सोमवार, पुस ७, २०८२
Monday, December 22, 2025

कर्मयोगको औचित्य र आधुनिक नेपालमा यसको प्रयोग

(१) शव्द परिचयः

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भावामि युगे युगे ।। (४)७।८)

जवजव धर्मको हानि भएर अधर्मको वृद्धि हुन्छ तवतव साधु जनहरुको उद्धार र पाप कर्म वालाहरुको विनाश गर्न र धर्म स्थापनाका लागि प्रत्येक युगमा म प्रकट हुन्छु भन्ने श्रीकृष्णको भनाई हो तर उनको मृत्यु पछि कैयौं पापीहरुले शासनगरी सके श्रीकृष्ण प्रकट भएको देखिंदैन । धर्मात्मीभन्दा पापीहरुको पृथ्वीमा रजगज नै भइरहेको छ । त्यसैले यसलाई कहानीहरुको मिथक भन्न सकिएला, साहित्यानुरागीहरुका लागि मीठो लागे पनि सत्य हो हो होइन विवादित नै छ भन्न सकिएला । तर उनले कर्मयोग बारे गरेको व्याख्या अहिले पनि उत्तिकै कामयावी छ ।

प्रज्ञा नेपाली शव्द कोशले कर्म भनेको भाग्य, तकदिर, प्रारव्ध वा संस्कार भनेर अर्थ लगाएको पाइन्छ भने कर्मयोग भन्नाले कुल, परम्परा वा विधि अनुसार कर्तव्य सम्झी गरिरहने, निष्काम भएर सत्कर्म गरिरहने, वा सफलता वा विफलताको वास्ता नगरी गरिने शुभ कर्म भनेर व्याख्या गरेको पाइन्छ । यसको मतलव असल काम गर्नुलाई कर्मयोग भनेको हो भन्ने बुझिन्छ ।

(२) कर्मयोग शव्दको मौलिकताः

कर्मयोग श्रीमद्भगवद्गीताको मौलिक र स्वतन्त्र शव्द हो । महाभारतकालीन ग्रन्थमा उल्लेख भएका योगहरुले अहिले पनि विश्वमा एउटा तरंग सिर्जना गरिदिएको छ । अहिले पनि यसले विश्वलाई महाभारत कालमा झैं नै अद्वितीय सन्देश प्रवाह गरिरहेको चिरप्रतीक्षितै छ । यो विश्वव्यापी हुने क्रममा कुनै कञ्जुस्याइँ देखिंदैन । यसलाई आधुनिकतामा ढाल्ने प्रयाशमा यसको मौलिकता फेरि पथभ्रष्ट हुँदैछ । योग विस्तारै शारीरिक शिक्षा जस्तो मात्र बन्न थाल्यो कि जस्तो प्रतीत हुन्छ ।

(३ ) अन्योलमा हामी:

हामीले गीता जस्तो अद्वितीय ग्रन्थलाई आध्यात्मिक र धार्मिक ग्रन्थका रुपमा मात्र हेर्यौं । यसलाई भौतिक र जीवन पद्धतिका रुपमा हेरेनौं । कुरुक्षेत्रमा आफ्नो जीवनबाटै वाक्क, निराश, दिग्दार भएर हतियार समेत फ्याँकेर किं कर्तव्यविमूढ भएर लम्पसार परेका अर्जुनलाई श्रीकृष्णको कर्मयोगको व्याख्याले उर्जा प्रदान गर्याे र युद्धमा होमिन उत्साहित गर्यो । अर्जुनलाई कर्मयोगको व्याख्याले जीवन दियो, वल दियो, उत्साह र प्राण दियो । के त्यस्तो शक्ति कर्मयोगको व्याख्यामा नै थियो र अर्जुनलाई त्यो तागत आयो ?

