बुधबार, असार ३१, २०८३
Wednesday, July 15, 2026

राज्यले आसेपासे प्रवृत्तिलाई संरक्षण गरिरहेको सुमनाकाे आराेप

काठमाडौ‌ं – पूर्वमन्त्री तथा सांसद सुमना श्रेष्ठले सडकमा जथाभावी गाडी तेर्स्याएर सर्वसाधारणलाई सास्ती दिने कार्यलाई राज्यले नै संरक्षण गरिरहेको आरोप लगाएकी छन् । उनले यस्तो प्रवृत्तिलाई ‘क्रोनिजम’ अर्थात् आसेपासे पोस्ने प्रवृत्तिको उदाहरणका रूपमा व्याख्या गरेकी छन् ।

सोमबार फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै श्रेष्ठले पछिल्ला घटनाक्रमले राज्य र जनताबीचको विश्वासलाई कमजोर बनाइरहेको बताइन् । नेतृत्व तहमा रहेका व्यक्तिहरूले ‘पाठ सिकाउने’ नाममा फरक मत राख्नेहरूमाथि बुलिङ गर्ने प्रवृत्तिले लोकतन्त्र र विधिको शासनमाथि नै प्रश्न उठाएको उनको भनाइ छ ।

‘हिजो हामीले जथाभावी पार्किङ गरिएका गाडीहरूबाट सास्ती भोग्यौँ । गाडीहरू पहिचान गर्न सजिलो थियो, तर सडकको बीचमा गाडी छाड्नेहरू आफू पूर्ण रूपमा सुरक्षित रहेको महसुस गरिरहेका थिए। यही नै क्रोनिजम हो,’ श्रेष्ठले लेखेकी छन् ।

नेतृत्वले सबै नागरिकको सेवा गर्नुपर्ने दायित्व बिर्सेर फरक सोच र कार्यशैली भएकामाथि दबाब सिर्जना गरिरहेको उनको आरोप छ । शक्तिमा रहुञ्जेल जे पनि गर्न सकिन्छ भन्ने अल्पकालीन सोचले दीर्घकालीन समृद्धि सम्भव नहुने उनले उल्लेख गरेकी छन् ।

श्रेष्ठले सांसदहरूको भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । राज्य र जनताबीचको दूरी घटाउने भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै उनले सांसदहरू जनप्रतिनिधि हुन् कि केवल पार्टी प्रतिनिधि भन्ने प्रश्न गरेकी छन् । ‘हामी सधैँ आश्चर्यमा पर्छौँ, के उनीहरू साँच्चै जनप्रतिनिधि हुन् वा केवल पार्टी प्रतिनिधि ? कि उनीहरू राज्यसत्ताको पालो कुर्दै चुपचाप बसेका छन् ?’ उनले प्रश्न गरेकी छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x