आइतवार, असार १४, २०८३
Sunday, June 28, 2026

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको उम्मेदवारको ‘स्क्रिनिङ’ जारी छ ।

चितवनको भरतपुरमा भइरहेको सो महाधिवशेनमा ९९ केन्द्रीय सदस्यका लागि ३७० भन्दा बढीको उम्मेदवारी परेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

“केन्द्रीय सदस्यको उम्मेदवारको सूची टुङ्गो लगाएर अहिले दाबीविरोधको कार्यक्रम जारी छ”, उहाँले रासससँग भन्नुभयो, “दाबी विरोध र उम्मेदवारी फिर्ता लिन चाहनेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अन्तिम सूची प्रकाशित हुने छ ।”

उम्मेदवारको विवरण रुजु गरेर विद्युतीय भोटिङ मेसिनमा प्रविष्ट गर्ने काम पनि सँगसँगै भइरहेको छ । दिवा खानापछि मतदानमा प्रवेश गर्ने अनुमान छ । सभापतिको पदमा भने रवि लामिछानेको एकल उम्मेदवारी परेको छ ।

मतदानका लागि ८० वटा विद्युतीय उपकरण तयारी अवस्थामा राखिएका छन् भने नमुना मतदानका निम्ति पाँच वटा उपकरण प्रयोग गरिने छ । विभिन्न ‘क्लस्टर’बाट पनि उम्मेदवार कायम भएकाले मतदानमा अतिरिक्त समय लाग्ने देखिएको छ ।

मतदान पूरा भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिंदै विदेशमा रहेका प्रतिनिधिले मोबाइलमार्फत मतदान गर्ने बताए । महाधिवेशन प्रतिनिधि भने  चार हजार बढी छन् ।

महाधिवेशनस्थलमा केन्द्रीय सदस्यका उम्मेदवारले प्रचारप्रसार जारी राखेका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान सुरु हुनुअघि मौन अवधि तोकिएको छ । त्यतिबेला उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

आजै रातिसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको निर्वाचन सम्पन्न गरेर दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने तयारी गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए । दोस्रो चरणमा दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी छ जनाको निर्वाचन हुने छ । रासस

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x