(४) कुरुक्षेत्र मानवजीवन क्षेत्रः

गीतामा उल्लेख गरिएको कुरुक्षेत्र वास्तवमा महाभारतको कुरुक्षेत्र थिएन यो त प्रत्येक मानिसले जीवन कसरी बाँच्ने भन्ने कुरुक्षेत्र थियो । मानिसको वर्तमान जीवन नै रणक्षेत्र हो । कुरुक्षेत्र हो । यो जीवनको रणक्षेत्रमा उभिने प्रत्येक व्यक्ति अर्जुन हो । प्रत्येक मानिसका जीवनका प्रत्येक मोडहरुमा अर्जुनलाई झैं विषम परिस्थितिहरु आइलाग्छन् ।
प्रत्येकको जीवनका विषम परिस्थितिमा हामी प्रत्येकले हतियार फ्यालेर निराशाहरुका करुण क्रन्दन तथा चिच्च्याहट गर्नु पर्ने परिस्थिति आइपर्दछन् । जसरी अर्जुन आफ्नो गाण्डीव धनुष फयालेर जीवनका मोडबाट पलायन हुन खोजिरहेका थिए । श्रीकृष्णले कर्मयोगको तागत भरिदिएर रणभूमिमा होमिन तयार पारे । यसरी कर्मयोगबाट निराशामा गुज्रिरहेका मानिसहरुलाई आशा जगतमा फर्काउन सकिन्छ ।

(५) कर्मयोग महौषधीः

यो निराश मानिसलाई आशावादी बनाइ दिने महौषधी हो, उर्जा हो । यसैले गीताको कर्मयोगलाई हामीले पूजा गर्दा भगवान्ले आशिर्वाद दिन्छन् । धन दौलत दिन्छन् । मानसम्मान दिन्छन् । दान गर्दा धर्म हुन्छ भन्ने अर्थ लगाएर गीतालाई दुरुपयोग गरिरहेको पाइन्छ । कर्मयोगले मानिसको निराश हृदयमा आशाको संचार गरिदिन्छ । निर्वल हृदयलाई सबल बनाइदिन्छ । भयग्रस्त मानिसलाई उर्जावान्, निर्भयी, साहसी बनाइदिन्छ ।

(६) हारेका मान्छेलाई जिताउने अस्त्रः

यहाँ कर्मयोगले जीवनबाट हारेका मानिसहरुलाई कर्ममा फर्काइ दिन्छ । तर हामीले कर्मयोगी भनेको मूर्ति पूजा गर्ने,पाठ गर्ने र अल्छी भएर उँघेर जीवन विताउने भन्ने अर्थ लगायौं । वास्तवमा कर्मयोगी भनेको काम गर्ने मानिसलाई भनेको हो तर हामीले काम गर्नेलाई धृणा पो गर्न थाल्यौं । कामलाई सम्मान गर्ने परम्पराको विनाश गर्यांै । गीताले काम गर्ने मानिसलाई सम्मान गर भनेको हो । प्रत्येक जीव आफ्नो जीवन निर्वाहका लागि काम गर्छ । मौरी रस संकलन गर्छ । कमिलाले भित्रबाट माटो ओसारेर पहाड बनाइरहेको हुन्छ । चराचुरुङ्रीहरु विहानदेखि साँझसम्म आहारा खोजिरहेका हुन्छन् । संसारका प्रत्येक जीवहरु आआफ्नो काम गरिरहेका हुन्छन् ।

(७) ब्रह्माण्ड नै कर्मयोगको जगः

संसारका हरेक जीव तथा कणहरु काम गरिरहन्छन् । काम गर्नेहरु जीवित रहन्छन् नगर्नेहरु मर्छन् । यो सृष्टिको नियम नै हो । पृथ्वी घुमिरहन्छ । ग्रह, ताराहरु पनि आआफ्नो गतिमा दौडिरहेका हुन्छन् । कोही पनि काम नगरिबसेका छैनन् । यो जीवजगत नै कामका लागि हो । पृथ्वीले के पाउने हो र घुम्छ ? चन्द्रमाले के खान पाउने हो र घुमिरहेको होला ? यो उनीहरुको नित्य कर्म हो । कर्म छोड्नु हुँदैन । गीताले सन्यासीहरुलाई पनि कर्मयोगी बन्न निर्देश गरिरहेको छ । अल्छीहरु, काम चोरहरु दुःखी छन्,कामकरीहरु सधैं सुखी हुन्छन् ।

तमोगुणीहरु फल प्राप्त गर्ने भए न काम गर्ने ? नत्र त किन काम गर्ने ? भन्ने गर्दछन् र काम छोडिदिन्छन् । रजोगुणीहरु काम त गरुँला तर फल प्राप्त हुन्छ कि हुँदैन भनेर प्रश्न गर्ने गर्दछन् । उनीहरु पहिले नै फलमा आफ्नो अधिकार हुन्छ भने मात्र काम गर्छु भन्ने गर्दछन् । सत्वोगुणी व्यक्तिको दृष्टिकोण नै कर्मयोगीको दृष्टिकोण हो । कर्मयोगले पहिलो र दोस्रो दुइटै श्रेणीका व्यक्तिका भावहरुको प्रतिनिधित्व गरिरहेको हुन्छ । यहाँ तमोगुणीको जस्तो कर्म छोडी हालिंदैन र रजोगुणीको झैं फलमा अधिकार गर्ने आशा पनि गरिंदैन । कर्मयोगीहरु यसैलाई निष्काम कर्म भन्ने गर्दछन् । गीताको भनाइ यो रहेको छ कि बुद्धिमान् व्यक्ति फलको आसक्ति लिएर कुनै काम गर्दैनन् । उनीहरुले आफ्नो कामको फल प्राप्तिको आशा गरेको हुँदैनन् । फलप्रतिको आसक्ति बुद्धिमान् व्यक्तिमा रहँदैन ।

