तेस्रो व्यक्तिको मस्तिष्कमा न्युरालिङ्क चिप प्रत्यारोपण
काठमाडौं,- अर्बपति उद्यमी एलन मस्कको ब्रेन-कम्प्युटर इन्टरफेस कम्पनी न्युरालिङ्कले तेस्रो व्यक्तिको मस्तिष्कमा चिप प्रत्यारोपण गरेको छ । मस्कले एक अन्तर्वार्ताका क्रममा तेस्रो व्यक्तिमा सफलतापूर्वक चिप प्रत्यारोपण भएको जानकारी दिएका हुन् ।
यो कम्पनी मान्छेको स्नायु प्रणालीलाई मेसिनसँग जोड्ने काम गरिरहेको छ । “हामीसँग न्युरालिङ्क चिप प्रत्यारोपण भएका तीन जना मानिसहरू छन् र सबैले राम्रोसँग काम गरिरहेका छन्,” एक्समा लाइभ गरिएको लस भेगास कार्यक्रममा मस्कले भने ।
पहिलो पटक मस्तिष्कमा चिप प्रत्यारोपण गरेको लगभग एक वर्षपछि कम्पनीले धेरै इलेक्ट्रोड, उच्च ब्यान्डविथ र लामो ब्याट्री लाइफका साथ डिभाइस अपग्रेड गरेको मस्कले बताएका छन् । उनका अनुसार न्युरालिङ्कले यस वर्ष २० देखि ३० जना थप मानिसहरूमा यो प्रयोगात्मक डिभाइस प्रत्यारोपण गर्ने अपेक्षा गरेको छ ।
मस्कले चिप प्रत्यारोपण भएका तेस्रो बिरामीको बारेमा कुनै विवरण सार्वजनिक गरेका छैनन् । तर अघिल्ला बिरामीका बारेमा भने उनी समय समयमा जानकारी दिइहरका हुन्छन् ।
मस्तिष्कमा न्युरालिङ्कको चिप प्रत्यारोपण गराउने दोस्रो व्यक्तिको मेरुदण्डमा चोट लागेको थियो । त्यसपछि पक्षघात भएका उनले मस्तिष्कमा चिप राखेपछि त्यसको सहायताले भिडिओ गेम खेलेका थिए । साथै उनले थ्रीडी वस्तु निर्माण गर्न कम्प्युटर-एडेड डिजाइन सफ्टवेयर प्रयोग गर्न सिकेका थिए । मेरुदण्डको चोटपछि पक्षघातका भएर चिप प्रत्यारोपण भएका पहिलो बिरामीले यस डिभाइसले आफूलाई भिडिओ गेम र चेस खेल्न कसरी मद्दत गर्यो भनेर एक पडकास्टमै जानकारी दिएका थिए ।
न्युरालिङ्कमा भएका यस्ता विकासले धेरैको ध्यान खिचे पनि अन्य धेरै कम्पनी र अनुसन्धान समूहहरू यस्तै परियोजनामा काम गरिरहेका छन् । गत वर्ष न्यु इङ्ग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित दुई अध्ययनमा मस्तिष्क-कम्प्युटर इन्टरफेसले एएलएस अर्थात् मांसपेशी कमजोर हुने रोग भएका मानिसलाई कसरी राम्रोसँग कुराकानी गर्न मद्दत गर्यो भन्ने विषय उल्लेख गरिएको छ ।
अमेरिकी अध्ययनको डेटाबेस अनुसार मस्तिष्क-कम्प्युटर इन्टरफेस समावेश भएका ४५ भन्दा बढी परीक्षणहरू जारी छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE