शुक्रबार, साउन १, २०८३
Friday, July 17, 2026

मिटरब्याज पीडित र गृहमन्त्रीबीच ‘निर्णायक’ वार्ता हुँदै

मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ ।

बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको सभाहलमा बस्ने यो बैठकलाई दुवै पक्षले ‘निर्णायक’ रूपमा लिएका छन् ।

यसअघि मंगलबार र बुधबार दैनिक करिब पाँच–पाँच घण्टा चलेका पहिलो र दोस्रो चरणका वार्ताहरू विना निष्कर्ष टुङ्गिएपछि आजको छलफलमा सबैको ध्यान केन्द्रित भएको छ ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको नेतृत्वमा पीडितहरूले गत असार २५ गते धनुषाको जनकपुरस्थित ऐतिहासिक तिरहुतिया गाछीबाट काठमाडौंतर्फ ‘पैदल मार्च’ (न्याय यात्रा) सुरु गरेका थिए ।

चर्को घाम र वर्षाको पर्वाह नगरी न्यायको खोजीमा हिँडेका पीडितहरूको गुनासो सुन्न र आन्दोलनलाई सम्बोधन गर्न गृहमन्त्री गुरुङ आफैं बाराको निजगढ आइपुगेका हुन् ।

आन्दोलनकारीहरूले गृह प्रशासन समक्ष आफ्ना समस्या समाधानका लागि स्पष्ट खाकासहित छ बुँदे माग अघि सारेका छन् ।

उनीहरू फर्जी लिखत खारेज, मिटरब्याज विरुद्ध शक्तिशाली विशेष ऐन निर्माण, विशेष न्यायाधीकरण गठन, साहु–महाजनको सम्पत्तिको छानबिन, पीडितको सम्पत्ति फिर्ता तथा न्याय पूर्ण आर्थिक कारोबार सुनिश्चित गर्नुपर्ने लगायतका छ बुँदे माग गृहमन्त्री समक्ष राखेका छन् ।

विगत दुई दिनका वार्ताहरूमा मागका प्राविधिक र कानुनी जटिलता माथि विस्तृत छलफल भएको बुझिएको छ ।

आन्दोलनकारीका प्रतिनिधिहरूले राज्यले ठोस र कार्यान्वयन योग्य प्रतिबद्धता नजनाएसम्म आन्दोलन नरोक्ने अडान लिएका छन् भने सरकारी पक्षले कानुनसम्मत ढङ्गले समस्या समाधान गर्न गृहकार्य भइरहेको बताएको छ ।

आज मध्याह्न १२ बजे सुरु हुने तेस्रो चरणको वार्ताले मिटरब्याज पीडितहरूको यो लामो र कष्टकर सङ्घर्षलाई कसरी तार्किक निष्कर्षमा पुर्याउँछ भन्ने कुरा निर्धारण गर्नेछ । देशभरका हजारौं मिटरब्याज पीडितहरू अहिले निजगढको यो वार्तालाई निकै चासोका साथ हेरिरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x