आइतवार, बैशाख २०, २०८३
Sunday, May 3, 2026

प्रतिकार्यको शैली पुरानो भयो, अबको आवश्यकता ‘पूर्वकार्य’ : गृहमन्त्री अर्याल

काठमाडाैं – गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् व्यवस्थापनमा सरकारले परम्परागत शैली परिवर्तन गरी पूर्वतयारी र पूर्वानुमानमा आधारित विशेष रणनीति अख्तियार गरेको बताएका छन् । सोमबार ‘पूर्वानुमानमा आधारित पूर्वकार्य’ सम्बन्धी चौथो राष्ट्रिय संवादको उद्घाटन गर्दै उनले विपद् आएपछि उद्धारमा जुट्ने भन्दा पनि विपद् आउनुअघ नै तयारी अवस्थामा रहने नीतिलाई सरकारले संस्थागत गर्न थालेको स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले नेपालले परम्परागत ‘प्रतिकार्य’ (रेस्पोन्स) केन्द्रित दृष्टिकोणलाई बदलेर अब जोखिमको ज्ञान र पूर्वतयारीमा आधारित ‘पूर्वकार्य’ तर्फको रुपान्तरण यात्रा आरम्भ गरिसकेको बताए । विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न यो विधि अपरिहार्य रहेको उनको भनाइ थियो ।

गृहमन्त्री अर्यालले पूर्वानुमानमा आधारित पूर्वकार्यलाई प्रभावकारी बनाउन तीनवटा पक्ष अनिवार्य रहेको उल्लेख गरे । “यसका लागि जोखिमको स्पष्ट जानकारीसहितको विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली पहिलो शर्त हो,” उनले भने ।

उनका अनुसार दोस्रो महत्वपूर्ण पक्ष भनेको पूर्वसूचना जारी हुनासाथ तत्काल सक्रिय हुने स्पष्ट कार्ययोजना हो भने तेस्रो पक्षका रूपमा संकटका बेला तत्काल परिचालन गर्न सकिने पूर्वव्यवस्थित स्रोतसाधन हुनुपर्छ । “यी तीन कुराको तालमेल मिलेमा संकटको बेला ढिलाइ नगरी काम गर्न सकिन्छ,” अर्यालले भने ।

नेपाल बहुप्रकोपिय जोखिमका हिसाबले अति संवेदनशील मुलुक रहेको तथ्य औंल्याउँदै गृहमन्त्रीले बाढी, पहिरो, आगलागी, चट्याङ, शीतलहर तथा लू जस्ता प्रकोपले वर्षेनी ठूलो क्षति पुर्‍यािरहेको बताए । त्यसमाथि जलवायु परिवर्तनका कारण यस्ता विपद्हरू अझ अनिश्चित, तीव्र र बारम्बार दोहोरिन थालेको तर्फ उनले सचेत गराए । गृहमन्त्री अर्यालले विपद् पूर्वतयारी र पूर्वानुमानमा आधारित प्रणालीलाई अझ मजबुत र व्यापक बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x