एमाले विभाजनको ‘ह्याट्रिक’
डा. प्रदीप भट्टराई

विद्यादेवी भण्डारीको एमाले सदस्यता नवीकरणलाई लिएर एमालेमा जुन किसिमको तरङ्ग पैदा भएको छ, त्यो थामिनेभन्दा फैलिने क्रम जारी छ । एकातिर पार्टी सुप्रिमो ओली विद्यादेवीलाई एमालेमा प्रवेश नै नदिन अनेक हत्कण्डा लगाइरहेका छन् भने अर्कोतिर विद्यादेवी पार्टी सदस्यता नवीकरण गरेर पछाडि फर्कदै नफर्किने भन्दै अगाडि बढिरहेकी छन् ।
यतिबेला एमालेमा ओली र विद्यादेवी १८० डिग्रीको समानान्तर यात्रामा छन् । अर्को भाषामा भन्दा कुनै बेला ६३ को यात्रा गरेको यो जोडी अहिले ३६ को यात्रामा छ । धेरैजसो एमालेहरू पनि आआफ्नो कित्ता बनाएर उनीहरूको पछाडि लागिरहेका छन् । केहीलाई यो उल्टो यात्रालाई बिनासकाले विपरित वुद्धि लागेको छ, उनीहरू चिन्ताका साथ बाटोछेउ लागेका छन् ।
यो यात्राको पछिल्लो शक्ति प्रदर्शन गत साता काठमाडौंमा देखापर्यो । विद्यादेवीले ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय उद्घाटन गरिन् । मदन भण्डारी फाउण्डेसनको ब्यानरमा गठित समितिकी संरक्षक हुन् विद्यादेवी । भनिन्छ, च्यासलमा ओलीले भोटेताल्चा लगाइदिएपछि विद्यादेवीले सम्पर्क कार्यालयका रूपमा यो रातो घरको ताला खोलेकी हुन् ।
संजोग नै भन्नुपर्छ, विद्यादेवीले कृष्णप्रसाद भट्टराईलाई काठमाडौं १ को उपनिर्वाचनमा हराउन यही रातो घरलाई चुनावी कार्यालय रोजेकी थिइन् । एमालेले विद्यादेवीका कुनै पनि कार्यक्रममा सहभागी नहुन एमाले नेता, कार्यकर्तालाई उर्दी जारी गरेको छ । तर, त्यसलाई पूर्णतः बेवास्ता गर्दै ठूलो संख्यामा एमाले नेता-कार्यकर्ताहरू रातो घरमा भेला भए ।
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नै प्रमुख वक्ताका रूपमा सहभागी भए । उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे मञ्चमै आसन ग्रहण गर्न पुगे । पार्टीका दर्जनौ केन्द्रीय नेताहरू पनि कार्यक्रममा सहभागी भए ।
एमालेका वरिष्ठ उपाध्यक्षसहित पार्टीका उच्च तहका नेताहरूको यो सहभागिता ओलीविरूद्ध एक किसिमको खुला बिद्रोह त हो नै, ठाडो चुनौति पनि हो । यसबाट भण्डारी पक्षमा उत्साह देखिएको छ भने ओली पक्ष किंकर्तव्यविमूढको अवस्थामा छ । अरू दमन गरौ, विस्फोट हुने खतरा छ । दमन नगरौ, भण्डारीको रथयात्रा रोकिने छाँट देखिँदैन ।
एमालेलाई ओमाले बनाइसकेका ओलीले उनका विरूद्ध पार्टीमा यो स्तरको विद्रोह होला भन्ने सोचेकै थिएनन् । तर, भयो । अझ, सभामा विद्यादेवीले एमाले केन्द्रीय कार्यालय च्यासलतिर फर्केर ‘च्यासलले आफ्नो संगठित सदस्यता खोस्न नसक्ने उद्घोष मात्र गरिनन्, ‘पछाडि फर्कन हैन, अगाडि बढ्न एमाले सदस्यता नवीकरण गरेको’ समेत भन्न भ्याइन् । पार्टीका बरिष्ठ उपाध्यक्ष पोखरेलले त ओलीले जनताको बहुदलीय जनवादको धज्जी उडाएको आरोप लगाउँदै उनको र एमालेको भलोको लागि ओलीले नेतृत्व छोड्नुपर्ने बताए ।
