बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम शुरु, सुरक्षा व्यवस्था कडा

काठमाडौं, –  पूर्वराजा ज्ञानेनद्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल बाहिर राजावादीहरु पुग्नेक्रम शुरु भएको छ ।  विमानस्थलको छिर्ने मूलसडक बाहिर भेला भएका राजावादीहरुले नाराबाजी शुरु गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौँमा स्वागत गर्दै त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म लैजाने कार्यक्रम अन्तर्गत राप्रपाका कार्यकर्ता र अन्य राजावादी अभियानमा जोडिएका राजवादीहरु विमानस्थल बाहिर भेला भएका हुन् ।

पुर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पनि विमानस्थल जाने भएका छन् । त्यस्तै राजवादी दल राप्रपा, राप्रपा नेपाललगायतका राजावादी दल, संघ-संस्थाहरुले नागरिकहरुलाई स्वागतमा भेला हुन आव्हान गरेका छन् ।

सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले आज विमानस्थलमा टिकट बाहक र कर्मचारी बाहेक अन्यलाई प्रदेश रोक लगाएको छ । सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिदै विमानस्थल परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ ।

झण्डै २ महिना लामो गण्डकी प्रदेशको भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं आइपुग्ने कार्यक्रम छ।

आज दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी र राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्म ¥याली निकाल्ने तयारी छ। विमानस्थलमा भव्य स्वागतपछि पूर्वराजा ज्ञानेन्द्र सवार गाडीसँगै कार्यकर्ताले मोटरसाइकल ¥याली गर्ने तयारी रहेको छ। उनीहरूले नारायणहिटी दरबारमा समेत ¥याली गर्ने तयारी गरेको छ।

पूर्वघोषित कार्यक्रमअनुसार आज राप्रपाले शक्ति प्रदर्शन गर्ने कार्यक्रम रहेको भएता पनि बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले उक्त कार्यक्रम स्थगित गरी पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने कार्यक्रम राखेको हो। राप्रपाले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई विमानस्थलदेखि निर्मल निवाससम्म गौशाला, चावहिल, महाराजगञ्ज जुन स्थानमा पायक पर्छ, त्यहाँ नेपालको झण्डासहित अनिवार्य रूपमा भेला भएर पूर्वराजालाई स्वागत गर्न उर्दी जारी गरेको छ।

पूर्वराजालाई स्वागत गर्न राप्रपासँगै दुर्गा प्रसाईंको अभियान र विश्वहिन्दु महासंघ, शिवसेना नेपाललगायत आधा दर्जनबढी संघसंस्थाका टोली परिचालन हुनेछन्। राप्रपालगायत सडक आन्दोलन शुरू गरेका अन्य समूहले आज हजाराँै जनता सडकमा उतार्ने जनाएका छन्।

विमानस्थलभित्र राप्रपाका नेताहरूले स्वागत गरेर बाहिरिए पछि विभिन्न समूहले स्वागत गर्ने कार्यक्रम तय भएको छ। विश्वहिन्दु महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष अस्मिता भण्डारीले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार महासंघले विमानस्थलको बाहिरी गेटमा स्वागत गर्ने कार्यक्रम छ।

यसैबीच स्वागत ¥यालीका क्रममा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो। स्रोतका अनुसार आज त्रिभुवन विमानस्थल प्रवेशमा कडाइ गरिने भएको छ। विमानस्थलमा कडाइ भए विभानस्थल प्रवेशद्वारमै स्वागत गर्ने राप्रपाको तयारी छ।

स्रोतले नेपाल समाचारपत्रलाई दिएको जानकारी अनुसार पूर्वराजा ज्ञानेन्द्र समिट एयरको विमानबाट दिउँसो साढे २ बजे काठमाडौं आउने कार्यक्रम छ। पूर्वराजासँग उहाँका निजी सचिव राजिब शाही र निजी सुरक्षाकर्मी हुनेछन्। छोरा पारस अस्वस्थ भएको कारण पूर्वराजाबाहेक परिवारका बाँकी सदस्यहरू निर्मल निवासमै छन्। केही समयदेखि पूर्वराजपरिवार समिट एयरमा यात्रा गर्न थालेका छन्।

पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते जारी गरेको सन्देशमा अब राजाले हेरेर नबस्ने र जनताको साथ पाए आफू फेरि सक्रिय हुने उल्लेख गर्नुभएको थियो। सोही भनाइलाई आधार मानेर अन्य दलका नेताले पूर्वराजाप्रति कटाक्ष गरेका थिए। प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रलाई निर्वाचन जितेर सत्ता सञ्चालन गर्न चेतावनी दिएका थिए। तीनै ठूला दलका अध्यक्षले एउटै स्वरमा भनेका थिए,– ‘ढलेको राजतन्त्र कहिल्यै आउन सक्दैन।’

उक्त सन्देशपछि हौसिएको राप्रपाले हिन्दुराज्य र राजतन्त्रको पक्षमा आह्वान गर्दै आन्दोलनको कार्यक्रम यथावत् राख्न निर्देशन दिएको छ। राप्रपाले यसअघि देशका विभिन्न शहरमा शक्ति प्रदर्शन सम्पन्न गरिसकेकोे छ । यसैबीच राजावादीले देशभरबाट जुलुस निकालेका छन्। राप्रपाले हिजो शनिबार भरतपुरमा प्रदर्शन गरेको थियो । पछिल्लो एक सातायता जनकपुर, झापा, हेटौंडालगायत जिल्लामा राप्रपाले पूर्वराजाको समर्थनमा प्रदर्शन गरिसकेको छ।