(८) कर्मयोगका प्रतिपादित सिद्धान्तहरुः

गीतामा उल्लेख भएको कर्मयोगले निश्चित सिद्धान्तहरु प्रतिपादन गरेको पाइन्छ ।
ती निम्नलिखित हुन् । त्यसकालागि कर्म योग के हो ? भन्ने पहिले बुझ्न जरुरी छ । कर्मयोग बुझनलाई निम्न सिद्धान्तहरु बुभ्mनु पर्दछ ।

(क) कामको परिणामबाट अलग बसः

कर्मयोगीहरु कामको शुद्धतामा विश्वास गर्छन् किनकि यसबाट कुनैपनि प्रकारको संकट उत्पन्न हुनु हुँदैन । आशा गर्याे भने डर, त्राश र घमण्ड उत्पन्न हुन्छ जसबाट संकट उत्पन्न हुन्छ । निष्काम कर्मले भावनात्मक संवेग, आशा, डर उत्पन्न नहुने हुँनाले यी सबै त्यागियो भने शान्ति प्राप्ति हुन्छ । त्यसैले कर्मयोग शान्ति प्राप्तिको माध्यम हो । जीवनको उद्देश्य पनि शान्ति प्राप्ति नै हो ।

(ख) कामको समर्पण ईश्वरमाः

जुन काम गरिन्छ त्यो ईश्वरमा अर्पित गर्नु नै कर्मयोगी हुनु हो । काम नै धर्म हो । सबै कामहरुको सफलता र विफलता दुबैले ईश्वरमा समर्पण खोज्दछ वा कर्मको फल व्रह्ममा समर्पण गर्नु नै कर्मयोग हो । यसले कर्मलाई धर्म भावमा रुपान्तरण गर्दछ । काम गर्नु नै भगवान्प्रति भक्ति हो । यदि तपार्इंलाई ईश्वर छ भन्ने विश्वास छैन भने तपाईको कामको फल ब्रह्ममा समर्पण गर्नु होस् । जुन काम गरिन्छ त्यो नै कर्तव्य हो । कर्तव्य नै धर्म हा,े भक्ति हो । इमान्दारितापूर्वक काम गर्नु नै धर्म हो । गीताका अनुसार कसैले भक्तिपूर्वक गरेको कर्म नै वास्तवमा पूजा आराधना हो र भगवान्प्रति भक्ति हो ।

मानिसको प्रवृत्ति नै काम गर्ने हो । मानिस कुनै काम नगरी बस्न त सक्तैन, त्यसो भए सद्कर्म नै किन नगर्ने ? त्यसैले सद्कर्म गर्नु नै कर्मयोग हो र त्यो काम गर्ने व्यक्ति योगी हो, सन्यासी हो । मानिसले आखिर कर्म त गर्नै पर्दछ । जे काम गरिन्छ,त्यो ध्यानपूर्वक, भक्तिपूर्वक गर्नुपर्दछ । हाम्रो जीवनमा आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक, इमान्दारितापूर्वक, समाजप्रतिको दायित्व सम्झेर पूरा गर्नु नै भगवान्प्रतिको सच्चा भक्ति हो । कर्मयोगले मानिसको जीवनलाई अनुशासित, इमान्दार, उद्देश्यमूलक बनाइ दिन्छ । यही नै जीवनको असली लक्ष्य हो । गीताले यही आत्मानुशासन सहितको कर्तव्यलाई कर्मयोग भनी व्याख्या गरेको हो । यो कुनै आध्यात्मिक धार्मिक फण्डा होइन । वास्तवमा प्रगतिशील पक्ष हो । गीताले आफ्नो कर्तव्य इमान्दारितापूर्वक गर, ज्ञान हासिल गर र आफैं भित्ररहेको परमात्मालाई विश्वास गर, त्यही नै जीवनको अन्तिम लक्ष्य हो भनेर प्रष्ट दिशा निर्देश गरेको छ । यो पक्ष नै मानव जीवनको सार्थकता प्रतिको लक्ष्य हो । त्यसैले कर्मबाट भागेर होइन त्यसैमा डटेर जीवनलाई सार्थक बनाउनु पर्दछ ।