उता, ओलीले विद्यादेवीको भनाइ भुइँमा खस्न नपाउँदै दन्त बजान गर्न भ्याइहाले, ‘तपाईंसँग सदस्यता नै छैन भने कहाँबाट नवीकरण हुन्छ । उहाँले २०७२ साल कात्तिक १२ कि १३ गते सदस्यता छाडेको हो । त्यसयता उहाँको सदस्यता छैन। पार्टी सदस्यता नवीकरण गर्ने हो भने उहाँले पार्टीमा निवेदन दिनुपथ्र्यो। कार्यालय आएर दर्ता चलानी फाँटबाट नवीकरण गरेँ भनेर शुल्क तिर्दैमा सबैको सदस्यता नवीकरण हुन्छ ?’ ओलीले भने ।
विद्यादेवीको पार्टी सदस्यता यो वर्षमात्र हैन, गत वर्षदेखि नै नवीकरण हुँदैआएको छ। एमाले केन्द्रीय कार्यालय र संगठन विभाग यसका बारेमा पूरापूर जानकार छ । संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले त सदस्यता नवीकरण गरेर गल्ती गरेको भनेर ओलीसामु उठबस नै गरिसकेका छन् । यति धेरै सुस्पष्ट जानकारी वाचाल ओलीलाई थाहा नहुने कुरै भएन । तर विडम्बना, जब विद्यादेवीले अध्यक्ष हुन नै पार्टी सदस्यता नवीकरण गरेको भनिन्, त्यसपछि भने ओलीको होश उड्यो र सदस्यता नवीकरण गरेको पनि बिर्सन थाले ।
यतिबेला ओली बर्बराइरहेका छन् । यो क्रममा उनले मदन भण्डारीलाई सहकारी ठग र चारवटा श्रीमती ल्याएको मात्र भनेका छैनन्, उनलाई पार्टी महासचिव पनि आफूले नै बनाएको भन्न भ्याइसकेका छन् । त्यति मात्र हैन, जनताको बहुदलीय जनवादको वास्तविक सूत्रधार पनि आफू नै भएको दावी गरे । विद्यादेवीलाई त भन्न नै केही बाँकि राखेका छैनन् । यतिसम्म कि कुनै समय आफ्नो राजनीतिक बैतरणी तार्ने मदन भण्डारी फाउण्डेसनलाई नै विद्यादेवीले मागी खाने भाडो बनाएको सम्म भन्न भ्याइसके ।
ओलीको यस्तो अस्वभाविक बर्बराहटले एमालेवृतमा चिन्ताको पारो ह्वात्तै बढाएको छ । ओलीका भारदारहरूको अनुहार चाउरेको मरिचजस्तो देखिन्छ । उनीहरू ओलीको भक्तिगान त गाइरहेका छन् तर विद्यादेवीलाई मन खोलेर गाली गर्न पनि पाइरहेका छैनन् । पद, पैसा र प्रतिष्ठाका लागि ओलीका पछि लागेका लोभी–पापीहरूको भविष्य पनि धरापमा छ । उनीहरू नै भन्न थालिसके, यो पाराले त उभो लागिदैन । एमालेको भलो चाहने नेता कार्यकर्ताहरू मुख खोलेरै ओली भर्सेज विद्यादेवी दन्तबजान बन्द गर्न भनिरहेका छन् । उनीहरूको प्रश्न छ, एकातिर मिशन ८४ भन्दै बहुमत ल्याउनुपर्ने, अर्कोतिर यस्तो रडाको मच्चाउने, यसरी त कसरी बहुमत आउँछ ?
