अमेरिकाबाट डेढ वर्षमा ११ नेपाली अपराधी डिपोर्ट
अमेरिकामा अपराधमा दोषी ठहर भएर देशनिकाला हुने नेपालीमध्ये सबैभन्दा धेरै यौन दुर्व्यवहारका घटनामा दोषी ठहर भएकाहरू रहेको पाइएको छ। खसोखासले फ्रिडम अफ इन्फर्मेसन एक्टको प्रयोग गरी आइसबाट प्राप्त गरेको विवरणअनुसार डेढ वर्षको अवधिमामात्र ११ जना नेपालीहरू अमेरिकाबाट विभिन्न अपराधमा दोषी ठहर भएर देशनिकाला (डिपोर्ट) भएका छन्। जसमध्ये ७ जना नेपालीहरू अमेरिकामा यौन दुर्व्यवहारका घटनामा दोषी ठहर भएपछि देशनिकालामा परेका छन्। उनीहरूमध्ये ४ जना बालबालिकासँग यौन दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर भएकाहरू छन्।
यो रेकर्ड सन् २०२४ को फेब्रुअरी २७ देखि सन् २०२५ को जुलाई १५ सम्मको मात्र हो। यस रेकर्डमा देशनिकाला हुने व्यक्तिको उमेर हालको उमेरका आधारमा गणना गरिएको छ।
यौन दुर्व्यवहारका घटना
त्यस्तै, सन् २०२३ को अक्टोबर ११ मा यौन आक्रमण र शारीरिक दुर्व्यवहारको अभियोग लागेका एकजना ३९ वर्षीय नेपाली पुरुष सन् २०२४ को जुलाई २३ मा दोषी ठहर भएका थिए। सन् २०२५ को अप्रिल २४ मा उनलाई अध्यागमन अदालतले देशनिकालाको आदेश दिएपछि आइसले जुलाई १५, २०२५ मा उनलाई न्युयोर्कको जोन एफ. केनेडी विमानस्थलबाट नेपाल डिपोर्ट गरेको थियो।
त्यस्तै, गत मार्च ६ मा यौन दुर्व्यवहारकै अभियोगमा दोषी ठहर ३६ वर्षीय नेपालीलाई नेवार्क अन्तर्राष्ट्रिय विमानस्थल हुँदै डिपोर्ट गरियो। सन् २०२१ को जुन २९ मा अभियोग लागेपछि सन् २०२३ को जुलाई २४ मा यौन अपराधमा दोषी ठहर भएका उनलाई गत जनवरी १७ मा अदालतले देशनिकालाको आदेश दिएको थियो। सन् २०१५ को जुलाई १६ मा अमेरिका आएका उनी मेरिल्यान्डमा बस्दै आएका थिए।
सन् २०२४ को फेब्रुअरी २७ मा पनि नेवार्क अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एकजना नेपाली डिपोर्ट भए। उनीविरुद्ध नाबालिगको यौन शोषण र नाबालिगको प्रदर्शनी गरेको अभियोग थियो। उक्त अभियोग २०२१ को डिसेम्बर १३ मा लगाइएकोमा २०२२ को डिसेम्बर २ मा दोषी ठहर गरिएको थियो। ३० वर्षीय ती नेपालीविरुद्ध अध्यागमन अदालतले २०२३ को नोभेम्बर ९ मा देशनिकालाको आदेश दिएको थियो।
त्यस्तै, नाबालिगलाई अश्लील उद्देश्यका लागि च्याटमार्फत प्रलोभनमा पार्ने एक ३० वर्षीय नेपाली पुरुष सन् २०२४ को डिसेम्बर ९ मा अपराधमा दोषी ठहर भएपछि अध्यागमन अदालतले गत मार्च २७ मा देशनिकालाको आदेश दिएको थियो। उनीविरुद्ध सन् २०२१ को अगस्ट २३ मा नाबालिगलाई अश्लील उद्देश्यका लागि च्याटमार्फत प्रलोभनमा पारेको अभियोग लगाइएको थियो। सन् २०२० को जनवरी १३ मा अमेरिका प्रवेश गरेका उनी टेक्सासमा बस्दै आएका थिए भने गत जुन ३ मा भर्जिनियाबाट नेपाल डिपोर्ट भएका थिए।
मेरिल्यान्डमा बस्दै आएका अर्का ३५ वर्षीय नेपाली पुरुष पनि अनलाइनमार्फत नाबालिगको यौन शोषणको अभियोगमा सन् २०२४ को नोभेम्बर २४ मा दोषी ठहर भएपछि गत फेब्रुअरी १२ मा अध्यागमन अदालतले देशनिकालाको आदेश दिएको थियो। उनीविरुद्ध उक्त अभियोग २०२४ को मे ३० मा लागेको थियो। अदालतबाट देशनिकालाको आदेशपछि उनलाई आइसले एरिजोनाबाट जुन १० मा देशनिकाला गरेको थियो।
अन्य अपराधका घटना
जबरजस्ती घरमा प्रवेश गरेर डकैती गरेको अभियोगमा अर्का २८ वर्षीय नेपाली सन् २०२३ को मे महिनामा अदालतबाट दोषी ठहर भएका थिए। यद्यपि, अध्यागमन अदालतले उनलाई २०२० मा नै अमेरिकाबाट देशनिकालाको आदेश दिइसकेको थियो। देशनिकालापछि पनि अमेरिकामा नै बसेर डकैतीमा संलग्न उनलाई गत जुन १० मा एरिजोनाबाट नेपाल देशनिकाला गरिएको थियो।
त्यस्तै, जनवरी ७, २०२५ मा एकजना ३४ वर्षीय नेपाली पुरुष न्युयोर्कबाट नेपाल देशनिकाला भएका थिए। उनीविरुद्ध २०२४ को मार्च ३१ मा लागेको चोरीको अभियोगमा मे २६, २०२४ मा उनी दोषी ठहर भएपछि उनलाई अक्टोबर १, २०२४ मा अदालतले देशनिकालाको आदेश दिएको थियो। उनी सन् २०१० देखि अमेरिका बस्दै आएका थिए।
त्यस्तै, सन् २०१० को जनवरी १६ मा अमेरिका आएका एकजना ३७ वर्षीय नेपाली आएलगत्तै मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा सन् २०११ को मार्च २९ मा दोषी ठहर भएका थिए। उनलाई सन् २०१७ को जुलाई १९ मा अध्यागमन अदालतले देशनिकालाको आदेश दिए पनि उनी अमेरिकाभित्रै बस्दै आएका थिए। तर, गत फेब्रुअरी ३ मा उनलाई टेक्सासबाट नेपालको सट्टा कतार डिपोर्ट गरिएको आइसबाट प्राप्त रेकर्डमा उल्लेख छ।


WRITE COMMENTS FOR THIS ARTICLE