बजेट कार्यान्वयनमा समस्या: सरकार असक्षम कि योजना विहीन ?
११ महिना अगाडी
nagarik board
चालु आर्थिक वर्ष २०८०/०८१ सकिन अब केही दिन मात्र बाँकी हुँदा मुलुकको बजेट कार्यान्वयनको अवस्था फेरि एकपटक आलोचना र चिन्ताको विषय बन्न पुगेको छ । नेपालको संघीय संसदीय व्यवस्थाको कार्यान्वयन र सरकारको संरचनात्मक बलियोपनका बाबजुद पनि विकास खर्चको गति आशानुकूल देखिएको छैन । यस आर्थिक वर्षमा सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेजस्ता संसदका दुई ठूला दल मिलेर गठन गरिएको सरकारको अपेक्षित प्रभाव बजेट कार्यान्वयनमा नदेखिनु सरकारप्रतिको जनआस्थामा गम्भीर प्रश्न खडा गरिरहेको छ । यो अवस्था केवल संयोग वा समयको अभावले भएको होइन बरु संरचनागत समस्या कार्यान्वयन तहको लाचारी तथा नीतिगत अलमलको प्रतिबिम्ब हो ।
-रमेश कुमार बोहोरा
विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि पुँजीगत खर्च अत्यन्त कमजोर देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत बजेटमध्ये जेठ मसान्तसम्म जम्मा १ खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ मात्रै खर्च भएको देखिन्छ । यो खर्च कुल वार्षिक लक्ष्यको केवल ४०.७ प्रतिशत हो जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको खर्च ४४.६८ प्रतिशतभन्दा पनि कम हो । यसरी हेर्दा बजेट खर्चको अवस्था सुधारोन्मुख नभएर निरन्तर घट्दो छ । विशेषगरी भौतिक पूर्वाधार, सिँचाइ, सहरी विकास, ऊर्जा, खानेपानी, कृषि आदि विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूले अपेक्षित खर्च गर्न नसकेको पाइन्छ । यी मन्त्रालयहरूको औसत पुँजीगत खर्च ३२ प्रतिशत हाराहारीमा सीमित छ । कुल मन्त्रालयहरूमध्ये १९ मन्त्रालयले आधा खर्च गर्न पनि नसकेको तथ्याङ्कले देखाउँछ भने ६ मन्त्रालयको पुँजीगत खर्च २० प्रतिशतभन्दा कम छ । यसबाट सरकारी संयन्त्रमा कार्यान्वयन क्षमताको गम्भीर प्रश्न उठ्न थालिसकेको छ ।
तर खर्च मात्र कमजोर भएको छैन स्रोत संकलन पनि अपेक्षाकृत निकै न्यून देखिएको छ । चालु वर्षको सुरुमा सरकारले राजस्व संकलनको लक्ष्य १४ खर्ब १९ अर्ब रुपैयाँ राखेको थियो । तर जेठसम्ममा जम्मा १० खर्ब १५ अर्ब संकलन भएको छ । यो आँकडाले लक्ष्यभन्दा राजस्व करिब ४ खर्बले कम उठेको देखाउँछ । यद्यपि गत वर्षको तुलनामा राजस्व ११ प्रतिशतले वृद्धि भएको देखिए पनि लक्षित संख्याबाट निकै पछाडि परेको हो । सुरुमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले ल्याएको राजस्व लक्ष्यलाई वर्तमान अर्थमन्त्री विष्णु पौडेलले संशोधन गर्दै १२ खर्ब ६७ अर्बमा झारेका थिए । तर त्यही संशोधित लक्ष्यभन्दा पनि असुली कम हुनु अर्को चिन्ताजनक संकेत हो ।
बजेटमा आश्रित अन्य स्रोतहरू पनि अत्यन्त कमजोर अवस्थामा छन् । वैदेशिक अनुदानको सन्दर्भमा चालु वर्षमा साढे ५२ अर्ब रुपैयाँ आउनुपर्ने भनिएकोमा अहिलेसम्म जम्मा १७ अर्ब मात्रै आएको छ । यस्तै वैदेशिक ऋण पनि आधाभन्दा कम मात्रामा भित्रिएको छ । वैदेशिक सहयोगमा यति ठूलो खाडल भएपछि सरकारले खर्च चलाउन आन्तरिक ऋण लिने उपायमा निर्भर रहनुपरेको छ । जेठसम्म आन्तरिक ऋण उठाउने लक्ष्य लगभग पूरा भए पनि त्यसले दीर्घकालीन दायित्व थप्ने खतरा बोकेको छ ।
