शनिबार, कार्तिक २२, २०८२
Saturday, November 8, 2025

प्रतिनिधि सभा पुनःस्थापनाबारे एमाले विभाजित, ओलीलाई ‘स्टेप डाउन’ को प्रस्ताव लगिँदै

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममार्फत् प्रतिनिधि सभा पुनःस्थापनाबारे आफ्नो मत राखेको भएपनि एमाले सचिवालय भने यसमा विभाजित हुने देखिएको छ ।

आजदेखि ओलीनिवास गुण्डुमै बस्न लागेको एमालेको ५८ औँ सचिवालयको बैठकमा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको एजेन्डा लैजाँदै छन् । भोलिसम्म चल्ने बैठकमा उनले संसद् पुनःस्थापनाकै दृष्टिकोण पारित गराउने सम्भावना छ ।

सचिवालय र आगामी असोज २७, २८ र २९ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठकअगाडि ओलीले संसद् पुनःस्थापनाको एजेन्डा लैजाने निश्चित भएपछि संस्थापनइतर सचिवालय सदस्यहरू भने अनौपचारिक संवादमा जुटेका छन् ।

स्रोतका अनुसार, उनीहरू ओलीले अघि सारेको पुनःस्थापनाको मुद्दा असान्दर्भिक रहेको बताउँदै चुनावकै पक्षमा उभिनुपर्ने मत राख्ने तयारी गरेका छन् । सचिवालयमा बहुमत नपुगे ‘नोट अफ डिसेन्ट’ लेख्ने उनीहरूको रणनीति छ ।

स्रोतका अनुसार, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट चुनावको पक्षमा प्रस्ट देखिएका छन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मालगायतले आफूहरूलाई साथ दिने उनीहरूको विश्वास छ । 

‘सचिवालयमा संसद् पुनःस्थापना पारित गराउन खोज्ने देखिइसकेको छ । सकेसम्म बहुमत सचिवालय सदस्यले त्यसलाई रोक्नेछौँ, बहुमत नपुगे हामी यसका विरुद्धमा रहेकाहरू नोट अफ् डिसेन्ट लेख्छौँ,’ एक सचिवालय सदस्यको भनाइ छ ।

हालसम्म अध्यक्ष ओलीको पक्षमा उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव पद्मा अर्याल लगायत खुलेका छन् ।

उता, सचिवालय बैठकमा पार्टी पुनःगठनको मुद्दा पनि घनिभूतरूपमा उठाउने तयारी भइरहेको छ । सचिवालय बैठकमा यसपटक ओलीलाई ‘स्टेप डाउन’ गर्न भनिने एक नेताले बताए ।

संसद् पुनःस्थापना गर्नुहुँदैन भन्ने पक्षमा उभिनेहरूले नै पार्टी पुनर्गठनको पक्षमा मत राख्ने विश्वास ती नेताहरूलाई छ । यसपटक उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट लगायत नेताहरू ओलीलाई स्टेप डाउन गराउने पक्षमा उभिने सम्भावना रहेको उनीहरूले बताएका छन् ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा भक्तपुर गुण्डुस्थित निवासअगाडि कार्यक्रम राखेर अध्यक्ष ओलीले एमाले संसद् पुनःस्थापनाको बाटो हिँड्ने स्पष्ट संकेत दिइसकेका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले संसद् पुनःस्थापनाको माग राखेर अघि बढ्नुबाहेक देशलाई प्रणालीमा फर्काउने अर्को बाटो नरहेको बताएका थिए । ‘अब हामीले देशलाई सही बाटामा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरिएको संसद् फिर्ता गर्ने मागलाई अगाडि राखेर नै अगाडि बढ्ने बाहेक अर्को विकल्प छैन,’ उनले भनेका थिए । उनले नेपाली कांग्रेस पनि यही बाटामा आउने बताएका थिए ।

‘मैले विश्वास लिएको छु– नेपाली कांग्रेसले पनि यही बाटोमा आफूलाई अगाडि बढाउने छ । नेकपा (एमाले) यही बाटामा अगाडि बढ्नेछ । अरू पार्टीहरू पनि यही बाटामा अगाडि बढ्नेछ । देशलाई लोकतान्त्रिक बाटो, प्रणालीमा फर्काउने अर्को बाटो छैन,’ उनले भनेका थिए ।

पार्टी पुनर्गठनको पक्षमा आवाज बाक्लिँदै गएपछि ओली मंसिरभित्रै महाधिवेशन गर्ने मनसायमा छन् । अघिल्लोपटक बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय समितिले महाधिवेशनको मिति तोक्ने बताएका थिए । (लाेकपथ)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x