुनिक गीत सङ्गीतकोे प्रभावसँगै नेपाली मौलिकता झल्काउने परम्परागत लोकभाका ओझेल पर्ने अवस्था आएपछि चिन्ता बढ्न थालेको छ । यसको संरक्षर गर्नु सबै सरोकारवालाहरुको कर्तव्य हो । ‘सम्झेर रुँदैछु’ गीतमा देवी घर्तीले स्वरमा साथ दिएकी छन् । शब्द विष्णु भण्डारीको हो भने निर्देशन धनबहादुर तामाङ(सागर)को रहेको छ । यस्तै गीतलाई सुमधुर संगीत स्वयंम रणपालले भरेका हुन् ।
बालापन, गाउँघर, मेलापात, गोठाला, वनपाखा, खेतीपाती, विहे, हाटबजार, जात्रामा गाइने लोकभाकालाई टपक्कै टिपेर गीत बनाउन सिपालु रणपाल अनावश्यक चर्चा मन नपराउने, सस्तो चर्चाबाट टाढा रहेको सुनाउँछन् । अझैपनि आफू सडकमै रहेको हिरा बताउँछन्।
गीतको मूल मर्मलाई मनन् गर्दै लोकभाकाको गीत संगीत निर्माण गर्ने रुचि भएका उनी भन्छन्,‘ सिर्जना मौलिक र सम्प्रेषणीय हुनुपर्छ । नेपालभित्रका विविध भाषामा सिर्जना भएका गीतहरु चाहिँ खासमा नेपाली गीत संगीत हुन्, ती लोक गीत हुन् । किनकि शब्द, लय, बाजागाजा र गायकी नै मौलिक हुन्छ ।’
नेपाली लोकजीवनका विभिन्न अवसरमा त्यस्तै घाँस दाउरा मेला पात र उकालीओरालीमा यस्ता लोकलयहरु गाउने प्रचलन छ । यी यस्ता लोकलयमा वीरह र बिलौना मात्रै पोखिँदैनन्, सामाजिक रुपान्तरणका सन्देश, संस्कृति र सभ्यताका गाथाहरु पनि लुकेको हुने गरेको बिषय बस्तुलाई समेट्दै “सम्झेर रुँदैछु” को निर्माण भएको छ ।
बाल्यकाल वा स्कुल लेभलमा धेरै साथीभाई हुन्छन् । जिम्मेवारीमा बाँधिएसंगै कोही देशविदेश, जागिर, व्यवसाय लगायत विभाजित छौं । ती गाउँघरका खेतबारी चौतारी सबै छन् तर साथीभाई छैनन् । माया प्रेम पनि छन् तर गरिबी र सामाजिक विभेदले गर्दा प्रेम सफल भएन, हुंदैन । केटा दलित अथवा परियार थरको हुन्छ भने केटी बाहुनको छोरी हुन्छिन् । केटा केटीको घरमा बालीघरे अथवा सिलाईको लागि गएको हुन्छ ।
खाना–नास्ताको जिम्मा केटीको जिम्मामा छोडेर बाबु आमा बाहिरी काममा हुन्छन् । नास्ता खानेक्रममा केटाकेटीसंगै खाएको केटीको बाबुले देख्छन् । त्यसपछि केटाकेटी नै डराउँछन् । केटी परिवारको आग्रह बेगर अघि बढ्न सक्दिनन् । त्यो माया प्रेम त्यही सकिन्छ र केटाको अर्कै केटीसंग बिहे हुन्छ । सत्य घटनामा आधारित यस एल्बमको मूल मर्म वा सन्देश यही नै हो ।
गीतको यही भावलाई निकै मार्मिक अवस्थालाई निर्देशक धनबहादुर लामा ‘सागर’ले भिडियोमा उतारेका छन् ।
मालश्री स्टुडियोमा रेकर्ड भएको उक्त गीतको मिक्सिङ खड्क बाजुराली, श्रृंगार जीवन पासा, छायांकन अमित बिक र सम्पादन राजेशकुमारको रहेको छ । हिरा रनपाल, सितल केसी, यसु भट्टराई, यामबहादुर जिसीको अभिनय रहेको उक्त गीत भिडियो बैंकले निर्माण गरेको हो ।
WRITE COMMENTS FOR THIS ARTICLE