चार महिना अघिदेखि देशव्यापी भ्रमणमा रहनुभएको पूर्वराजा ज्ञानेन्द्रले मुलुकको दुई दर्जन बढी जिल्लाको धार्मिक भ्रमण गर्नुभएको थियो। दुई महिनाअघि दाङ, नेपालगञ्ज, बर्दिया, लुम्बिनीको बुटवललगायत जिल्लाको भ्रमण गर्ने क्रममा उहाँले स्थानीयसँग भेटगरी राजतन्त्रको पक्षमा लाग्न आह्वान गर्नुभएको थियो।

कास्की बसार्इंको क्रममा पूर्वराजाले बागलुङको कालिका मन्दिर र म्याग्दीको गलेश्वर मन्दिरमा पूजापाठ र दर्शन गर्नुभएको थियो भने पोखराकै एक स्थानमा आफ्ना दाजु स्वर्गीय राजा वीरेन्द्रको शालिक अनावरण गर्नुभएको थियो।
सक्रिय राजनीतिमा आउने तयारीमा लागेका पूर्वराजा ज्ञानेन्द्र पुस १७ गते पूर्वरानी कोमल, छोरी प्रेरणा, पूजा र दिलासासहित भारतको उत्तर प्रदेशको राजधानी लखनउ जानुभएको हो। उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यको निमन्त्रणा मान्न पूर्वराजा ज्ञानेन्द्रपरिवार भारत जानुभएको हो।

उहाँले भारतबाट फर्कनासाथ पुस २८ गतेबाट लुम्बिनी प्रदेश भ्रमण शुरू गर्नुभएको थियो। त्यसलगत्तै माघ २ गतेबाट गण्डकी प्रदेश भ्रमणमा निस्कनुभएको थियो। परिवारसहित धार्मिक भ्रमणमा निस्कनुभएका पूर्वराजा मध्यपश्चिम, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको भ्रमणमा व्यस्त रहनुभएको थियो।

माओवादीको कार्यक्रम स्थगित, प्रचण्ड एकाएक काठमाडौंमा

पूर्वराजा ज्ञानेन्द्रले पूर्वपञ्चहरूलाई एकजुट गराएर देशभर प्रदर्शन गर्न थालेपछि नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ केही समयका लागि स्थगित गरेको छ।

मधेस जागरणका क्रममा रौटहट पुगेको माओवादी अध्यक्ष प्रचण्ड सहितको टोलीले केही दिनका लागि आफ्नो अभियान स्थगित गरेको जानकारी दिएको हो। पछिल्लो परिस्थितिको मूल्याङ्कन गरेर मात्रै अभियान सञ्चालन गर्ने भन्दै प्रचण्ड एकाएक शनिबार सिमाराबाट काठमाडौं फर्कनुभएको छ।

सो पार्टीका महासचिव देवप्रसाद गुरुङ्ले पूर्वपञ्चहरूले राजालाई सिंहासनमा राख्ने भन्दै आन्दोलन शुरू गरेपछि आफूहरूको जागरण अभियानका क्रममा मुठभेड हुनसक्ने आँकलन गर्दै केही दिनका लागि अभियान स्थगित गरेको जानकारी दिनुभयो।
माओवादी केन्द्रले राजावादीहरूको पछिल्लो गतिविधिबारे छलफल गर्न आज आइतबार पदाधिकारी बैठक समेत बोलाएको छ। फागुन १२ गते झापाको कचनकवलबाट शुरू भएको माओवादीको जागरण अभियान शनिबार रौतहट पुगेको थियो।

राजावादीहरूले आइतबार पूर्वराजा पोखराबाट काठमाडौँ फर्किने कार्यक्रमलाई भव्य बनाउन र ठुलो जनउपस्थिति देखाउने तयारी गरिरहेको छ। अन्तर्राष्ट्रिय समुदायलाई समेत ध्यानाकर्षण गराउने तयारीका साथ पूर्वप्ञ्चहरूले गाउँगाउँबाट जनतालाई काठमाडांै आउन आग्रह गरेको छ भने गणतन्त्रबिरुद्ध नाराबाजी गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ।

पूर्वपञ्चहरूको सक्रियता बढेपछि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू पनि गम्भीर छलफलमा जुटेका छन्। यसैबीच गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई सुरक्षा चुनौतीको विश्लेषण गर्दै सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिनुभएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले राजावादीहरूको पछिल्लो गतिविधि र त्यसबाट राष्ट्रिय सुरक्षामा पर्नसक्ने असरका बारेमा बेग्लाबेग्लै विश्लेषण गर्दै आफूलाई तयारी अवस्थामा राखेको छ।
पछिल्लो समय मुलुकको राजनीतिमा चासो राख्न थाल्नुभएका पूर्वराजा ज्ञानेन्द्रले धार्मिक भ्रमणको कारण देखाउँदै राजनीतिक भेटघाट शुरू गर्नुभएको छ।

मुलुकको राजनीतिक अवस्थालाई नजिकबाट नियालिरहेको बताउने पूर्वराजा ज्ञानेन्द्रले देशको पछिल्लो राजनीतिक अवस्थाबारे राप्रपाका नेतासँग बुझने गर्नुभएको हो। सोही कारण राप्रपाका नेता हौसिएर ज्ञानेन्द्रको पक्षमा वकालत गरिरहेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x