आलम प्रकरणका घाइते भन्छन्,– श्रीमान म जिउँदै छु, म साक्षी होइन स्वयं प्रमाण हुँ
काठमाडौं – रौतहटको राजपुरमा भएको बम विस्फोटका मुख्य अभियुक्तसहित चार जनाले अदालतबाट सफाइ पाउँदा घटनाका जीवित पीडित गौरीशङ्कर राम भारतमा थिए। भारतीय नागरिक रहेका उनी जिल्ला अदालत रौतहटमा बयान दिएपछि उतै लागेका थिए।। जब महम्मद आफताव आलमसहितले सफाइ पाएको सुने उनी उता बस्नै सकेनन् र नेपाल आए।
२०६४ चैत्र २७ को घटनाका प्रत्यक्षदर्शी अनि घाइते समेत भएका उनी अहिले काठमाडौं आइपुगेका छन्। राजपुरमा चुनावको बुथ कब्जा गर्ने योजना बनाउनेक्रममा कांग्रेस नेता आलमको काकाको गोठमा बम बनाउनेक्रममा विस्फोटहुँदा दुई नेपाली युवाको ज्यान गएको थियो। राम त्यही विस्फोटका घाइतेमध्येका एक हुन्। शरीरभरि बमको छर्राको खत बोकेर काठमाडौं आइपुगेका उनले आफूले न्याय नपाएपछि भारतको सितामढीबाट काठमाडौं आएको बताए।
‘ठुलो आवाजमा बम पड्किएपछि मेरो जिउमा लाग्यो। अनि केही देखिन,’ उनले आइतबारको पत्रकार सम्मेलनमा भने ‘अनि भारतको सितामढी अस्पतालमा झुट बोलेर इलाज गराएँ। डाक्टरले कसरी लाग्यो यो भनेर सोध्दा बम पड्किएको भन्यो भने इलाज नहोला भनेर स्टोभ पड्किएको भने। अनि इलाज भयो।’
उनले अहिले जेनतेन जीवन यापन गरिरहेको भन्दै गर्मीको बेलामा पुरानो चोटले खत भए पनि गाह्रो हुने बताए। उनले नेपालमा अलि चिसो हुने भएकाले यहाँ काम गर्न सजिलो हुने बताए।
‘मलाई नेपालमा कहिले मार्छ भन्ने डर छ। सधैँ डर हुन्छ,’ उनले भने ‘जिल्ला अदालतमा पनि बयान गरेको थियो, त्यतिबेला पनि सुरक्षा घेरामा थिएँ। त्यसपछि भारत गएँ।’
उनले आफू घटनाको ज्यूँदो साक्षी भएको भन्दै उच्चको फैसला गलत भएको बताए। उनले त्यही घटनामा आफू जलेको भन्दै न्यायाधीशले कसरी त्यहाँ बम पड्किएको हैन भनेर फैसला गरेको हो भनेर आश्चर्य जनाए।
‘त्यसैमा म जलेको हो। उहाँले कसरी त्यहाँ बम नै पड्केको छैन भनेर भन्नुभयो?,’ उनले भने ‘म यहाँ जिउँदै छु। शरीर यस्तो अवस्थामा छ। साढे ३ महिना अस्पतालमा बस्नु परेको थियो।’
भट्टामा काम गरेको पैसा लिन जाँदा घाइते
राजा इट्टा भट्टामा काम गर्ने राम पैसा लिन आलमको घर जाँदा बमको छर्रा लागेर घाइते भएका थिए। तर उच्चले फैसला गर्दा यो पनि स्वीकार गरेन। भट्टामा काम गर्ने केही कर्मचारीले उनलाई चिन्दिन भनेकै आधारमा सफाइका लागि प्रमाणको रूपमा टेकेको थियो इजलासले। उच्चको इजलासले घटनामा मारिएका दुई युवा मारिएको कुनै प्रमाण नभएको भन्दै उनीहरू एक जना फरार रहेको र अर्को वैदेशिक रोजगारीमा रहेको दाबी गरेको थियो।
उक्त घटनामा आलम सहित उनका भाइ महम्मद महताब आलम, शेख सराज र बन्दी सहनीलाई रौतहट जिल्ला अदालतले जन्मकैदको सजाय दिएको थियो। तर जेठ १४ गते जनकपुर उच्च अदालतको वीरगन्ज अस्थायी इजलासले राजपुरमा २०६४ साल चैत्र २७ गते बम नै नपड्किएको भन्दै आलम सहितका आरोपीलाई निर्दोष साबित गरेको कारागार मुक्त गर्ने फैसला गरेको थियो।


WRITE COMMENTS FOR THIS ARTICLE