हुन पनि हो, यो क्रम बढ्दै जाने हो भने २०८४ पहिले नै एमाले दुर्घटनामा पर्छ । त्यो भनेको एमाले विधिवत रूपमै विभाजित हुन्छ । अहिले हेर्दा ओली नै ठूलो चोइटो हुने देखिन्छ तर समयक्रममा त्यसको पनि कुनै निश्चित छैन । मदन भण्डारीको जनताको बहुदलीय जनवाद मान्ने पार्टीको ठूलो पंक्ति विद्यादेवीको पक्षमा जाने पक्का छ । त्यसपछि जबज बिनाको बेवारिसे ओलीको एमालेलाई बहुमत त धैर टाढाको कुरा, दोस्रो दल हुन पनि हम्मे हम्मे पर्छ ।
यसैबीच, एमालेले विधान अधिवेशनको तयारीका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेले विद्यादेवीको सदस्यता नवीकरणका सम्बन्धमा फरक प्रस्ताव लैजाने भएका छन् । त्यति मात्र हैन, उनीहरूले ७० वर्षे उमेर सिमा र दुई कार्यकालको एजेण्डालाई विधान अविवेशनमै लैजाने बताएका छन् । यसअघि यी तीनै मुद्दामा फरक मत राखेका उनीहरूको मत संस्थापन पक्षले अन्तर पार्टी निर्देशनमा समावेश गरेन । त्यसविरूद्ध उनीहरूले पार्टी केन्द्रमा विरोधपत्र नै दर्ता गराए ।
ओली जसरी पनि ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव विधान अविवेशनमा पारित गराउन र विद्यादेवीलाई पार्टी प्रवेशमा प्रतिबन्ध लगाउन चाहन्छन् । यसो गरियो भने मात्र एमाले उनले चाहेजस्तै ओमाले मात्र हुदैन, पार्टीमा उनको एकछत्र पनि कायम हुन्छ । तर, विद्यादेवी पक्ष यी तीनै प्रस्ताव असफल बनाउन चाहन्छ । यी प्रस्ताव असफल हुनसाथ दुई कार्यकाल अध्यक्ष भैसकेका ७२ वर्षे ओली स्वतः एमालेको सक्रिय राजनीतिबाट बिदा हुन्छन् । त्यसपछि सकेसम्म सम्मत नभए चुनावबाटै पनि विद्यादेवी एमाले अध्यक्ष हुन सक्छिन् ।
एमालेमा ओली विद्याको रथ रोक्न खोज्ने तर विद्यादेवी रोकिदै नरोकिने, यो क्रिया–प्रतिक्रिया जारी छ । एक किसिमको द्वन्दकै रूप लिइसकेको यो क्रम अब पार्टी केन्द्रमा मात्र सीमित छैन, विस्तारै प्रदेश, जिल्ला हुँदै सहर-गाउँसम्मै पुग्दैछ । यसले एमालेलाई मानसिक रूपमा दुई फग्ल्याटा पारिसकेको छ । अहिलेका लागि पार्टी र सरकार दुबैको सत्तामा रहेकाले स्वभावतः ओलीको फग्ल्याटा ठूलो छ । तर, ओलीको बोलीमा लगाम नलाग्ने हो र यही किसिमको बर्बराहट जारी रहने हो भने कुनै पनि बेला ओली फग्ल्याटो सानो हुन सक्छ ।
एमालेको आसन्न विधान अधिवेशन ओलीले सोचेजस्तो सजिलो हुनेला छैन । विद्यादेवी पक्षका लागि यो अधिवेशन जीवन–मरणको प्रश्न हो । अधिवेशनले एमालेका लोकप्रिय नेता तथा जबजका परिकल्पनाकार मदन भण्डारीकी पत्नी विद्यादेवीलाई एमालेबाट निस्कासन गर्ने कि नगर्ने भन्ने प्रश्नको छिनोफानो गर्नुपर्ने हुन्छ । एमालेको जीवनमा यो सहज प्रश्न हैन । यो प्रश्नको उत्तर दिनेबेलामा एमालेका विधान अधिवेशनका प्रतिनिधिहरूले गम्भिरतापूर्वक सोच्नुपर्ने हुन्छ ।
