रहेनन् वरिष्ठ कलाकार सुनील थापा
काठमाडौं – वरिष्ठ कलाकार सुनील थापाको निधन भएको छ। उनको हृदयाघातका कारण शनिबार बिहान निधन भएको हो।
शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयाघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो। उनको अस्पतालले निधन भएको घोषणा गरेको हो।
कलाकार थापाको निधनबारे केदार घिमिरे (माग्ने बुढा) ले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “वरिष्ठ कलाकार सुनील थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ। नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ। कला क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ । भावपूर्ण श्रद्धाञ्जली दाइ, वैकुण्ठ बास होस् ।”
कलाकार थापाले सयौँ नेपाली चलचित्रमा अभिनय गरेका छन्। उनले बलिउडका चलचित्रहरूमा समेत अभिनय गरेका छन्।
उनी नेपाली चलचित्र क्षेत्रमा ‘राते काइँला’ नामले परिचित छन्। बडीबिल्डर रजनी श्रेष्ठले पनि कलाकार थापा खिचेको तस्बिरसहति उनको निधनमा दु:ख व्यक्त गरेकी छन्। श्रेष्ठले फेसबुकमा लेखेकी छन्‚ “कला क्षेत्रमा हजुरको योगदान नेपाललगायत सारा विश्वमा सधैँ स्मरणीय रहनेछ। भावपूर्ण हार्दिक श्रद्धाञ्जली। हजुरसँग भेटघाटको कुराकानी रमाइलो थियो अब सम्झना मात्र बाँकी रह्यो।”


WRITE COMMENTS FOR THIS ARTICLE