संविधान संशोधन, सुशासन र आर्थिक सुधारका गम्भीर घोषणाहरू गर्दै गठन गरिएको शक्तिशाली सरकारको यो अवस्था केवल कार्यान्वयनको कमजोरी मात्र नभएर नीति निर्माणको चरम असफलता पनि हो । सरकारले न त संविधान संशोधनको दिशामा सार्थक प्रयास गर्यो न त आर्थिक क्षेत्रमा कुनै ठोस सुधार ल्याउन सकेको देखियो । सुशासनका क्षेत्रमा पनि भ्रष्टाचारको निरन्तर बढ्दो आरोप खेपिरहँदा सरकार जनविश्वासमा नै असफल भएको संकेत दिन्छ ।
नेपालमा बजेट निर्माणको प्रक्रियामै संरचनागत कमजोरीहरू छन् । विशेषगरी बजेट निर्माणको पूर्वाधार कमजोर छ । स्पष्ट र कार्यान्वयनमैत्री कार्ययोजना निर्माण नगरेर बजेटमा रकम विनियोजन गरिन्छ । खासगरी सांसदहरूको सिफारिसमा आएका साना टुक्रे योजना जसको पूर्वतयारी नहुँदो हो ती बजेटमा समावेश गरिन्छन् । यस्तो प्रवृत्तिले खर्चलाई मात्र होइन सम्पूर्ण योजनालाई परिणामविहीन बनाउँछ । यो राजनीतिक हस्तक्षेपले बजेटलाई राजनीतिक उपहारमा रूपान्तरण गरिदिएको छ ।
आयोजना छनोटको प्रक्रिया वैज्ञानिक नभई ‘कागजमै योजना’ को प्रवृत्ति हावी छ । सरकारका बहुसंख्यक योजनाहरू Detailed Project Report (DPR) बिना नै बजेटमा राखिन्छन् । कार्यान्वयन योग्य नहुँदा यस्ता योजनाहरू बजेटमा रकम बाँधेर अलपत्र पर्छन् । प्राविधिक अनुमोदन, मुआब्जा, ठेक्का प्रक्रिया र बजेट निकासा सबै ढिलो हुने भएकाले परियोजना सञ्चालनमा महिनौं विलम्ब हुन्छ । परिणामस्वरूप विकास खर्चको अधिकांश भाग आर्थिक वर्षको अन्त्यतिर मात्रै हुने गर्छ जसले गुणस्तरीय खर्चको सम्भावना समाप्त पार्छ ।
कार्यान्वयन तहमा रहेका कर्मचारीहरूको क्षमताको अभाव, काम नगर्नेलाई संरक्षण र गर्नेलाई प्रोत्साहन नहुने परिपाटीले प्रशासनिक अनुशासनमा समेत गम्भीर असर पारिरहेको छ । परियोजना प्रमुखहरूलाई कुनै पनि बेला सरुवा गरिने मनोमानी परिपाटी अझै हटेको छैन । कुनै आयोजना सम्पन्न हुन लाग्दाखेरी प्रमुखको सरुवा हुँदा सम्पूर्ण कार्यप्रणाली ध्वस्त हुन्छ । यस्ता प्रशासनिक बेथिति सुधार्ने काममा सरकार असफल देखिएको छ ।
निर्माण कम्पनीहरूसँग हुने मिलेमतो पनि विकास खर्चको ठुलो बाधक हो । ठेक्का लगाउने प्रक्रियामा ढिलाइ गर्नु योग्यताविहीन निर्माण कम्पनीलाई राजनीतिक पहुँचका आधारमा काम दिलाउनु वर्षौंसम्म आयोजनालाई अलपत्र राख्ने प्रवृत्तिले जनताको करदाताको पैसाको दुरुपयोग भएको छ । नियामक संस्थाहरू जस्तै महालेखा परीक्षकको कार्यालय, अख्तियार वा अन्य अनुगमन संयन्त्र प्रभावहीन भइरहेका छन् ।
राजस्व असुली कमजोर हुँदा र वैदेशिक सहयोग पनि घट्दो क्रममा हुँदा सरकारले आन्तरिक ऋणमा अत्यधिक निर्भर रहन थालेको छ । यसले निजी क्षेत्रको वित्तीय स्रोतलाई पनि प्रभावित बनाउँछ । बैंक तथा वित्तीय संस्थाहरूले सरकारलाई ऋण दिन प्राथमिकता दिने भएकाले निजी क्षेत्रमा ऋण प्रवाह घट्छ जसको परिणामस्वरूप उत्पादन र रोजगारीमा पनि गिरावट आउँछ ।
