निर्वाचन पूर्वसन्ध्यामा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च
काठमाडाैं – प्रतिनिधिसभाको चुनाव नजिकिदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । यसले सर्वसाधारणलाई आवतजावतमा सहजता हुने गरेको छ । चुनावी सरगर्मीले दाङका सहर तथा ग्रामीण क्षेत्रलाई राजनीतिक रूपमा तताएको छ ।
बजारमा चहलपहल बढेको छ, सवारीसाधनको चाप वृद्धि भएको छ र केही व्यवसायमा अस्थायी सुधार देखिएको छ । तर, व्यवसायीको अपेक्षाअनुसार व्यापक आर्थिक चलायमानता भने अझै देखिन बाँकी छ । अब चुनावको मिति झन् नजिकिदै जाँदा बजारले कस्तो गति लिन्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ ।
चुनावको मिति नजिकिदै जाँदा जिल्लाका सहर बजारदेखि ग्रामीण वस्तीसम्म राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार मतदाता भेटघाटमा सक्रिय बनेका छन् । घरदैलो कार्यक्रम, टोल सभा, कोणसभा र अन्तक्रिर्याका कार्यक्रम दैनिक जसो भइरहँदा जिल्लाभर चहलपहल उल्लेख्य रूपमा बढेको देखिन्छ ।
पछिल्ला दिनमा उम्मेदवार तथा तीनका समर्थक गाउँगाउँ र टोल टोलमा पुगिरहेका छन् । चुनावी प्रचारप्रसारका लागि सवारीसाधनको प्रयोग बढेको छ भने मोटरसाइकल र गाडीको आवतजावतले बजार क्षेत्रमा भीडभाड पनि बढाएको छ । मुख्य सडक, चोक चोकमा झण्डा, ब्यानर र पोस्टरले सजिएका छन् ।
मानिसको बढ्दो आवतजावतसँगै स्थानीय होटल, खाजा पसल तथा रेष्टुरेण्टमा ग्राहकको सङ्ख्या बढेको व्यवसायी बताउँछन् । विशेषगरी चुनावी टोली बिहानको खाजा, दिउँसोको खाना तथा साँझको नास्ताका लागि होटलमा पुग्ने क्रम बढेको छ । यसले गर्दा तरकारी, मासु, दूध, दही, अन्डालगायत दैनिक उपभोग्य वस्तुको माग पनि उकालो लागेको छ ।
घोराही, तुलसीपुरलगायतका मुख्य बजार क्षेत्रमा रहेका होटल व्यवसायीका अनुसार विगत केही हप्ता यता व्यापारमा केही सुधार देखिएको छ । ‘अहिले चुनावी टोली दैनिक जसो आउँछन् । चुनावका लागि खटेका खाना खाने हुँदा बिक्री केही बढेको छ’, एक होटल व्यवसायीले भने । तर उनीहरूका अनुसार यो वृद्धि स्थायी प्रकृतिको नभई चुनावी गतिविधिसँग मात्र सीमित छ ।
यस्तै, प्रचारप्रसार सामग्री उत्पादन गर्ने छापाखाना तथा डिजिटल प्रिन्टिङ पसलमा पनि कारोबार बढेको छ । पर्चा, पम्प्लेट, ब्यानर, फ्लेक्स तथा स्टिकर छपाइका माग बढेका छन् । केही पसलले त अति रिक्त समय काम गर्नुपरेको बताएका छन् । ‘उम्मेदवारले छोटो समयमै धेरै सामग्री तयार गर्नुपर्ने हुन्छ । त्यसैले अहिले कामको चाप छ’, एक प्रिन्टिङ व्यवसायीले भने । यद्यपि, बजारमा देखिएको भीडभाड र चहलपहल आर्थिक रूपमा अपेक्षाकृत सन्तोषजनक नभएको व्यवसायीको भनाइ छ ।
जिल्ला उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले चुनावी समयमा बजार चलायमान हुने अपेक्षा गरिए पनि वास्तविक अवस्था त्यस्तो नरहेको बताए । ‘चुनावको समयमा व्यापार व्यवसाय बढ्नुपर्ने हो, तर त्यो हालसम्म स्पष्ट रूपमा देखिएको छैन’, उनले भने, ‘भीडभाड बढेको छ, तर त्यस अनुसारको आर्थिक गतिविधि विस्तार हुनसकेको छैन ।’
उनका अनुसार विगतका निर्वाचनमा जस्तै यसपटक पनि व्यवसायीले व्यापार वृद्धि हुने आशा गरेका थिए । तर, बढ्दो महँगी, उपभोक्ताको क्रयशक्ति कमजोर हुनु र आर्थिक तरलताको अभावका कारण बजार अपेक्षाअनुसार चलायमान हुन नसकेको उनले बताए । ‘मानिस खर्च गर्न सचेत भएका छन् । चुनावी माहोलले मात्र दीर्घकालीन आर्थिक सुधार ल्याउन सक्दैन’, उनले भने । चुनावले गर्दा मात्रै बजारमा भीडभाड देखिएको उनको भनाइ छ ।
चुनावले केही मात्रामा व्यापार व्यवसायमा वृद्धि भएको चेम्बर अफ कर्मसका अध्यक्ष विकास अग्रवालले बताए । तर व्यवसायीको अपेक्षाअनुसार बढ्न नसकेको उनको भनाइ छ । ‘व्यवसायीको अपेक्षाअनुसार बजार चलायमान हुनसकेको छैन’, उनले भने । अहिले सवारीसाधन, होटल रेष्टुरेण्ट, चिया हाउस, कफी हाउसको व्यापार वृद्धि भएको उनले बताए । यससँगै जोडिएका क्षेत्रमा पनि केही वृद्धि भएको पाइएको अध्यक्ष अग्रवाल बताउँछन् ।


WRITE COMMENTS FOR THIS ARTICLE