आज पनि राजावादीले काठमाडौँमा प्रदर्शन जारी राखेः सवारी आवागमन प्रभावित

काठमाडौं – राजसंस्था पुनर्स्थापनाको माग गर्दै आज पनि राजावादीले काठमाडौँमा प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका कारण राजधानीका विभिन्न सडकमा सवारी आवतजावत गर्न समस्या भएको छ ।
शुक्रबार माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बबरमहल, नयाँ बानेश्वर हुँदै नदी करिडोर क्षेत्रसम्म फैलिएको छ । प्रदर्शनका कारण ती क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता दीपक गिरीले करिब दुई हजार प्रदर्शनकारी माइतीघरमा भेला भएर बबरमहलतर्फ अघि बढेको जानकारी दिए । उनका अनुसार प्रदर्शनकारी बीच सडकबाटै हिँडेकाले सवारी आवागमनमा असहजता भएको छ ।
यात्रामा निस्कनुअघि ट्राफिक प्रहरीको हेल्पलाइन १०३ मा फोन गरेर ट्राफिकको अवस्था बुझ्न सकिने छ । साथै ट्राफिक प्रहरीले रेडियो ट्राफिक एफएम ९५.५ मेगाहर्जमार्फत पनि सडकको अवस्थाबारे जानकारी दिइरहेको छ । मेट्रो ट्राफिक प्रहरी डिभिजनको फेसबुक पेज तथा अन्य सामाजिक सञ्जालमा पनि ट्राफिक गतिविधिबारे जानकारी लिन सकिन्छ ।
WRITE COMMENTS FOR THIS ARTICLE