बिहिबार, माघ २२, २०८२
Thursday, February 5, 2026

शासन, उत्पादन र निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्छ – वामदेव गौतम

देश निर्वाचनको माहौलमा होमिएको छ । अब ठिक एक महिनापछि आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदै छ । राजनीतिक दलहरू चुनावी अभियानमा होमिसकेका छन् । घोषणापत्र लेखनको कामलाई पनि दलहरूले अगाडि बढाएका छन् ।

विगतका महत्वाकांक्षी घोषणापत्र जारी गरेका दलहरूले जेनजी आन्दोलनपछि अब कस्तो घोषणापत्र ल्याउँछन् भन्ने चासोको विषय बनेको छ । विभिन्न २३ घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले राजनीतिक स्थिरता, सामाजिक न्याय, सुशासन, समृद्धि, रोजगारी, शिक्षा–स्वास्थ्य र जेन–जीको बढ्दो असन्तुष्टि सम्बोधन गर्ने गरी घोषणापत्र निर्माणको तयारी गरेको छ ।

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा नेकपाले घोषणापत्र निर्माणको कामलाई अघि बढाएको छ । यही माघ महिनाभित्रै घोषणापत्र सार्वजनिक गर्ने नेकपाको तयारी छ । आगामी फागुन २१ गतेको निर्वाचन, निर्वाचनमा नेकपाको अवस्थालगायतका विषयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता वामदेव गौतमसँग को कुराकानीको सम्पादित अंश ।

जेनजी आन्दोलनपछि २०८४ को निर्वाचन ०८२ मा सरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनले देशलाई निकास दिन्छ त ?
संसद् भङ्ग भइसकेको अवस्थामा निर्वाचनबाट ताजा जनादेशको आधारमा अगाडि बढ्नुको कुनै विकल्प छैन । निर्वाचन नहुने स्थितिमा देश थप सङ्कटमा पर्छ । निर्वाचन सम्पन्न भइसकेपछि एउटा निकास त आउँछ नै । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले देशलाई निकास दिन्छ । विद्रोहलाई पनि शान्ति दिन सक्ने क्षमतासहित हाम्रो पार्टी विकसित भइसकेको छ । बहुमत हासिल गरेपछि समाजवादको आधार कसरी सृजना हुनेछ भन्ने हामीले गरेर देखाइदिनेछौँ । कुनै पनि व्यक्ति बेरोजगार हुनुपर्ने अवस्था सदाको लागि अन्त्य गर्नेछौँ । सभ्यता र समृद्धि हासिल गरेर देखाइदिनेछौँ ।

अहिले समाजवादको यात्रामा अगाडि बढ्ने स्थिति छ त ?
चीनले अहिले अवलम्बन गरेको समाजवादी बजार अर्थतन्त्र र नेपालमा जननेता मदन भण्डारीले विकसित गरेको बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीसहितको समाजवादको आधारमा अगाडि बढ्दा समृद्ध नेपाल बनाउन सकिन्छ । त्यस्तो अवस्थामा हामीलाई कुनै अभाव हुने छैन । देशभित्रै सबै कुरा पाउन सक्छौँ । काम गर्नका लागि विदेश जान पर्दैन, पढ्नका लागि विदेश जानु पर्दैन । घुम्न जाने छुट्टै कुरा हो । उत्पादनका लागि नेपालको माटो र हावापानी यति राम्रो छ कि यहाँ हरेक चिज उत्पादन हुन्छ । अब निर्वाचनपछि आउने दलले उत्पादन, रोजगारलाई प्राथमिकता दिनुपर्छ । यसअनुसार अगाडि जान सक्छ कि सक्दैन भन्ने अहिलेको मूल प्रश्न हो । त्यसपछि शासकीय स्वरूप नै परिवर्तन गरेर जाँदा मात्रै हामी सही गन्तव्यमा पुग्न सक्छौँ ।

