सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

गोर्खा सैनिकको परेडमा बेलायती राजा चार्ल्स तृतीय

काठमाडौं – बेलायती राजा चार्ल्स तृतीयले गोर्खा सैनिकहरूलाई देख्दा आफूलाई अत्यधिक गर्व लागेको बताएका छन्। नवगठित ‘द किङ्ग्स गोर्खा आर्टिलरी’ इकाईको ‘दृढता र प्रतिबद्धता’ को प्रशंसा गर्दै उहाँले यस्तो बताएका हुन्। विल्टशायरस्थित लार्कहिल ब्यारेकमा सैनिकहरूले आयोजना गरेको स्थापना प्रदर्शनी (फर्मेसन परेड) को राजा चार्ल्सले अवलोकन गरे। सो अवसरमा राजा चार्ल्स तृतीयलाई २१ तोपको सलामीसहित स्वागत गरिएको थियो।

यस परेडले बेलायती सेनाको पहिलो समर्पित गोर्खा तोपखाना इकाईको स्थापनाको उत्सव मनाएको थियो। राजा चार्ल्सले यो इकाईले संयुक्त अधिराज्य (बेलायत) र नेपाल बीचको दिगो एवं गहिरो कदर गरिएको सम्बन्धलाई दर्शाएको उल्लेख गरेका छन्। परेडलाई सम्बोधन गर्दै राजा चार्ल्स तृतीयले भने, ‘आज तपाईंहरूलाई परेडमा देख्न पाउँदा मलाई अत्यधिक गर्व लागेको छ।’

अवलोकनका क्रममा राजा चार्ल्स तृतीयले गोर्खा सैनिक र उनीहरुका परिवारसँग भेटघाट गरे र सैनिकहरूसँग आधिकारिक सामूहिक तस्बिर पनि खिचाए । यो इकाई औपचारिक रूपमा अप्रिल २०२५ मा स्थापना भएको थियो। यो तोपखाना इकाईले अब गोर्खाहरूलाई बेलायती सेनाभित्रको क्षमताको पूर्ण दायरामा सेवा गर्ने अवसर प्रदान गर्ने राजाको विश्वास छ।

राजा चार्ल्स तृतीयले सैनिकहरूको हौसला बढाउँदै भने, ‘यो महत्त्वपूर्ण नयाँ अध्यायको सुरुवातमा अगाडि बढेर तपाईंहरूले देखाउनुभएको दृढता र प्रतिबद्धताका लागि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।’ आगामी तीन वर्षमा ४०० गोर्खा जनशक्ति यस इकाईमा थपिनेछन्। यस इकाईले तोपखानाको भूमिकामा गोर्खाहरूको सेवाको लामो परम्परालाई समेटेको छ र बेलायतप्रतिको सैन्य सेवाको विरासतलाई निरन्तरता दिएको छ।

पहिलो विश्वयुद्ध अघि गोर्खाहरूले बम्बई तोपखानामा सेवा गरेका थिए भने दोस्रो विश्वयुद्धको समयमा करिब ८५ जना गोर्खाहरू तोपचीका रूपमा कार्यरत थिए। अब गोर्खा तोपचीहरूले पहिलो डिभिजन, तेस्रो डिभिजन र १६ एयर एसल्ट ब्रिगेड कम्ब्याट टिमको सहयोगका लागि विभिन्न रोयल आर्टिलरी रेजिमेन्टहरूमा सेवा गर्नेछन्। बेलायत सरकारका अनुसार उनीहरूलाई आर्चर र लाइट गन तोपखाना प्रणालीका साथै रिमोट-कन्ट्रोलबाट चल्ने हाउइट्जर १५५ तोपखाना प्रणाली जस्ता उन्नत उपकरणहरूको तालिम दिइनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x