बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

अमेरिकी आक्रमणपछि इरानले हमला र धम्कीको जवाफ दिने

अमेरिकी सैन्य कारबाहीपछि इरानले कुनै पनि आक्रमण वा धम्कीको कडा जवाफ दिने चेतावनी दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सशस्त्र बल उच्चतम युद्ध तयारी अवस्थामा रहेको जनाउँदै अमेरिकालाई क्षेत्र छाड्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत बुधबार प्रतिक्रिया दिँदै अराघचीले इरानका शक्तिशाली सशस्त्र बलले कुनै पनि हमला वा धम्कीलाई जवाफविहीन नराख्ने बताएका हुन् । उनले क्षेत्र सुरक्षित राख्न चाहनेहरूलाई मध्यपूर्व क्षेत्रबाट बाहिरिनसमेत चेतावनी दिएका छन् ।

यो चेतावनी अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले इरानका विभिन्न सैन्य लक्ष्यविरुद्ध ‘रक्षात्मक आक्रमण’ गरेको घोषणा गरेपछि आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गरिएको उक्त कारबाही अमेरिकी अपाचे हेलिकोप्टर खसालिएको घटनाको प्रतिक्रियास्वरूप भएको अमेरिकी पक्षले जनाएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार हर्मुज जलडमरूमध्य आसपास रहेका इरानका हवाई प्रतिरक्षा प्रणाली र रडार संरचनाहरूलाई लक्षित गरी आक्रमण गरिएको थियो । सेन्टकमले अमेरिकी समयअनुसार साँझ ५ बजे सुरु भएको सैन्य कारबाही बुधबार सम्पन्न भएको जनाएको छ ।

यसअघि मंगलबार इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइले देशका सशस्त्र बललाई उच्चतम युद्ध तथा प्रतिरक्षा तयारी अवस्थामा राखिएको जानकारी दिएका थिए ।

उनले आवश्यक क्षतिको मर्मतसमेत पूरा भइसकेको र कुनै पनि आक्रमणको उच्चस्तरीय जवाफ दिन सेना पूर्ण रूपमा तयार रहेको बताएका थिए । इरानको रक्षा मन्त्रालयले पनि देशको सुरक्षा, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न सैन्य उपकरण, हतियार र रक्षा प्रणालीको उत्पादन थप बढाइने जनाएको छ ।

मन्त्रालयले प्रतिरोधात्मक क्षमता अझ सुदृढ बनाइने र कुनै पनि शत्रुलाई इरानको सुरक्षामा सामान्य क्षति पुर्‍याउनसमेत नदिने स्पष्ट पारेको छ । यसबीच बुधबार बिहान दक्षिणी इरानको होर्मोजगान प्रान्तका सिरिक बन्दरगाह र मिनाब क्षेत्रमा विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उता इराकस्थित एक मिलिसिया समूहले इरानी ड्रोनहरूले इराकी आकाश प्रयोग गर्दै अमेरिकी लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ । यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

यस्तै, इजरायली सेनाका प्रमुख एयाल जमिरले इजरायली सेना जुनसुकै बेला इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न तयार रहेको र सबै प्रतिरक्षा तथा आक्रमण प्रणाली उच्च सतर्कतामा राखिएको बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x