मुख्य समस्या शासकीय स्वरूप हो कि मन्त्री / प्रधानमन्त्रीको सोच र कार्यशैली ?
२००७ सालदेखि अहिलेसम्म ७५ वर्ष र २०१५ सालको निर्वाचनदेखि अहिलेसम्म झन्डै ७० वर्ष नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक संसदीय प्रणाली अवलम्बन गरियो । यसमा ३० वर्ष राजाले ठाडो शासन चलाए । तत्कालीन राजाको शासन प्रणालीमा पनि संसदीय प्रणालीजस्तै गरे । त्यतिबेला संसद्मा तत्कालीन राजाले नीति तथा कार्यक्रम प्रस्तुत गर्थे । गणतन्त्र आएपछि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने अभ्यास छ ।

कुनै पनि प्रधानमन्त्रीले पाँच वर्ष जिम्मेवारी निर्वाह गर्न पाएनन् । कुनै पनि संसद् पाँच वर्षसम्म चल्न सकेन । यस्तो अवस्थामा देश गइसकेपछि अब राज्यको नेतृत्व पनि लगातार पाँच वर्षसम्म चल्ने बनाउनुपर्छ, कार्यकारीले गर्ने जति पनि काम छन्, ती सबै पाँच वर्षसम्म निरन्तर गर्न सक्ने हो भने धेरै काम हुन्थ्यो । त्यसकारण प्रतिनिधि सभाले निर्वाचित गर्ने कार्यकारी प्रमुखको ठाउँमा अब जनताबाट कम्तीमा ५१ प्रतिशत मत प्राप्त गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखबाट राज्य सञ्चालन हुने व्यवस्थामा जानुपर्छ । कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति जो भए पनि हुन्छ । तर, कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ । यस्तो अवस्थामा फड्को मारेर विकास गर्न सक्छौँ । देशको अहिलेको आवश्यकता यही हो ।

तपाईँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको कुरा गर्नुभयो । अहिले सङ्घीय सांसदको लागि निर्वाचन हुुँदैछ । संसद्को निर्वाचनमै कांग्रेस, एमाले र रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका छन् । यो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखै अभ्यास हो ?
यो त प्रचारबाजी मात्रै हो । केपी शर्मा ओलीमा जिन्दगीभर प्रधानमन्त्री हुने चाहाना छ । नमर्दासम्म सांसद बन्ने, संसद्मा जानासाथ प्रधानमन्त्री हुने उनको सोच छ । तर, देश र जनताको हितमा कुनै काम नहुने, एकथरी मानिस उनलाई गाली गरेको गर्‍यै हुने स्थिति देखियो । भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर हिँडेका अरू पनि त्यस्तै हुन् । भावी प्रधानमन्त्री भनेको त सांसदको चुनाव जित्नका लागि प्रयोग गरिएको हतियार मात्रै हो । देशलाई राम्रो बनाउन र खास समस्या समाधान गर्नका लागि यो भएकै होइन ।

खास भएको चाहिँ के हो त ?
यो त चुनाव जित्नका लागि गरिएको फण्डा मात्रै हो । पहिले नै प्रधानमन्त्री घोषणा गरेपछि चुनाव जितिन्छ कि भन्ने मात्रै हो । भावी प्रधानमन्त्री घोषणा गरिएका व्यक्तिले चुनाव जिते पनि नजिते पनि देश र जनताका लागि केही फरक पार्दैन । ती व्यक्तिले नजित्दा जस्तो हुन्छ, जित्दा पनि हुने त्यस्तै हो । एउटा व्यक्तिले जित्ने र हार्नेले केही फरक पर्दैन । फरक त दलहरूले अघि सारेको नीति, कार्यक्रम र योजनाले पार्छ । तर, भावी प्रधानमन्त्री घोषणा गरेर हिँडेकाहरूसँग नीति, कार्यक्रम, योजना केही पनि छैन । जसरी पनि प्रधानमन्त्री हुने भन्ने महत्वकांक्षामात्रै छ । निर्वाचनपछि प्रधानमन्त्री त एकजना सांसद भइहाल्छन् ।