उनीहरूका सामु ओली र मदनमध्ये एक छान्नुपर्ने जटील प्रश्न हुन्छ । अहिलेको सन्दर्भमा विद्यादेवी भनेको मदनको राजनीतिक विरासत र जवजकी उत्तराधिकारी हुन् भन्दा अत्युक्ति हुँदैन । यो स्थापित सत्य हो, खड्गप्रसादको अतिले किनारा लाग्नेखालको सत्य नै हैन ।
अब प्रश्न उठछ्, कदमकदाचित एमालेको विधान अधिवेशन ओलीको जम्बोरी भएर गत केन्द्रीय समितिले पारित गरेका तीन प्रस्तावहरू नै हुबहु पारित गर्यो रे, त्यसपछि के हुन्छ रु त्यसपछि हुने भनेको एमालेको विनाशको अर्को सिलसिला सुरू हुने हो ।
त्यसपछि विद्यादेवीका सामु दुईवटा बाटो बाँकि हुन्छन् । पहिलो बाटो, एमालेमै रहन नवीकरण भैसकेको पार्टी सदस्यताको वैधानिकताका लागि सर्वोच्च अदालत जाने । सर्वोच्च अदालतमा कांग्रेस कोटामा नियुक्त श्रीमानको इजलासमा मुद्दा पुग्यो भने विद्यादेवीको पक्षमा फैसला हुन्छ, एमाले कोटाका श्रीमानको इजलाशमा पुग्यो भने ओलीको पक्षमा फैसला हुन्छ । यसो हुनुको पछाडि राजनीतिक नाफा–घाटाको कुरा हुन्छ ।
विद्यादेवीलाई एमालेमा अटाउन सकियो भने एमालेमा अन्तरद्वन्द बढ्छ, त्यसले स्वभावतः कांग्रेसलाई लाभान्वति हुन्छ । कथमकदाचित एमाले श्रीमानको इजलाशमा मुद्दा पर्यो र विद्यादेवीको सदस्यता नवीकरण हुन नसक्ने फैसला आयो भने उनका सामु फेरि पनि दुईवटा बाटा बाँकी हुन्छन्, एउटा एमाले महाधिवेशनमा आफ्ना पक्षधरको प्यानल उठाएर ओलीलाई चुनौति दिने । तर, ओमाले भैसकेको एमालेमा यो चुनौति खासै काम लाग्दैन । त्यसपछिको बाटो भनेको अर्को पार्टी गठन गर्ने नै हो ।
विधान अधिवेशनले सदस्यता कायम गरिदिएन भने विद्यादेवीको लागि यो लामो बाटो हिड्नुभन्दा सुरूमै अर्को पार्टी गठन गर्ने विकल्प पनि बाँकि रहन्छ । उनी यो बाटो पनि लिन सक्छिन् तर उनका लागि एमालेको महाधिवेशनसम्म पर्खनु उपयुक्त हुन्छ । महाधिवेशनमा ओलीले एकलौटी गरेपछि उनको कोटामा नपरेका थुप्रै लोभीपापीहरू विद्याको पक्षमा लाग्न सक्छन् । त्यसलगतै नयाँ पार्टी गठन गरिन् भने उनको पार्टी तागगदार हुन सक्छ ।
राजनीतिक नाफा–घाटाको हिसाब किताब आफ्नो ठाउँमा हुँदैगर्ला । तर, ओलीको लिढेलिपी र निरंकुशतामा कुनै कमी आएन भने एमालेलाई विभाजन हुनबाट कसैले पनि रोक्न सक्दैन । प्रश्न ढिलो चाँडोको मात्र हो, ढिलोमा २०८४ को आमचुनाव अघि नै एमाले विभाजित भैसकेको हुनेछ ।
एमालेको यो विभाजन विभाजनको ह्याट्रिक हुने छ । २०५४ सालमा पहिलोपटक विभाजन भएको एमाले २०७७ सालमा दोस्रोपटक विभाजन भएको थियो । पहिलोपटक सीपी–वामदेवलगायतका नेताहरू महाकाली सन्धीको विपक्षमा उभिदा एमाले विभाजन हुन पुगेको थियो । पछि, विभाजित ठूलो हिस्सा एमाले फर्के पनि त्यसले एमालेको दिशा र दशामा ठूलो असर पारेको थियो ।
अझै पनि सीपी मैनालीलगायतका धेरै नेता कार्यकर्ताहरू एमाले बाहिरै छन् । सीपीको नेतृत्वमा अहिले पनि नेकपा माले क्रियाशील नै छ । त्यसपछि २०७८ मा दोस्रोपटक एमालेबाट माधव-झलनाथ-वामदेवलगायतका नेतासहितको ठूलो पंक्ति बाहिरियो । अहिले त्यो पंक्ति नेकपा (एकीकृत समाजवादी)का रूपमा क्रियाशील छ । सुरूवाती चरणमा नेकपा एसमा समाहित केही नेता-कार्यकर्ता एमालेमा फर्केपनि त्यसले एमालेको गति र विकासलाई सोधभर्ना गर्न सकेको छैन र कहिलै गर्दैन पनि ।