पुँजीगत खर्चको यो गिरावटले निजी क्षेत्रको मनोबललाई गम्भीर असर पुर्याएको छ । सरकारी लगानी नभएसम्म निजी क्षेत्रले पनि ठूलो लगानी गर्न हिचकिचाउने गर्छ । कतिपय परियोजनामा साझेदारी गर्ने (PPP) मोडलको चर्चा भए पनि कार्यान्वयन कमजोर देखिएको छ । न त कानुनी संरचना पर्याप्त छ न त आवश्यक नीतिगत स्पष्टता निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बन्न सक्न नसक्दा मुलुकको समग्र आर्थिक वृद्धि दर प्रभावित हुँदै गएको छ ।
विगतका वर्षहरू हेर्दा पुँजीगत खर्च घट्दो क्रममा छ । २०७६/०७७ मा ५९.९ प्रतिशत पुँजीगत खर्च भएकोमा २०७९/०८० सम्म आइपुग्दा त्यो ४४.६८ प्रतिशतमा झरेको थियो र यस वर्ष ४०.७ प्रतिशतमा झरेको छ । यो लहरागत गिरावटले देखाउँछ कि समस्या केवल अस्थायी नभएर गहिरो र दीर्घकालीन हो । सरकारले नीति, योजना, कार्यान्वयन र मूल्याङ्कनका सबै तहमा पुनरावलोकन र सुधारको आवश्यकता देखिएको छ ।
अबको आवश्यकता केवल बजेट निर्माण नभएर त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु हो । यसका लागि पूर्वतयारी बिना बजेटमा आयोजना नराख्ने कार्यसम्पादनका आधारमा मन्त्रालय तथा निकायहरूको मूल्याङ्कन गर्ने सांसद सिफारिसमा परियोजना समावेश नगर्ने ठेक्का प्रक्रिया पारदर्शी बनाउने र योजनाको अनुगमनलाई डिजिटल पार्ने जस्ता संरचनात्मक सुधारहरू अत्यावश्यक छन् ।
नेपालको सार्वजनिक बजेट प्रणाली केवल तथ्यांकको खेल नभई जनअपेक्षा राज्यको जवाफदेहिता र दीर्घकालीन आर्थिक रणनीतिको अभिन्न अंग हो । अहिलेको अवस्थामा सरकारको ध्यान पुनः योजना निर्माणभन्दा कार्यान्वयन सुधारमा जानु आवश्यक छ । यसो नगरे आर्थिक स्थायित्व, रोजगारी, पूर्वाधार र उत्पादन वृद्धि मात्र होइन समग्र लोकतान्त्रिक शासन प्रणालीमा नै जनविश्वास डगमगाउन सक्छ । वर्तमान समय सुधारको अन्तिम अवसर हो यसलाई चुकाउँदा मुलुकको भविष्य गम्भीर जोखिममा पर्नेछ ।
(लेखक :– बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ )
Websites store cookies to enhance functionality and personalise your experience. You can manage your preferences, but blocking some cookies may impact site performance and services.
Essential cookies enable basic functions and are necessary for the proper function of the website.
Name
Description
Duration
Cookie Preferences
This cookie is used to store the user's cookie consent preferences.
30 days
Statistics cookies collect information anonymously. This information helps us understand how visitors use our website.
Marketing cookies are used to follow visitors to websites. The intention is to show ads that are relevant and engaging to the individual user.
WRITE COMMENTS FOR THIS ARTICLE