अरू दलले प्रधानमन्त्रीको भावी उम्मेदवार घोषणा गरेर गएको अवस्थामा नेकपाले किन गर्न सकेन ?
अहिले प्रधानमन्त्रीको निर्वाचन हुन गइरहेको छैन । फागुन २१ गते त संसद्को निर्वाचन हुन लागेको हो । यो निर्वाचनबाट सांसदहरू निर्वाचित हुन्छन् । संसद्मा बहुमत पु¥याउने दलबाट प्रधानमन्त्री नियुक्त हुन्छन् । यसकारण हाम्रो पार्टीले अहिले प्रधानमन्त्रीको उम्मेदवार घोषणा नगरेको हो । हावादारी पारामा प्रधानमन्त्री घोषणा गर्नुको कुनै अर्थ रहँदैन । अहिले प्रधानमन्त्री घोषणा गरिएकाहरू निर्वाचनपछि प्रधानमन्त्री नबन्न सक्छन् । कतिपय त निर्वाचनमै हार्न सक्छन् ।

विभिन्न २३ वटा घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । देश बनाउने भिजन नेकपासँग छ त ?
जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी प्रमुख हुने गरी अगाडि बढ्दा मात्रै सुशासन, विकास निर्माण समृद्धि हासिल गर्न सकिन्छ । त्यसरी मात्रै देश विकास हुन सक्छ । हामी निर्वाचन घोषणापत्र निर्माणको क्रममा छौँ । मैले लेखेर दिएको छु । सबभन्दा तीन वट क्षेत्रमा आमूल परिवर्तन हुनुपर्छ । शासन प्रणालीमा, उत्पादन प्रणालीमा र निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्छ । त्यसपछि देशका स्थिरता पनि आउँछ, समृद्धि पनि आउँछ ।

बहुदलीय व्यवस्थापछि कम्युनिष्ट र कांग्रेसले देश चलाउँदै आए । संविधान सभाबाट संविधान निर्माण हुँदासमेत अपेक्षित काम भएन । अब हुन्छ भन्ने के ग्यारेन्टी ?
कम्युनिष्ट र कांग्रेस मिलेर ०७२ मा जारी गरेको नयाँ संविधानमा स्पष्ट रूपमा लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने उल्लेख छ । तर, समृद्ध समाजवादको दिशामा अगाडि नबढेको हुनाले समस्या आएको हो । संविधानमा उल्लेख गरिएअनुसार कानुनी रूपमा सम्पूर्ण नागरिकलाई काम गर्न पाउने हैसियत हुन्छ । प्रत्येक युवाले कलेजमा पढ्दै काम गर्न पाउने र काम गर्न सक्ने प्रत्यक्ष व्यक्तिले अनिवार्य रूपमा काममा संलग्न हुनुपर्ने मर्म संविधानको हो । कमसेकम डेढ करोड नेपालीहरू उत्पादन, निर्माणदेखि खोज, अनुसन्धानमा संलग्न हुने थिए । त्यस्तो अवस्थामा नेपाल समृद्धिको यात्रा धेरै अगाडि बढ्ने थियो ।

अहिले हेर्दा यो निर्वाचनबाट कसैले पनि बहुमत ल्याउने त देखिँदैन नि ?
यस निर्वाचनबाट नेकपा ठुलो पार्टी बन्छ । २३ वटा विभिन्न घटक दलहरू यो पार्टीमा समाहित भएका छन् । व्यक्तिगत रूपमा हजारौँ व्यक्ति पार्टी प्रवेश गरिसकेका छन् । यो क्रम जारी छ । यो नयाँ घटनाक्रम हो । नेपालको इतिहासमा यस्तो अहिलेसम्म भएको थिएन । यसले एउटा शक्ति पैदा गरेको छ । हामीले एकता सन्देश सभा देशव्यापी रूपमा सञ्चालन ग¥यौँ । हरेक ठाउँमा जनता खुसी भएर हामीलाई स्वागत गरेका छन् । हाम्रो अभियानले २५ लाख मतदातालाई प्रभावित पारेको छ । अहिले हाम्रो देशमा सरदर ५ जनाको एउटा परिवार छ । ६४ लाख परिवार छन् । ती सबै परिवारमा सन्देश जाने गरी हामी अगाडि बढेका छौँ । नयाँ नेपाल निर्माण गर्ने पक्षमा, काम गर्न सक्ने प्रत्येक नेपालीलाई रोजगारी प्राप्त गर्नका लागि नेपालको पक्षमा मतदान गर्न आवश्यक छ ।

