अमेरिका र इरानबीचको ऐतिहासिक शान्ति वार्ता विना कुनै ठोस सहमति टुङ्गियाे
काठमाडाैं – विश्वले निकै आशाका साथ हेरिरहेको अमेरिका र इरानबीचको ऐतिहासिक शान्ति वार्ता विना कुनै ठोस सहमति टुङ्गिएको छ। बिबिसीका अनुसार पाकिस्तानको राजधानी इस्लामाबादमा २१ घण्टासम्म चलेको निकै कठिन र थकाइलाग्दो छलफलपछि पनि दुवै पक्ष कुनै एउटा बिन्दुमा सहमत हुन सकेनन्।
अमेरिकी उप-राष्ट्रपति जेडी भान्सले वार्ता सफल हुन नसकेकोमा दुःख व्यक्त गर्दै अब अमेरिकी टोली पाकिस्तानबाट फर्कने तयारीमा रहेको जानकारी दिएका छन् ।
उप-राष्ट्रपति भान्सका अनुसार अमेरिकाले निकै लचकता देखाउँदै र शान्तिको इमानदार चाहना राखेर वार्ताको टेबुलमा बसेको थियो। तर, इरानले अमेरिकाले अघि सारेका सर्तहरूलाई स्वीकार नगरेपछि स्थिति जटिल बनेको हो। “हामीले आफ्नो तर्फबाट स्पष्ट ‘लक्ष्मण रेखा’ कोरेका थियौं, तर इरानी पक्ष हाम्रा सर्तहरूमा सहमत हुन सकेनन्,” भान्सले पत्रकारहरूलाई भने ।
अमेरिकी टोलीले अब इरानका सामु एउटा ‘अन्तिम र उत्तम’ प्रस्ताव छोडेको छ। भान्सले भने , “हामी यहाँबाट एउटा सरल प्रस्ताव छोडेर जाँदैछौं। अब इरानले यसलाई स्वीकार गर्छ वा गर्दैन, त्यो उसैको हातमा छ।”
यो वार्तालाई सफल बनाउन आयोजक राष्ट्र पाकिस्तानले गरेको मेहनतको उप-राष्ट्रपति भान्सले खुलेर प्रशंसा गरे । उनले पाकिस्तानका प्रधानमन्त्री र फिल्ड मार्सल मुनिरलाई विशेष धन्यवाद दिँदै भने , “वार्ता सफल नहुनुमा पाकिस्तानको कुनै कमजोरी छैन, उहाहरूले अद्भुत काम गर्नुभएको थियो।”
यता इरानले भने वार्ता सफल नहुनुको दोष अमेरिकालाई नै लगाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सामाजिक सञ्जालमा लेख्दै वार्ता निकै सघन भएको तर सफलताका लागि अर्को पक्ष (अमेरिका) गम्भीर हुनुपर्ने बताएका छन् । इरानले अमेरिकालाई “अचाक्ली र गैरकानूनी मागहरू” नराख्न चेतावनी दिँदै इरानको हक र हितलाई सम्मान गर्न आग्रह गरेको छ।
विशेष गरी हर्मोज जलसन्धि, इरानको आणविक कार्यक्रम र इरानमा भइरहेको युद्धको पूर्ण अन्त्यका विषयमा दुई देशबीच गहिरो मतभेद देखिएको छ।
लामो समयदेखि युद्ध र तनावको मारमा परेका मानिसहरूका लागि यो वार्ता एउटा आशाको किरण थियो। तर, दुई शक्ति राष्ट्रबीचको हठ र फरक स्वार्थका कारण शान्तिको बाटो फेरि एकपटक अन्धकारतर्फ धकेलिएको छ। विश्व समुदायले अब इरानले अमेरिकाको ‘अन्तिम प्रस्ताव’ मा के प्रतिक्रिया दिन्छ भनेर निकै चासोका साथ पर्खिरहेको छ।


WRITE COMMENTS FOR THIS ARTICLE