विशेष महाधिवेशनका लागि ५५ प्रतिशत हस्ताक्षर केन्द्रीय समितिमा बुझाउने तयारी
काठमाडौं – आवश्यक परे हस्ताक्षर बुझाएर पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने भन्दै नेपाली कांग्रेसभित्र महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन कार्य तिव्र बनाइएको छ।
पार्टीमा हालसम्म ५० प्रतिशतले हस्ताक्षर गरिसकेको र यो संख्या अझै बढ्ने केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन्। गौतमका केन्द्रीय समिति बैठक बस्ने समय परिवर्तन भएको कारणले पनि हस्ताक्षर गर्ने संख्या अझै बढ्ने जानकारी दिइन्। उनले कम्तीमा ५५ प्रतिशत हस्ताक्षर संकलन हुने संकेत देखिएको पनि बताइन्।
“५० प्रतिशत नाधिसक्यो र संख्या कम्तीमा पनि ५५ प्रतिशत नाध्छ भन्ने हाम्रो अनुमान छ। नजिकका जिल्लाहरूको हस्ताक्षर संकलन भएपश्चात् यकिन तथ्यांक आउँछ‚” उनले भनिन्। १० पटक संसोधन भएको पार्टी विधानको दफा १७ को २ मा ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ’ भनि लेखिएको छ।
२३ र २४ को जेनजी विद्रोह पश्चात् कांग्रेसभित्र नेतृत्व परिवर्तन हुनुपर्ने बहस छ। जुनसुकै हालतमा पनि पार्टी सभापति शेरबहादुर देउवा सहितको वर्तमान कार्यसमितिलाई विदा गरेर नयाँ कार्यसमिति चयन हुनुपर्ने माग कांग्रेसभित्र छ। २०७८ मंसिरमा १४औँ महाधिवेशन गरेको कांग्रेसले अबको दुई महिनाभित्र नियमित महाधिवेशन गर्नुपर्ने हुन्छ।
तर‚ क्रियाशील सदस्यता नवीकरण कार्य सम्पन्न भइसकेको छैन। नयाँ सदस्यता वितरण कार्यको सुरुआत नै भएको छैन। यस्तोमा दुई महिनाभित्र महाधिवेशन हुन्छ त भन्ने प्रश्न छ। पार्टीमा केही दिनदेखि जारी कार्यसम्पादन तथा पदाधिकारी बैठकहरूमा नियमित महाधिवेशन गर्नुपर्ने बहस भइरहेको छ।
अब बस्ने केन्द्रीय समितिले नियमित महाधिवेशनको मिति तोक्नुपर्ने माग कांग्रेसभित्र छ। त्यसैले केन्द्रीय समितिले नियमित महाधिवेशनको मिति घोषणा नगरे हस्ताक्षर बुझाएर विशेष महाधिवेशनमा जाने तयारी पार्टीमा छ।
यसैबीच पार्टीले केन्द्रीय समिति बैठकको म्याद परिवर्तन गरेको छ। पार्टीको शनिबार बसेको कार्यसम्पादन समिति बैठकले दुई दिनपश्चात् अर्थात् २८ असोजबाट केन्द्रीय समितिको बैठक बस्ने गरी समय सारेको हो। पार्टी प्रवक्ता प्रकाशशरण महतले तय भएको बैठक केन्द्रीय कार्यसम्पादन समिति बैठक नसकिएकोले सार्नुपरेको जानकारी दिए। https://nepalnews.com/2025/10/12/preparations-within-the-congress-to-submit-at-least-55-percent-of-signatures-to-the-central-committee/?utm_source=nepalipatro&utm_medium=np_mobile&utm_campaign=np_news


WRITE COMMENTS FOR THIS ARTICLE