हामीलाई प्रष्टै थाहा भएकै कुरा हो कि काम हाम्रो हातमा छ तर फल त हाम्रो हातमा छैन । हामी कुनै कार्यालयमा काम गर्छौं त्यस कार्यालयबाट पारिश्रमिक पाउँछौ नै भन्ने के ग्यारेन्टी छ र ? तर हामी पारिश्रमिक पाउँ नपाउँ आफ्नो काम गरिरहेकै हुन्छौ । पारिश्रमिक कहिले प्राप्त हुन्छ कहिले नहुन पनि सक्छ ।

हामी यदि किसान हौं भने खेतमा धान तथा मकै लगाउँछौ । तर वर्षा भए मकै वा धान फल्छ, नभए त फल्दैन । हामीलाई फल प्राप्त भयो त ? हुने ग्यारेन्टी भएन नि । कुनै फलफूलको बोट लगाउँछौ, फुल्छ, फल्छ तर पाक्नेवेलामा आँधि आएर वा असिना पारेर सबै फल नष्ट पनि हुन सक्छ नि । आशा गरेर लाए पनि हुने त त्यही हो । तर हामी फसल लगाउन त छोड्दैनौं । यही हो कर्मयोग ।

वैज्ञानिक रुपमा हामीले हेर्ने हो भने कर्मयोगलाई यथार्थवादी कोण(च्भबष्कितष्अ उजभलयmभलभल)का रुपमा पनि व्याख्या गर्न सकिन्छ किनकि हामीले फल चाहेका नैं छौं भने पनि हुन त त्यही हुन्छ, जुन हुनुछ । त्यो फल प्राप्ति हाम्रो हातमा हुँदैन । पाकिसकेर भित्र्याउने वेलामा वन्यजन्तुले लान पनि त सक्छन् । तर फलको आशा नगर्नु भनेको फल प्राप्ति हुँदै हुँदैन भन्ने होइन । फलको आशा त हुन्छ नै तर फलमा अधिकार हुँदैन । फलमा अधिकारको आशा चाहिं नगर्नु भनिएको हो । कतिपयले फलको आशै नगर्नु भनिएको हो भनी व्याख्या गरेको देखिन्छ तर त्यो होइन । यहाँबाट प्रष्ट हुन्छ कर्मको फलको आशा नगर्नु होइन त्यसको अधिकारमा आसक्ति नराख्नु भनिएको हो,जुन यथार्थ हो । गीताको भनाइ यो हो कि सकाम कर्म गर्ने मानिसलाई भन्दा निष्काम कर्म गर्नेलाई फल दोब्बर बढी प्राप्त हुन सक्छ । यहाँ निष्काम कर्म नै फल प्राप्तिको सुन्दर बाटो हो । जब कसैले निष्काम कर्म गर्छ भने उसको ध्यान कामना सहित कर्म गर्नेले भन्दा कर्ममा वढी ध्यान दिइरहेको हुन्छ । जस्तो कि बाबु आमाको हेरचार गर्न कसैलाई छोरा बनाएर राखियो भने त्यो मानिसले तलबको मात्र याद गरिरहेको हुन्छ, जब स्वयं छोरो जस्ले वास्तवमै हृदयदेखि नै हेरचाह गरिरहेको हुन्छ । छोराले बाबु आमाप्रति कुनै आशा राखेको हुँदैन केवल कर्तव्यनिर्वाह गरिरहेको हुन्छ । कुनै चित्रकारलाई म पैसा दिन्छु चित्र नवनाउनू भयो भने चित्र बनाउन छोड्छ र ? कुनै कविलाई पैसा दिन्छु, कविता नलेख भन्यो भने उसले कविता लेख्न छोड्छ र ? त्यसैले पैसाका लागि कविता लेख्ने र चित्र बनाउनेले भन्दा पैसा नलिई चित्र बनाउनेको चित्र वा कविता लेख्ने मानिसकै कविता राम्रो हुने गरेको पाइन्छ । त्यति मात्र नभई त्यो कवि वा चित्रकार पैसा विना कोर्ने लेख्न मै बढि आनन्द मनाइरहेको हुन्छ ।

