विपिन जोशी सहित २२ जना जीवित बन्धकको सूची हमासद्वारा सार्वजनिक

काठमाडौं । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएसँगै गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको छ । उक्त सूचीमा नेपालका विपिन जोशीको नाम पनि समावेश छ ।
यसअघि विपिनसहित २ जनाको अवस्था अज्ञात रहेको भनी अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले समाचार प्रकाशित गरेको भएपनि अहिले टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा विपिन पनि नाम उल्लेख छ ।
प्यालेस्टाइनको गाजाबाट बन्धकको रिहाइ सोमबार बिहान सुरु हुने अपेक्षा गरिएको छ । यद्यपि, समयका विषयमा केही अनिश्चितता कायमै रहेको टाइम्स अफ इजरायलले जनाएको छ ।
बिहीबार भएको युद्धविराम सम्झौताका सर्तअनुसार, इजरायली रक्षा बल ९आईडीएफ०लाई गाजाबाट आफ्नो प्रारम्भिक सैनिक फिर्ता गर्न २४ घण्टाको समय दिएको थियो । सैनिक फिर्तापछि हमासलाई ४८ बन्धक रिहा गर्न ७२ घण्टाको समय दिइएको छ । आईडीएफले शुक्रबार दिउँसोसम्म सेना फिर्ता गरिसकेको छ । योसँगै ७२ घण्टाको अवधि सुरु भएको छ । बन्धकको बदलामा इजरायलले करिब दुई हजार प्यालेस्टाइनी बन्दी रिहा गर्नेछ यदि, परिस्थिति अनुकूल भएमा रिहाइ आइतबार राति नै सुरु हुन सक्ने रिपोर्टमा अगाडि भनिएको छ । बन्धक हस्तान्तरणको समन्वय गर्न लागेको अन्तर्राष्ट्रिय रेडक्रस समितिसँग वार्ता जारी रहेको उक्त नेटवर्कले जनाएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE