प्रतिनिधिसभाकाे हिउँदे अधिवेशन नयाँ संसद् भवन सिंहदरवारबाट सञ्चालन हुने

काठमाडौं – सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आउँदो हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन् । शुक्रबार (साउन २३) सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
आउँदो हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन गर्न आधारअनुसार निर्माणको म्याद थपिएको उनले उल्लेख गरे । उनले हाल समयमै काम सकाउन जनशक्ति, निर्माण सामग्रीसहित कार्यतालिका बनाएर अघि बढिरहेको बताए ।
नयाँ संसद् भवन निर्माणको सम्पूर्ण काम सकाउने समयसीमा आउँदो पुसको पहिलो दिन हो । पुसको दोस्रो सातासम्म परीक्षण समेत सकाउनुपर्ने उनले बताए ।
“कामै सम्पन्न गर्ने पुसको १, २ गतेको हो । टेस्टिङको लागि भनेर पुस १६ सम्मको म्याद थप गर्ने निर्णय गरेका हौँ,” उनले भने ।
संसदीय समितिको भवन असोज दोस्रो साता हस्तान्तरण गरिने उनले सुनाए । अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन निर्माण पनि असोज दोस्रो साता सकाउने उनले बताए ।
प्रतिनिधिसभा भवन निर्माण मंसिरको दोस्रो साता सकाउने लक्ष्य छ । राष्ट्रियसभा भवन निर्माण पनि मंसिरको दोस्रो सातासम्म सकाइने उनको भनाइ थियो ।
“प्रतिनिधिसभा भवन मंसिरको दोस्रो साता सकिन्छ । हलहरू विशेष गरी मंसिरको दोस्रो सातामा सकिन्छ भने अरू काम मंसिर दोस्रो सातासम्म सकिन्छ,” उनले भने, “राष्ट्रियसभा भवन पनि मंसिरको दोस्रो सातामा सिभिलको काम सकिन्छ भने पुसको दोस्रो सातामा अर्को कन्ट्याक्ट कम्प्लिट हुन्छ ।” न्युज एजेन्सी नेपाल
WRITE COMMENTS FOR THIS ARTICLE