कसैले चन्द्रमालाई पैसा दिएर घुम्न लगाएको हो र ? उ निरन्तर आफ्नो कक्षमा घुमिरहन्छ । सूर्यले प्रकाश फैलाउनु,चन्द्रमाले चाँदनी फैलाउनु, ताराहरु चम्किनु, उनीहरुको स्वाभाविक धर्म वा कर्म हो । बादलले वर्षा गराउनु, हावाले शीतलता प्रदान गर्नु उनीहरुको स्वाभाविक धर्म हो । जुन निरन्तर गरिरहन्छन् । त्यसरी नै मानिसले पनि निरन्तर आफ्नो कर्म निष्काम भावले गर्नु पर्दछ । प्राणी मात्रका साथ आत्मौपम्य भावमा, विना स्वार्थ वा आफ्नै स्वार्थ जस्तो देखेर आफ्नै हित जस्तो गरेर सर्वकल्याण भावमा काम गर्नु नै कर्मयोग हो । यस्तो अवस्थामा जो मानिस पुग्छ, उसले भगवान्लाई जताततै जहिले तहिले सम्मुख देखिरहेको हुन्छ ।

उसले जब वर्तमानलाई देख्छ, अरुको रोगमा आफ्नो रोग देख्ने, अरुको दुःखमा आफ्नो दुःख देख्छ, अरुको कल्याणमा नै आफ्नो कल्याण देख्छ भने त्योे मानिस कहाँ दुःखी हुनसक्छ र ? जब मानिस सबैलाई भगवान्का रुपमा देख्न थाल्छ त उ कसरी दुःखी हुन सक्छ र ? जहाँ भगवान् देखिन्छन् त्यहाँ न रोग हुन्छ न शोक देखिन्छ । न त दुःख देखिन्छ । जब मानिस सर्वकल्याण भावमा पुग्छ तब कहाँ मानिस दुःखी हुन्छ र उ निरन्तर कर्तव्यमा लागिरहन्छ । मानवमात्रको दुःख उसको दुःख र मानव मात्रको सुख उसको सुख भएर निस्कन्छ । यो सुख न त मन्दिर वा तीर्थमा गएर पाउन सकिन्छ । कर्मयोगको सुन्दर अर्थ नै यहीं लुकिरहेकोछ ।

(ग) स्वार्थविहीन सेवाः

प्रत्येक कामहरु अरुको हितका लागि गरिने भएकोले त्यो सेवा हो । कसैको योग्यता, पद, पुरस्कार, दण्ड वा नजरानाको स्वार्थ विना गरिने कर्म नै सेवा हो र त्यो नै धर्म हो त्यसरी काम गर्नु नै र्ईश्वर प्राप्तिको बाटो पनि हो । परमात्मा, ब्रह्मसम्म पुग्ने सजिलो मार्ग पनि त्यही हो ।

(घ) समत्वभावः

कर्मयोगको अर्काे विशिष्टता भनेको समत्वभाव हो । कर्ममा समत्वभाव हुनु पर्दछ । कर्मयोगीले कामको सफलता र विफलतासँग वास्ता गर्दैन । कसैले आलोचना गरोस् वा प्रशंसा गरोस् वा काममा असफलता होस्, असफलता होस् त्यसको वास्ता गर्दैन । यस्तो समत्वभावले नै त्यो व्यक्तिको विद्वता र भित्रीवलको
प्रतिनिधित्व गरिरहेको हुन्छ । त्यसैले गीता भन्छः

कर्मण्येवाधिरस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोस्त्वकर्मणि ।।

त्यसैले कर्म गर्ने तपाईको अधिकार हो कर्मत्याग होइन । कर्तव्य गरेपछि तपाईंको फलमाथि अधिकार हुँदैन । त्यसैले फलको आसक्ति रहित भएर काम गर्नु होस् ।
यसो गर्नाले तपाईं कर्मफलको हेतु बन्नु हुँदैन किनकि कर्मफलको आसक्ति लिएर गरिएको काम तपाईको बन्धन बन्न जान्छ । गीतामा अगाडि भनिएकोछ ।

सिध्यसिध्यो समो भूत्वा समत्वं योग उच्यते ।।

त्यसैले सफलता र असफलता जुनसुकै अवस्थामा पनि समान भएर समत्वबुद्धिको शरण लिएर काम गर्नुपर्दछ । समत्वबुद्धि भएको मानिस नै यो लोकमा पाप र पुण्य दुबैबाट अलिप्त रहन्छ । जब कामले कुनै प्राप्ति भाव राख्दैन तव उसलाई पाप र पुण्य, धर्म, मोक्षको पनि आशा हुँदैन । जुन मानिस कर्मफलको आशय नलिई योग्य कर्म गर्छ, उही सन्यासी हो, योगी हो । पहेंलो, रातो वस्त्र लगाएर माला धारण गर्दैमा योगी वा ध्यानी बन्न सक्तैन । केवल अग्नि होत्रको त्याग गर्ने योगी वा सन्यासी होइन । काम छोडेर कमण्डलु लिएर हिंड्ने मानिस त सन्यासी वा योगी हुँदै होइन ।

जितात्मनः प्रशान्तस्य मरमात्म समाहितः ।।

जसले आफ्नो आत्मा वा अन्तःकरण (मन,बुद्धि) जितेको छ अथवा उसको मनमा शान्ति छाएको छ । उसको परमआत्मा शीत उष्ण, सुख दुःख, राग द्वेष, मान अपमान, सुख दुःख, राग अनुराग सबैमा समाहित हुन्छ । उसमा उसको समता हुन्छ । जसको आहार विहार नियमित छ । कर्मचेष्टाहरु संयमित छन् । जसको मन निश्चल छ । जसलाई निद्रा वा जागा, समान छ । जो जित हारमा समान ठान्छ । त्यही सिद्ध योगी हो । यी नै कर्मयोगको मूल सिद्धान्त हुन् ।

(९) कर्मयोग के होइन ?

(क) काम नगरी बस्नु कर्मयोग होइन ।
(ख) काममा तटस्थ बस्नु कर्मयोग होइन ।
कर्मयोगमा काम पूर्ण इमान्दार भएर, ध्यान दिएर, सिप लगाएर र समर्पण भावले गरिनु पर्दछ ।
(ग) भावनालाई दवाउनु कर्मयोग होइन बरु यसलाई परिवर्तन गर्नु चाहिं कर्मयोग हो ।

(१०) कर्मयोगको अन्तिम लक्ष्यः

(क) अहंकार र कामलाई घटाएर हृदय शुद्ध गर्नु ।
(ख) निष्काम कर्मले विगतका कर्महरुलाई शुद्ध बनाउनु ।
(ग) यसबाट ब्रह्मत्व, परमात्मा, आन्तरिक शान्ति र स्वतन्त्रता प्राप्त गर्न सकिन्छ ।
कर्मयोग प्रत्येक दिन गरिने कर्तव्य वा कला हो ।
यो जीवनको आध्यात्मिक प्रयोगको अभ्यास हो । यो स्वतन्त्रताको वाटो पनि हो । यसको मुख्य कुरा भनेको तिमीले संसारमा टाँसिइरहनु पर्दैन । बरु तिमीले संसारमा संलग्नतालाई अलग गर्नु पर्दछ ।

(११) कर्मयोगको नेपालमा महत्व र प्रयोगः

यहाँ कर्मयोगको अर्थ,सिद्धान्त र मर्मको व्याख्या गर्नुको मूल उद्देश्य भनेको यसलाई नेपालमा प्रयोग गर्न सकिन्छ कि सकिंदैन भन्ने नै हो । यहाँ आज यसको औचित्य बारेमा पनि निम्न अनुसार हेर्न सकिन्छ । हामीले गीतालाई विहानै उठेर पाठ गर्ने र कण्ठ गरेर कर्मकाण्डको रुपमा मात्र ग्रहण गर्याैं, यसलाई हामीले हाम्रा दरसन्तानलाई सिकाएनौं । यसको महत्व बुझाउने प्रयत्नै गरेनौं । हामी प्रगति खोज्न माओवाद, माक्सवाद , लेनिनवादको चपेटामा फस्यौं । अझ परिस्कृत बनाउन तिनको व्याख्या गर्न तर्फ लाग्यौं । भइरहेका हाम्रा गहन सम्पतिहरुलाई व्याख्या गरेनौं । कर्म गर भनेको परिश्रम नगर भनेको होइन । परिश्रम गर्यौं भने फल प्राप्त हुन्छ तर कर्म नगरी नै फलको आशा गर्नु है भनेको होइन । हामी योगी वन्न कमण्डलु बोकेर हिंड्यौं । कर्म गरेपछि भगवान् तिम्रो अगाडि नै आइपुग्छन् भनेको होइन ? कर्तव्य गर अधिकार खोजिरहनु पर्दैन भनेको हो अधिकार स्वतः सिद्ध हो भनेको हो ? हामी आफू नै इमान्दार भएनौं । आफू इमानदार नभएपछि अरुलाई इमानदार बन भन्दा कसले पत्याउँछ ? अरुलाई इमान्दार बन भन्ने नैतिकता तव हुन्छ जब उ स्वयं नैतिकवान् हुन्छ । कर्तव्यपरायण हुन्छ । अरुलाई काम गर्न तब प्रेरित गर्न सकिन्छ जब हामी स्वयं काम गर्छौं । अहिले भइरहेको वेथिति यही कर्म योगबारे हामीले हाम्रा सन्तानलाई नसिकाएको परिणाम हो ।

