बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

माओवादी केन्द्रको स्थायी समिति बैठक भोलिदेखि सुरु हुँदै

काठमाडौं – नेकपा(माओवादी केन्द्र)को स्थायी समिति बैठक एक वर्षपछि शुक्रबार(भोलि)देखि सुरु हुँदैछ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकका लागि माओवादीले एजेण्डा तय गरिसकेको छ । बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँच वटा एजेण्डा तय गरेको थियो ।

पछिल्लो समय पार्टीभित्र चर्किँदै गएको अन्तरविरोध कसरी हल हुन्छ भन्ने विषयमा निकै चासोपूर्वक हेरिएको छ । नेकपाका संस्थापक पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चलेको थियो ।

हिजोको बैठकमा सचिव लिलामणि पोखरेलले पार्टीको आन्तरिक विवाद बाहिर पोखिन पुगेको विषयमा नेतृत्वको ध्यानाकर्षण गराउँदै कसरी अन्तरविरोध हल गर्ने भनेर प्रश्न गरेका थिए ।

पोखरेलको प्रश्नको जवाफ दिँदै प्रचण्डले स्थायी समिति बैठक नै बोलाइसकेको अवस्थामा अन्तरविरोधबारे कुनै छलफल नहुने बताएका थिए । अन्तरविरोध सम्बन्धमा एजेण्डाकै रूपमा प्रस्ताव गर्ने भनिए पनि यस विषयमा कुनै छलफल नभएको संस्थापन पक्षका एक नेताले बताए ।

ती नेताका अनुसार पार्टीले तय गरेको एजेण्डा बाहेक अन्य कुनै तयारी नभएको स्पष्ट पारे । पछिल्लो केन्द्रीय समिति बैठकले हल गरेको विषयलाई उपमहासचिव शर्माले विवादको रूपमा बाहिर ल्याएकोमा असन्तुष्टि पोखे ।

‘केहि नेतालाई विधि, विधानको कुनै मतलब छैन । थर्काएर हुन्छ वा के गरेर हुन्छ आफ्नै अडान लाद्न खोज्ने प्रवृत्ति छ । त्यो प्रवृत्ति तोड्नुपर्छ । पछिल्लो केन्द्रीय समिति बैठकले अन्तरविरोध हल गरेको थियो । उठाएका मागहरू पुरा भएकै थिए । तर, बाहिर लगेर जसरी विवादलाई छताछुल्ल पारिएको छ, त्यो गलत हो । स्थायी समिति बैठकले नै अन्तरविरोध व्यवस्थापन गर्छ’, ती नेताले भने ।

गत वर्ष साउन २६ गते स्थायी समिति बैठकमा उपमहासचिव शर्माले पार्टी निर्माण र नेतृत्व हस्तान्तरणसम्बन्धी १४ बुँदे प्रस्ताव पेस गरेका थिए । शर्माको प्रस्तावलाई पुस २० देखि २३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले हल गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

बैठकको निर्णय कार्यान्वयन नभएको भन्दै उपमहासचिव शर्माले असन्तुष्टि जनाउँदै आएका छन् । शर्मा निकट एक नेताका अनुसार अघिल्लो एजेण्डा नै बाँकी रहेकाले यो पटक थप प्रस्ताव लैजाने तयारी देखिँदैन ।

‘अघिल्लो स्थायी समितिमा प्रस्ताव गरेको एजेण्डा नै कार्यान्वयन भएको छ । थप प्रस्ताव लगेर के अर्थ छ र ? पहिला सबैको कुरा सुनिन्छ । त्यसपछि के हुन्छ त्यतिबेलै कुरा हुन्छ । अहिले छुट्टै प्रस्ताव लैजाने कुनै तयारी छैन’, शर्मा निकट ती नेताले भने ।

पदाधिकारी बैठकले हेडक्वाटरको तर्फबाट अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारेमा ब्रिफिङ गर्ने, मध्यपहाडी केन्द्रित अभियानलाई निरन्तरता दिनेबारे छलफल हुने, केन्द्रीय समितिको बैठकबारे मिति तय गर्ने गरी एजेण्डा बनाएको छ ।

यस्तै समाजवादी मोर्चालाई थप विस्तार गर्ने, सङ्गठन निर्माण, कार्य विभाजन र आन्तरिक एकतालाई सुदृढीकरण गर्ने, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप, संसद्‌मा विचाराधीन विधेयक, जनजीविका लगायत समसामयिक प्रस्ताव तयारसम्बन्धी एजेण्डा बनेको छ ।

यद्यपि केन्द्रीय समिति बैठक कार्तिकमा  मात्र बस्ने सचिव चक्रपाणि खनालले जानकारी दिए । भदौमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको बाँकी काम सक्ने र त्यसलगत्तै दशैँ–तिहार जस्ता चाडपर्व भएकाले कार्तिकतिर बैठक बस्ने उनले बताए ।

‘भदौमा अभियान सम्पन्न गर्ने भनिएको छ । असोजमा दशैँतिहार लगायत चाडपर्व पर्छ । त्यस हिसाबले कात्तिकतिर बैठक बस्छ । सोही बैठकले महाधिवेशनको मिति घोषणा गर्छ’, उनले भने ।

उपमहासचिव हरिबोल गजुरेलले शर्माले माग गरेको जस्तो विशेष महाधिवेशन भन्दा पनि केन्द्रीय समिति बैठकले नियमित महाधिवेशन बोलाउने बताए ।

‘नियमित महाधिवेशन गर्ने बेलामा विशेष महाधिवेशनको कुनै अर्थ छैन । भोलिदेखि बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक बोलाउँछ । सोही बैठकले नियमित महाधिवेशन बोलाउँछ’, उनले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x