चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्याे
काठमाडौं,- मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पबाट कम्तीमा १३० जना घाइते भएका हुन् ।
स्थानीय समयअनुसार मंगलबार बिहान नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।
स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरले जनाएको छ । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर छ ।
यूएस जियोलोजिकल सर्भेले भने भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ भने नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।
नेपालकाे राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले एक विज्ञप्तिमार्फत सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको जनाएको छ । यसबाहेक इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रले जनाएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE