बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

३० व्यवसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान

काठमाडौं – सरकारले ३० व्यवसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले यो सम्मान प्रदान गरेका हुन्। सीआईपी प्राप्त गर्नेहरूमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने नीजि क्षेत्रका प्रतिनिधिमूलक ९ संस्थाले मानार्थ सीआईपी प्राप्त गरेका छन्।

व्यावसायिक प्रतिनिधिमूलक संस्थाहरूको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाललाई मानार्थ सीआईपी प्रदान गरिएको छ।

यी संस्थाहरूलाई निर्यात व्यापारका साथै वाण्ज्यि क्षेत्रमा प्रवद्र्धानात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्‍याएवापत सम्मान गरिएको हो। त्यस्तै व्यावसायिक प्रतिनिधिमूलक महासंघतर्फ नेपाल हस्तकला महासंघ र निर्यात व्यावयसायी महासंघका अध्यक्षलाई मानार्थ सीआईपी प्रदान गरिएको छ।

यसबाहेक व्यावसायिक प्रतिनिधिमूलक वस्तुगत संघतर्फ नेपाल छुर्पी व्यावसायी संघ झापा, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल प्रहरी तयारी पोशाक उद्योग संघ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले मानार्थ सीआईपी सम्मान पाएका छन्।

उनीहरूलाई तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा पाँच अर्ब र सोभन्दा बढी निर्यात गरेकाले यो सम्मान प्रदान गरिएको हो।

यसैगरी तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निकासी गर्ने अग्रस्थानका पाँच वस्तुहरूमध्ये प्रत्येकबाट एक–एक जना व्यवसायीलार्य सीआईपी सम्मान प्रदान गरिएको छ।

जसअन्तर्गत ऊनी गलैँचातर्फ थर्ड आई इन्टरनेशनल, तयारी पोशाकतर्फ नेपाल फेशन प्रा.लि., ऊनी फेल्टका सामानतर्फ नेशनल एक्सपोटर्स प्रा.लि., छुर्पीतर्फ मनराम हिमालयन हेण्डिक्राफ्ट प्रा.लि. र पश्मिना वस्तुतर्फ ट्राइकोट इण्डष्ट्रिजले सीआईपी सम्मान प्राप्त गरेका छन्।

यस्तै भारततर्फ निकासी रकमको आधारमा सम्मान पाउनेमा डाबर नेपाल प्रा.लि., आरती स्ट्रीप्स र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई र चीनतर्फको निकासी रकमका आधारमा छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमंगल काठमाडौँले सीआइपी सम्मान प्राप्त गरेका छन्।

नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्तामा गिफ्ट ल्याण्ड इन्टरप्राइजेज प्रा.लि.ले पनि सीआईपी सम्मान पाएको छ।

यस्तै प्राथमकितामा राखेका निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य वस्तु सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्तामध्ये नेपाल एभरेष्ट कार्डमम प्रोडक्सन झापा र जडिबुटी क्षेत्रबाट एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्स दार्चुलाले यो सम्मान प्राप्त गरेका छन्।

निर्यात व्यापारमा कुल रकमको आधारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्तामा जनकपुर रिफाइनरिज काठमाडौँ र तेस्रो मुलुकतर्फ गत दुई आर्थिक वर्षमा एक अर्ब वा सोभन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीहरुमध्ये द सांग्रिला कार्पेट एण्ड ह्याण्डिक्राफ्ट, एभरेष्ट फेसन र त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड र स्टार्टअपतर्फ माइण्डफुल क्राफ्ट प्रालि काठमाडौँले सीआईपी सम्मान प्राप्त गरेका छन्।

यसैगरी बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने कम्पनीमा आईएमई लिमिटेड र पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी तथा व्यवसायीमा एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडले सीआईपी सम्मान प्राप्त गरेका छन्।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले देशको समृद्धिको लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप बलियो बनाइने बताए। उनले सीआईपी सम्म्मानले उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्दै निर्यात प्रवद्र्धनमा थप प्रभावकारी भूमिका खेल्ने उल्लेख गरे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निर्यात वार्षिक करिब १० खर्ब पुर्‍याउन सकिने बताए।

उनले नेपालको निर्यात सम्भावना हेर्दा वार्षिक करिब १० खर्ब पुर्‍याउन र कूल गार्हस्थ्य उत्पादनको शुन्य दशमलब २ प्रतिशतमात्रै रहेको विदेशी लगानी केही वर्षमै १० प्रतिशत पुर्‍याउन सकिने धारणा राखे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x