१२) नेपालमा कर्मयोगको इतिहास र प्रयोगः

नेपालमा जानेर वा नजानेर भएपनि कर्मयोगको सिद्धान्तलाई प्रयोग गर्न खोजिएको पाइन्छ । हाम्रा पुर्खाहरुले हाम्रा खेती प्रणालीहरुमा बालवालिकालाई सानैदेखि माटोसँग खेल्न सिकाएका थिए । ढुंगा बोक्न सिकाएका थिए । बच्चैदेखि पठन पाठनसँगै आफ्ना खेतबारीमा लगेर खेतमा कसरी पानी लाउने ? कसरी अन्नवाली कसरी गोड्ने ? खाना कसरी पकाउने, अतिथि सत्कार कसरी गर्ने ? भन्ने जस्ता हरेक कुराहरु सिकाउने र काम गर्ने प्रवृति वा बानीको विकास गराएका थिए । यसैगरी राज्यका तर्फबाट पनि कर्मयोगको अभ्यास गराइरहेका थिए । जस्तैः

(क) गाउँफर्कः

राजा महेन्द्रले सहरमुखी हुँदै गएका राजनीतिमा लागेर काम नगर्ने ठालु भइहिंड्ने प्रवृतिलाई दुरुत्साहन गर्नका लागि सम्पूर्ण नेताहरुलाई गाउँमा गएर बस भन्ने अभियान नै चलाएका थिए । उनीहरुलाई गाउँमा गएर बाटोघाटो खन, परिश्रम गर विकासका काम गर भनेर निर्देशन जारी गर्नाले कैयौं नेताहरु सहरबाट गाउँ फर्केका थिए । यसले गाउँ गाउँमा मानिसहरु बटुलेर बाटो खन्ने,विद्यालय बनाउने कुलो खन्ने जस्ता कामहरुमा श्रम गर्ने बानी बसिसकेको थियो । यो वास्तवमा कर्मयोगको राम्रो उदाहरण बनेको थियो । यो बानीलाई हामीले राजनीतिक रुपमा हेर्यौं र त्यागि दियौं ।

(ख) राष्ट्रिय विकास सेवाः

नयाँ शिक्षा पद्दतिमा स्नातकोत्तर तहमा अध्ययन गरेर प्रयोगात्मक शिक्षाका रुपमा यो दुर्गम गाउँमा गएर गाउँका मानिसहरुका सुख दुखलाई साथ र्दिंदै उनीहरुको विकास प्रतिको रुचीमा साथ दिने निक्कै राम्रो योजना लागु गरिएको थियो । त्यही कार्यक्रमका कारण नेपालमा राजनीतिक चेत निक्कै आएको हो । यसको उद्देश्य अनुरुप हुन सकेन । विकसित मुलकहरुबाट पनि अल्पविकसित मुलुकहरुमा आफ्ना विद्यार्थीहरु पठाएर व्यवहारिक शिक्षा दिने पद्धति अहिले पनि छँदैछ ।

(ग) आफ्नो गाउँ आफैं बनाऔंः

मनमोहन प्रधानमन्त्री भएकोमा उनले आफ्नो गाउँ आफैं बनाउँ भन्ने कार्यक्रम पनि ल्याएका थिए । जसबाट पनि आफ्नो गाउँ वा मुलुकको विकास विदेशीको भर गरेर नभई आफैं गर्नुपर्छ भन्ने स्वावलम्वी योजना आएको थियो । यो पनि एउटा कर्मयोगी योजना थियो । जसले मानिसले आफ्नो कामको लागि आफै खटिनु पर्छ भन्ने सन्देश दिएकै थियो । यसले पनि आफ्नो कर्तव्यप्रति जागरण ल्याउने कार्य गरेको थियो ।

