बालेन एआईका नेता हुन्, गरिबको कहिल्यै भएनन् – हर्क साम्पाङ
धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी गठन गरी सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका हर्क साम्पाङ अहिले आक्रामक प्रचारमा छन्। झापा, मोरङ हुँदै चुनावी रिपोर्टिङका लागि सुनसरी पुगेको नेपालखबरको टिमसँगको कुराकानीमा साम्पाङले समसामयिक राजनीति, आफ्ना प्रतिस्पर्धी र देशका चर्चित पात्रहरूमाथि खरो टिप्पणी गरेका छन्।
घरदैलोमा व्यस्त साम्पाङ मतदाताको प्रतिक्रियाबाट निकै उत्साहित सुनिए।
‘मतदाताले–हामी तपाईंलाई भोट दिन्छौँ, तपाईंले दुःख गर्नुभएको छ भनिरहेका छन्,’ नेपालखबर ‘तत्कालै’सँग कुराकानी गर्दै उनले भने, ‘सुकिलो–मुकिलो कुदी हिँड्ने र गफ मात्रै गर्ने मान्छेले भन्दा काम गर्ने मान्छेले नै भोट पाउँछ। यहाँका ८० देखि ९० प्रतिशत जनता हाम्रो पक्षमा छन्। म ढुक्कले चुनाव जित्छु।’
यद्यपि, उनले कति सिट आउँछ भन्ने अनुमान गर्न चाहेनन्।
साम्पाङले काठमाडौँका पूर्वमेयर तथा झापा ५ बाट रास्वपाका उम्मेदवार बालेन शाहविरुद्ध निकै कडा टिप्पणी गरे। बालेनलाई उनले ‘एआई’द्वारा स्थापित र मिडिया म्यानिपुलेसनको उपज भएको आरोप लगाए।
‘बालेनजीहरू किन जित्नुहुँदैन भन्दाखेरी उहाँ गरिब, दुःखीको फेभरमा कहिल्यै पनि हुनुहुन्न,’ उनले भने, ‘उहाँ सफल प्लानर पनि होइन। काठमाडौँको बजेटको २०–३० प्रतिशत पनि पुँजीगत खर्च गर्न सक्नुहुन्न। उहाँ भनेको एआईको नेता हो, एआई। एआई इज नट रियालिटी।’
बालेनले गरिबको रोजीरोटी खोसेको र उनीहरूलाई सडकबाट बिजोग बनाएर लखेटेको साम्पाङको आरोप छ।
‘किसानलाई उहाँले फोहोर भन्नुहुन्छ, जुन माटोबाट उब्जनी भएको अन्न खाएर हामी बाँचेका छौँ, उहाँले प्रोडक्सन नै बुझ्नुभएको छैन,’ उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नम्बर ५ मा केपी ओलीविरुद्ध उम्मेदवार बनेका बालेनले हालै इटहरीको सभामा आफ्नो सरकार बनेपछि धरानलाई पानी खुवाउने उद्घोष गरे। काकाकुल धरानलाई पानी खुवाएका हर्कलाई उनको यो टिप्पणी बिझाएछ।
यसबारे जिज्ञासा राख्दा उनले उल्टै प्रश्न गरे– ‘बालेनले कुन धरानलाई पानी खुवाउने रे? पानी के हो भन्ने उहाँलाई थाहै छैन, एच–टु–ओ को मोलिक्युल मात्र थाहा होला। काठमाडौँको पानीको समस्या समाधान गर्न नसक्ने मान्छे धरान आइपुग्ने?’
उनले थपे, ‘आफ्नो जिउको भैँसी नदेख्ने, अर्काको जिउको जुम्रा र लिखा हेर्ने? धरानलाई पानी श्रम संस्कृतिले खुवाउँछ।’
साम्पाङले आगामी निर्वाचनमा ठूला कदका नेताहरूको पराजय हुने दाबी गरे।
उनले भने, ‘बालेनजी चुनाव हार्नुहुन्छ, केपी ओलीजी पनि हार्नुहुन्छ। जित्ने त श्रम संस्कृतिले नै हो। मैले झापा ५ का जनतालाई माटो छोएर कसम खुवाएको छु। त्यहाँको माहोल परिवर्तन भइसकेको छ।’
श्रम संस्कृति पार्टीको मुख्य सिद्धान्त ‘श्रम’ नै भएको साम्पाङको तर्क छ। श्रम र श्रमदानलाई उनले यसरी परिभाषित गरे– ‘श्रम पेटको लागि हो, श्रमदान देशको लागि हो।’
उनले शिक्षालाई उत्पादन, निर्माण र आविष्कारसँग जोड्नुपर्ने बताए। साम्पाङले भने, ‘प्लस टु सकेपछि विद्यार्थीलाई अनिवार्य ६ महिना सैनिक तालिम दिनुपर्छ, जसले देश र माटोप्रतिको राष्ट्रियता बढाउँछ।’
आफू धरानको मेयर हुँदा नाला सफा गरेको र ड्रेन खनेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘मैले काम गरेर देखाएको हो । हिजो मलाई ढुङ्गे भन्नेहरूले नै अहिले श्रम पिता भन्न थालेका छन्।’
साम्पाङले चुनावपछि बन्ने सरकारका लागि हुन सक्ने गठबन्धन या सहकार्यबारे अहिले नै बोल्न हतार हुने बताए।
‘नेपाली जनताले हामीलाई जिताउनुपर्छ। होइन भने देश नै नरहन सक्ने स्थिति पनि आउन सक्छ,’ उनले भने।
हर्कलाई बढीजसो लाग्ने एउटा आरोप छ– उनी अटेन्सन सिकर हुन्, त्यसैले फेसबुकमा धेरै स्टाटस लेख्छन्। हर्क भने यो आरोपको सिधै खण्डन गर्छन्।
भन्छन्, ‘मैले यथार्थ लेख्दा मान्छेहरू त्यसलाई गाली भन्छन्, तर यथार्थ यथार्थ नै हुन्छ। म अटेन्सन सिकर होइन, देश बचाउने मान्छे हुँ।’


WRITE COMMENTS FOR THIS ARTICLE