त्यसो भए अब कम्युनिष्ट पार्टीको मूल प्रवाह नेपाली कम्युनिष्ट पार्टी (नेकपा) हुने भयो त ?
हुने भयो होइन, मूल पार्टी हाम्रो भइनै सक्यो । हामी सबै कम्युनिष्टलाई एक ठाउँमा ल्याउने अभियानमा छौँ । कोही कसैसँग पार्टी एकता हुन सक्दैन भने कार्यगत एकता गरेर जान सकिन्छ । सबै कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याउन पाए मलाई अरू केही पनि चाहिने थिएन । कुन व्यक्ति रिसाउँछ, कसले असन्तुष्टि राख्छ भन्ने मतलब नराखी वृहत् कम्युनिष्ट एकता गर्नुपर्छ । एकता सम्भव नभए कार्यगत एकता गर्नुपर्छ । र, हाम्रो संविधानले अघि सारेको लोकतान्त्रिक मुल्य मान्यतामा आधारित समाजवाद निर्माण गर्न लाग्नुपर्छ ।

धेरैले समाजवाद भनेको सुनिन्छ, तपाईँहरूले भनेको समाजवाद चाहिँ कस्तो हुन्छ ?
समाजवाद भनेको श्रम हो । प्रत्येक व्यक्तिले आफूलाई श्रममा संलग्न गर्नुपर्छ । वैज्ञानिकदेखि साधारण लेखपढ गरेका व्यक्तिसमेत काममा सक्रिय हुने । काम गर्न सक्ने कोही पनि कामविहीन हुनुपर्ने स्थिति निर्माण गर्ने हो । यसरी अगाडि बढ्दा नेपाल समृद्ध हुन्छ । हामीले १० वर्षमा धेरै विकास गर्न सक्छौँ ।

पुराना दलले काम गर्न सकेनन् भनेर नयाँ दलहरू आएका छन् । नयाँ दलले काम गर्न सक्ने देख्नुहुन्छ त ?
यिनीहरूले उफ्रिन जानेका छन् । सामाजिक सञ्जाललाई दुरुपयोग गर्छन् । बालेन साहकै कुरा गर्ने हो भने काठमाडौँमा मेयर हुँदा उनले के गरे ? काठमाडौँमा पहिलाका मेयरले जे गरे, त्यसैलाई बिगार्ने, भत्काउने र अलिअलि थपथाप गर्ने बाहेक बालेनले के गरे ? नयाँ भनिएका दलहरूसँग अहिले पनि देश विकास गर्ने कुनै योजना छैन । जसरी पनि प्रधानमन्त्री हुनुप¥यो, जसरी पनि मन्त्री हुनुप¥यो हामी बनाइहाल्छौँ भन्नेबाहेक नयाँ भनिएका दलहरूसँग कुनै सिद्धान्त, विचार र योजना छैन । विकासको प्रतिबद्धता पनि छैन । ५ लाख वर्षको इतिहासमा मानिस आफैँले काम गरेर खान सक्ने २०÷२२ हजार वर्ष पहिलेदेखि हो । त्यसबेलादेखि आजसम्मको इतिहासको अध्ययन गरेर हामी कुन बाटोमा जाने भन्ने न खोज गरिएको छ, न अध्ययन गरिएको छ । कसैलाई गाली गरेको भरमा, म भएँ भने यसो गर्छु भनेकै भरमा विश्वास गर्न सक्ने अवस्था छैन । प्रत्येक नेपाली नागरिकले नेपालमा म यसो गर्छु, उसो गर्छु त भन्न पाउँछ । हामीले लडेर ल्याएको व्यवस्थाले त्यो अधिकार दिएकै छ । योजना, प्रतिबद्धता र संकल्पविना देश विकास गर्न सकिँदैन ।

नेकपाले चाहिँ कसरी देश विकास गर्न सक्छ त ?
हामीसँग योजना छ, प्रतिबद्धता छ र हामीले संकल्प गरेका छौँ । हामीसँग अनुभव पनि छ । र, विगतमा भएका कमजोर सच्याएर जाने प्रतिबद्धता हामीले जनाएका छौँ । हामीसँग शक्ति पनि बढेको छ । त्यसकारण हामीले गर्न सक्छौँ । (दृष्टि)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x