बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

दिनानुदिन आत्मदाह बढ्दै, किन दोहोरिँदै छन् यस्ता घटना ?

काठमाडौं- पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य, सामाजिक उत्तरदायित्व र सञ्चारमाध्यमको भूमिकामाथि गम्भीर बहस प्रारम्भ भएको हो ।

असार २७ गते: बुद्धनगरमा अर्को आत्मदाह प्रयास

यस्तै ४५ वर्षीय अश्विन राउतले काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा आत्मदाहको प्रयास गरेका उनको पनि निधन भयो ।

असार ३० गते: सर्लाहीमा मण्डलको मृत्यु

सर्लाहीको गोडैता नगरपालिकाका ४२ वर्षीय विवेक मण्डलले आत्मदाहको प्रयास गरेका थिए । गम्भीर घाइते भएका उनको असार ३० गते उपचारका क्रममा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भएपनि प्रारम्भिक रूपमा व्यक्तिगत तथा सामाजिक समस्यासँग घटना जोडिएको प्रहरीले जनाएको थियो । यसैबीच पछिल्लो घटना रौतहटमा भएको छ । रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्महत्याको प्रयास गरेका छन् ।

प्रहरीका अनुसार देबेन्द्र सहनीका छोरा गौतमले घरायसी वा अन्य कुनै कारणले उक्त कदम चालेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । रौतहटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बसन्त गौतमका अनुसार आगलागीबाट सहनीको घाँटीमुनिको भाग करिब ३१.५ प्रतिशत जलेको छ । घटनापछि उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्याइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

हाल उनको अवस्था मध्यम रहेको र उपचारमा उनका बुबा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा घाइते युवक मानसिक रोगको औषधि सेवन गरिरहेको र घटनाका बेला मादक पदार्थ सेवन गरेको हुन सक्ने जानकारी उनका परिवारका सदस्यले दिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । लगातार एउटै प्रकृतिका घटना दोहोरिएपछि मनोविद् डा. गोपाल ढकालले यसलाई ‘कपी–क्याट इफेक्ट’ सँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले आत्मदाह आत्महत्याको एउटा माध्यम मात्र भएको उल्लेख गर्दै कुनै एउटा घटनालाई सनसनीपूर्ण रूपमा प्रस्तुत गर्दा त्यसैको अनुकरण गर्ने जोखिम बढ्ने बताए । उनका अनुसार नेपालमा दैनिक औसत २० जनाले आत्महत्या गर्ने तथ्यांक रहेपनि कुनै एउटा माध्यमलाई अत्यधिक प्रचार गरिएपछि सोही माध्यम अपनाउने सम्भावना बढ्ने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

‘एउटा घटनालाई पटक–पटक समाचार, भिडियो र सामाजिक सञ्जालमार्फत सनसनीपूर्ण ढंगले प्रस्तुत गर्दा आत्महत्याको सोचमा रहेका व्यक्तिले त्यही माध्यम अनुकरण गर्न सक्छन्,’उनले भने । डा. ढकालका अनुसार आत्महत्याका घटनाको समाचार सम्प्रेषण गर्दा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तयार गरेको मिडिया गाइडलाइन पालना गर्न आवश्यक छ । समाचारमा घटनाको विधि, स्थान, दृश्य वा विस्तृत विवरणलाई प्राथमिकता दिनुभन्दा मानसिक स्वास्थ्य, रोकथामका उपाय र सहयोग उपलब्ध हुने सेवाबारे जानकारी दिनुपर्ने उनको सुझाव छ ।

उनले आत्महत्याको सोचमा रहेका धेरै व्यक्तिहरू कुनै न कुनै माध्यम खोजिरहेको अवस्थामा समाजमा व्यापक चर्चा भएको घटना उनीहरूका लागि अनुकरणको माध्यम बन्न सक्ने बताए । ‘आत्महत्याको सोच बनाइरहेका व्यक्तिहरूले कुन माध्यम अपनाउने भन्नेबारे खोजिरहेका हुन्छन् । त्यही बेला कुनै एउटा घटनालाई अत्याधिक प्रचार गरियो भने त्यसले उनीहरूलाई प्रभावित गर्न सक्छ,’ उनले भने ।

उनका अनुसार विशेषगरी बालबालिका र किशोरकिशोरीमा यस्तो प्रभाव अझ बढी देखिन सक्छ । चर्चामा आउने, सामाजिक सञ्जालमा व्यापक फैलिने वा धेरै बहस हुने घटनाले उनीहरूमा जिज्ञासा र अनुकरणको प्रवृत्ति बढाउन सक्ने भएकाले सञ्चारमाध्यमले झन् बढी संवेदनशीलता अपनाउनुपर्ने उनले बताए । डा. ढकालले पछिल्ला घटनाले मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार, समयमै मनोसामाजिक परामर्श उपलब्ध गराउने व्यवस्था, परिवार र समुदायको सहयोग तथा जिम्मेवार सञ्चार अभ्यासको आवश्यकता थप स्पष्ट बनाएको बताए ।

उनले यस्ता घटनालाई सनसनीपूर्ण बनाउनेभन्दा किन मानिस यस्तो अवस्थामा पुग्छ, कसरी रोक्न सकिन्छ, संकटमा परेका व्यक्तिलाई कहाँबाट सहयोग लिन सकिन्छ भन्ने विषयलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । लगातार दोहोरिएका आत्मदाहका घटनाले मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको प्रमुख मुद्दाका रूपमा लिएर राज्यले प्रभावकारी रोकथाम कार्यक्रम, परामर्श सेवा विस्तार र जनचेतनामूलक अभियानलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x