शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026

एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी

काठमाडौं—नेपाल चिकित्सकको संघ (एनएमए)को नयाँ कार्यसमितिका लागि भएको निर्वाचनबाट अध्यक्षमा डा. बद्री रिजाल विजयी भएका छन् । मंगलबार भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार डा. रिजालले ३१९६ मत ल्याएर विजयी भए ।

उनका निकतम प्रतिद्वन्द्वी डा. मंगल रावलले २९४० मत प्राप्त गरे । डा. रिजालले डा. रावललाई २५६ मतान्तरले पराजित गरेका हुन् । यस्तै, तेस्रो स्थानमा रहेका डा. नारायणप्रसाद भुसालले ८६९ मत ल्याए ।

वरिष्ठ उपाध्यक्ष र महासचिवसहित अधिकांश पदहरुमा डा. बद्रीको टिममा उम्मेदवार विजयी भएका छन् । यस पटक डा. मंगल टिमले एनएमएमा दुई उपाध्यक्ष र दुईसदस्यमा जित हासिल गरेको छ । वरिष्ठ उपाध्यक्षमा डा. सन्जीव तिवारी ३०३६ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी डा. कीर्तिपाल सुवेदीले २३०२ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका डा. अजयकुमार मिश्रले १४२१ मत प्राप्त गरेका छन् । महासचिवमा डा. विश्वराज दवाडी विजयी भएका छन् । उनले २७२२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी डा. कालुसिह खत्रीले २४२३ मत पाए । महासचिवका अर्का उम्मेदवार डा. अमृत भुसाल १६४६ मतसहित तेस्रो स्थानमा रहे ।

प्रदेश संयोजक (उपाध्यक्ष) हरुमा कोशी प्रदेशमा डा. रोशन खड्का, मधेश प्रदेशमा डा. अमितरञ्जन मिश्र, बागमती प्रदेशमा डा. सुवास भट्टराई, गण्डकी प्रदेशमा डा. यज्ञराज सिग्देल, लुम्बिनी प्रदेशमा डा. नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेशमा डा. रविन खड्का र सुदूरपश्चिम प्रदेशमा डा. प्रमोद जोशी विजयी भएका छन् । कोशीमा उपाध्यक्षमा विजयी भएका डा. खड्काले ३००८ मतका ल्याए भने उनका प्रतिस्पर्धी डा. टंक बाराकोटी २२३६ मत र डा. हरिशंकर कार्की ४९४ मत ल्याए ।

यस्तै, मधेश प्रदेशमा डा. अमितरञ्जन मिश्र ३०९९ मतका साथ विजयी भए । उनका मुख्य प्रतिस्पर्धी डा. उदयनारायण सिंह २०९४ मत ल्याए । यस्तै, तेस्रो स्थानमा रहेका मोहम्मद अनमुल हक ९४३ मत पाए । बागमती प्रदेश उपाध्यक्षमा कडा टक्कर भएको थियो । जहाँ डा. सुवास भट्टराई २३५९ मतका साथ बाजी मार्न सफल भए । उनलाई डा. अरुण शाही २२५० मतका साथ कडा टक्कर दिएका थिए ।

बागमतीबाट अन्य उपाध्यक्षका उम्मेदवारहरु डा. एकानन्द सिंह १२२१ र डा. रुबशनाथ योगीले ६८६ मतका ल्याए । यस्तै, गण्डकी प्रदेशको उपाध्यक्षमा डा. यज्ञराज सिग्देल ३१०२ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी डा. नवराज लम्डारी २८०० मत ल्याए ।

लुम्बिनी प्रदेशको उपाध्यक्षमा डा. नन्दाकुमारी गुरुङ २९१० मतका साथ विजयी भइन् । उनका प्रतिस्पर्धी डा. सन्तोष पोखरेल २२४२ मत पाए । डा. लक्ष्मण शर्मा ११२३ मत ल्याए । कर्णाली प्रदेशको उपाध्यक्षमा डा. रविन खड्का २४९० मतका साथ विजयी भए । उनलाई डा. सरोज गिरी २३२२ र डा. अनुपमंगल समाल १२५७ मतका साथ टक्कर दिए । सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रमोद जोशी ३४८० मत ल्याएर विजयी भए । उनलाई डा. निरज अर्याल २६१२ मतका साथ टक्कर दिए ।

कोषाध्यक्षमा संयुक्त आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सह—कोषाध्यक्षमा डा. तेजुसिंह मल्ल विजयी भए । ६ जना सदस्यका लागि भएको निर्वाचनमा डा. अमित झा, डा. राकेश साह, डा. पल्पसा श्रेष्ठ, डा. बिना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा. शेषराज घिमिरे विजयी भएका छन् । एनएमएको निर्वाचनमा ७ हजार १०० भोट खसेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x