(ग) प्राचीन पर्म प्रथाः

परम्परागत रुपमा खेती गर्दा वा आफूले मात्र गर्न नसकने कामहरु समाजसँग मिलेर गर्ने चलन पनि यही कर्मयोगी योजना थियो । मानिसहरु आफ्नो काम आफैं गर्न लजाउँदैन थिए र अरुको कामको पनि सममान गर्दथे । कामको बाँडफाँड गरिएको थियो । यसको मतलव सबैले आफूले जानेको सिप अनुसार गर्नु पर्छ भन्ने थियो । जस्तो कि फलामको काम गर्नेलाई कामी (नकर्मी) छालाको काम गर्नेलाई सार्की र वाद्यवादन गर्ने वा कपडा सिलाइको काम गर्नेलाई दमाई (सूचिकार) र घर बनाउनेलाई डकर्मी भनिन्थ्यो । यसको अर्थ कोही पनि काम विहीन भएर नबसोस् भनेर कार्य विशिष्टताको आधधारमा कार्य विभाजन गरिएको थियो तर मानिसहरुले स्वयं आफ्ना कामलाई केपिएको भन्न थाले र अरु पनि ठालु पल्टिएर अरुका कामलाई सानो काम ठान्न ठाले । फलतः समाजमा विभेद गरेको देखियो । सबै वर्गका टाठावाठाहरु काम नै नगरी खान पल्किए । पर्म प्रथाले समाजमा मिलेर काम गर्ने बानी बसाएको थियो त्यसलाई अब अन्त्य गरियो ।

(घ) सामुहिक खेतीः

वामपनथीहरुले शुरुशुरुमा सामुहिक खेतीको प्रथा पनि विकास गरे तर त्यो भोट तान्ने अभिप्राय मात्र बन्न गयो । जग्गाहरु टुक्रयाएर नभई एउटै चाक्लोमा सबैले काम गरी सबैले बाँडेर खाने प्रचलन कम राम्रो थिएन । त्यसको पनि अन्त्य भयो । असफल बन्यो ।

(ङ) सांक्षेप प्रथाः

पूर्वतिर राई जातिमा भइपरि आउँदा सांक्षेप वा आपसी सहयोगको चलन छ जुन साह्रै सह्राहनीय छ । त्यसैगरी हामीकसेको घरमा मरिमराउहुँदा सबै गएर सहयोग गर्ने विवाह तथा अन्य कार्यमा पनि आपसी सहयोग गर्ने आफ्ना कामहरु आफैं गर्ने प्रचलनहरु दिनानुदिन हराउँदै गएका छन् । मानिसहरु पैसामुखी भएका छन्, कर्तव्यमुखी भएका छैनन् जसको कारण मानिसहरु छिट्टै धनीहरु हुने प्रवृति देखिएको छ ।

१३) निष्कर्षः

केही वर्षदेखि मुलुकमा कामगरी खानेभन्दा चिया पसलमा गफगर्ने, कहाँ ठग्न पाइन्छ भनी ठग्ने र ठगिखाने बाटो हेर्ने र मानसिहरुलाई धम्क्याइ पैसा उठाइ खाने बानीको विकास वास्तवमा माओवादी आन्दोलनले भित्र्यायो । गाउँबाट सहर पस्ने र त्यहाँ लुटपाट मच्चाउने वानीको विकास भयो । राजनीतिक दलका नेताहरु पनि सहरप्रेमी, सुविधाप्रेमी, अल्छी भए र काम गर्नेलाई हेय देख्न थाले र उनीहरु रातारात धनी देखिन थाले । त्यसका कारण नेपालमा वारम्म्बार उपद्रो हुन थाल्यो । अब मुलुक सुधार्ने हो भने मानिसलाई काम गर्न प्रोत्साहित गर्ने, अरुको कामको सम्मान गर्ने, आफू पनि इमान्दारिता पूर्वक काम गर्ने र इमान्दारलाई सम्मान र पुरस्कार गैर इमान्दारलाइृ दण्डको व्यवस्था गनूृ पर्ने हुन्छ । कार्यालयहरुमा पनि इमानदार को छ ? उनीहरुले राष्ट्रका लागि कतिको हितमा काम गर्दैछ,त्यसको लेखाजोखा गर्ने र भ्रष्टहरुलाई दण्डित गर्ने पर्ने हुन्छ त्यसका लागि जनमानसमा कर्मयोगको महत्वका बारेमा प्रचार गर्नु पर्ने देखिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x