एमालेको यी दुबै विभाजनका लागि केपी ओली नै निर्णायक थिए । २०५४ को पहिलो विभाजनमा उनी सकुनीको भूमिकामा थिए । भारतीय गुप्तचर संस्था रअको गुडबुकमा रहेका उनले नाटकीय रूपमा एमालेलाई महाकाली सन्धीको पक्षमा उभ्याए । यही नै एमाले विभाजको कारण थियो । २०७८ को दोस्रोपटकको विभाजनको समयमा त ओली एमाले अध्यक्ष नै थिए, पार्टी विभाजनका लागि धृतराष्ट्रकै भूमिका निर्वाह गरे ।
अब एमाले तेस्रोपटक विभाजन हुँदापनि ओलीकै अतिवादले विभाजन हुने हो । योसँगै एमाले विभाजनको ह्याट्रिक नै पूरा हुनेछ । फुटबलको भाषामा भन्दा यी तीनै विभाजन एमालेका शर्मनाक हार हुन् । तीनमध्ये दुई हारका कप्तान र तेस्रो हारका स्ट्राइकर हुन् ओली । यो कोणबाट हेर्दा उनी एमालेका धुन्धुकारी नै हुन् । उनको यो कुकर्मबाट एमाले त नोक्सानमा पर्यो नै, नेपालको वामपन्थी शक्ति पनि मजबुत हुन सकेन ।
कामना गरौं, ओलीलाई छिट्टै सद्वुद्धि प्राप्त हुने छ । र, ७० वर्षे उमेर सीमा र दुई कार्यकालको वैधानिक व्यवस्था लागु गराएर एमालेको सक्रिय राजनीतिबाट विदा लिनेछन् । त्यसो भयो भने स्वभावतः एमालेको नेतृत्व परिवर्तन हुनेछ । सकिन्छ, युवा नेतृत्व ल्याए भयो, सकिदैन जो आए पनि नयाँ नेतृत्व नै हुने हो । त्यसो गरियो भने विद्यादेवी पनि पूर्वराष्ट्रपतिकै थान्कोमा बसे हुन्छ ।
उनले जे गर्न सक्थिन् गरिसकिन्, जे पाउँनुपर्ने थियो, त्योभन्दा बढी नै पाइसकिन् । हैन, ओलीले विद्यादेवीकै लागि मात्र छोड्ने हो भने उनैलाई नेतृत्व दिए हुन्छ । त्यसो गर्दा, एमालेले पहिलो महिला अध्यक्ष पाउँनेछ । राष्ट्रपति भैसकेकी विद्या पहिलो महिला प्रधानमन्त्री पनि हुन सक्छिन् । एमालेको खातामा आउने यी सबै उपलव्धीको मूल श्रेय ओलीले नै पाउँनेछन् ।
विद्यादेवी एमाले अध्यक्ष हुँदा वामपन्थी सहकार्य र एकताको बाटो खुल्न सक्छ । त्यसले दक्षिणपन्थीहरूलाई पनि सहकार्यका लागि बाध्य बनाउँछ । यसबाट अन्ततः देशमा वैचारिक आधारमा दुई ध्रुवीय ध्रुवीकरण हुन्छ । देशको मजबुती र समृद्धिका लागि वैचारिक आधारमा दुईदलीय ध्रुवीकरणको विकल्प छैन । तर, यसो गर्दा ती दलहरूमा अन्तरपार्टी लोकतन्त्र भने मर्नु हुँदैन, अरू समृद्ध हुनुपर्छ ।
यो सबै सम्भावनाको ढोकामा पहरा दिइरहेका छन् ओली । उनले चाहे भने त्यो ढोका खुल्नेछ । अन्यथा, एमालेलाई विभाजनको ह्याट्रिक पूरा गर्नबाट कसैले पनि रोक्न सक्दैन । सुन्दा एमालेजनलाई अप्रिय लाग्ला, तर ढिलो/चाँडो समयको ऐनामा देखिने दृश्य यही हो । त्यसका लागि बाँच्नु चाहिँ पर्छ नै, बाँचे देखिहालिन्छ । (दृष्टी न्यूज)
WRITE COMMENTS FOR THIS ARTICLE