बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : विपक्षीलाई पेलेर अघि बढ्ने प्रधानमन्त्रीकाे संकेत

काठमाडौं – भिजिट भिसा प्रकरण छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा रहेका विपक्षी दलहरुले आज पनि संसद अवरोध गर्ने तयारी गरेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध जारी राख्ने बताइसकेकाले आजबाट सुरु हुने भनिएको बजेटमाथिको छलफल प्रभावित हुनसक्ने देखिएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग गरेको छलफलबाट पनि संसद अवरोध हट्नेतर्फ प्रगति भएको छैन । यहीबीचमा प्रधानमन्त्री ओलीले संसद अवरोध नहुने भन्दै विपक्षीलाई पेलेर अघि बढ्ने संकेत गरेका छन् ।

संघीय संसद्का दुवै सदन-प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छन् । प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजेका लागि र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि निर्धारण गरिएको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम तय गरिएको छ ।

उनले बजेट वक्तव्यसहित राजस्व तथा खर्चको वार्षिक अनुमानबारे संसदलाई जानकारी गराउनेछन् । प्रस्तावमाथि आजै सांसदहरूले धारणा राख्ने कार्यक्रमसमेत रहेको छ ।

त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उता, राष्ट्रियसभाको बैठकमा पनि महत्वपूर्ण विधेयकमाथि छलफल हुने भएको छ । उपप्रधानमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ मा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, सो संशोधनलाई सहमति दिइयोस् भन्ने प्रस्तावसमेत आजको बैठकमा प्रस्तुत गरिनेछ ।

संसदका दुवै सदनको बैठकले बजेट सत्रको प्रारम्भिक छलफललाई औपचारिक बनाउने अपेक्षा गरिएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको बजेटबारे सांसदहरूको धारणा, आलोचना र सुझाव आजदेखि क्रमशः प्रस्तुत हुँदै जानेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x