जनकपुर बोल्टसकाे लगातार चौथो जित
काठमाडौं,– नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्टसले लगातार चौथो जित हासिल गरेको छ । टियू क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनी लायन्समाथि १ रनले विजयी भएको हो ।जनकपुरले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३५ रन मात्र बनाउन सक्यो ।
अन्तिम १ बलमा २ रन चाहिएको अवस्थामा सन्दीप जोरा क्याच आउट भएपछि लुम्बिनीले लगातार चौथो हार व्यहोरेको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै सर्वाधिक रह्यो । ३८ बलमा ३ चौका सहयोगमा ३५ रन बनाएका रोहित हर्ष ठाकेरको बलमा जेम्स निसमको हातबाट क्याच आउट भए ।
टोम मोरिसले ३१ रन थपे। अर्जुन साउद २० रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट भए ।
लुम्बिनीलाई रोक्न जनकपुरका हर्ष ठाकेरले ५ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र २३ रन दिए। किशोर महतो, ललित राजवंशी र शेर मल्लले समान एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरलेक निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रनको योगफल तयार पारेको थियो ।
एनपीएलमा लगातार चौथो हार व्यहोरेसँगै लुम्बिनी लायन्सको प्ले अफ सम्भावना कमजोर बनेको छ । एनपीएलको चार खेलमा पराजित लुम्बिनी अंकविहिन रुपमा तालिकाको पुछारमा छ ।
चार खेल खेल्दा जित विहिन हुने लुम्बिनी एक्लो टोली हो । लुम्बिनीले अब एनपीएलमा तीन खेल खेल्न बाँकी छ । बाँकीका तीन खेलमा जित निकालेपनि लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर छ ।
WRITE COMMENTS FOR THIS ARTICLE