मङ्लबार, साउन १९, २०८३
Tuesday, August 4, 2026

काँग्रेसमा पार्टी एकीकरणका लागि दबाब दिन तेश्रो धारको उदय

काठमाण्डाैं– नेपाली काँग्रेसका युवा नेताहरुको समूहले पार्टी एकीकरणका लागि दबाब दिन छुट्टै समूह खडा गरेका छन् ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षद्वय नैनसिंह महर र रञ्जित कर्णको नेतृत्वमा अभियान सुरु गरिएको हो । अभियानको नाम ‘देश र कांग्रेस जोड्ने’ राखिएको छ ।

नेता महरले उक्त अभियानमा देशभरका युवा काँग्रेसको साथ र समर्थन रहेको बताए । उनका अनुसार अभियानमा संस्थापन र संस्थापन इतर पूर्वसभापति शेरबहादुर देउवा खेमामा सहभागी नभएकाहरु छन् ।

महरले आफूहरुले आगामी २० साउनमा काठमाण्डाैंको सुकेधारास्थित ‘मिराकल पार्टी प्यालेस’ मा भेला आयोजना गरिएको बताए ।

‘हामीले २० गते देशभरबाट पार्टी एकताको पक्षमा रहेका साथीहरुलाई बोलाएका छौं’, महरले काठमाण्डु पाटीसँग भने, ‘कुनै समूह र उपसमूहमा लागेर पार्टी एकता कमजोर बनाउने होइन, पार्टीलाई एकताबद्ध गरेर जानुपर्ने बेला छ ।’

अभियानले आइतबार पत्रकार सम्मेलन गरी भेलाको आवश्यकता र औचित्यताबारे जानकारी गराएको छ ।

कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने तथा प्रतिगामी तत्वले टाउको उठाउने सम्भावना रहेकाले आफूहरुले सकारात्मक खबरदारी गर्न लागेको महरले उल्लेख गरे ।

देउवा समूहले आगामी २९ साउनमा राष्ट्रिय भेला आयोजना गरेसँगै काँग्रेस विभाजनको संघारमा पुगेको अड्कलबाजी भएका छन् । पार्टी फुटको दिशामा अघि बढेकामा काँग्रेसभित्र चिन्ता व्यक्त गर्न थालिएको छ ।

६ साउनमा बीपी कोइरालाको ४४ औं स्मृति दिवसका दिन कांग्रेसका दुवै समूहले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरे ।

केही दिनअघि वरिष्ठ नेता एवं पूर्वसभापति गोपालमान श्रेष्ठको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन देउवा समूहका नेता पार्टी केन्द्रीय कार्यालय सानेपा गएनन् ।

सभापति थापाले श्रेष्ठलाई गत महिना मात्र वरिष्ठ नेतामा मनोनित गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x