ठुलो लगानीमा सञ्चालनमा रहेका सिमेन्ट उद्योग क्लिङ्कर नहुँदा बन्द हुने अवस्थामा
विराटनगर,- काेशी प्रदेशका १३ सिमेन्ट उद्योगकाे आफ्नै क्लिङ्कर नहुँदा सञ्चालनमा सङ्कट परेकाे छ। कोशीका १५ सिमेन्ट उद्योगमध्ये १३ सिमेन्ट उद्योगसँग आफ्नै क्लिङ्कर उत्पादन भने छैन । धनकुटाको निगाले सिमेन्ट उद्योग र उदयपुरको उदयपुर सिमेन्ट उद्योगबाहेकले क्लिङ्कर ल्याएर ग्रान्डिङ गरेपछि उत्पादन गर्न सक्छन् । क्लिङ्कर खरिद गर्दा महँगो पर्ने भएपछि कुनै उद्योग बन्द भएका भने कुनै बन्दका चरणमा पुगेका छन् । कोशी प्रदेशको मोरङमा चार, झापामा आठ, सुनसरीमा एक, उदयपुरमा १ र धनकुटामा एउटा उद्योग सञ्चालनमा छ, जसमध्ये मोरङको अल्ट्राटेक र अन्नपूर्ण सिमेन्टको उत्पादन बन्द छ ।
यसै गरी झापाका आठमध्ये तीन वटा उद्योग पूर्ण रूपमा बन्द छन् । पाँच वटा उद्योगको उत्पादनसमेत २५ प्रतिशत हाराहारी मात्रै रहेको उद्योगीहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष एवं अन्नपूर्ण सिमेन्ट उद्योगका सञ्चालक राजेन्द्र राउतका अनुसार आफ्नै क्लिङ्कर नहुँदा ठुलो लगानीमा सञ्चालनमा रहेका उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् । क्लिङ्कर आयात गरेर ग्रान्डिङ गर्दा लागत बढ्ने र प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएपछि सिमेन्ट उद्योग बन्द गर्नुपर्ने चरणमा पुगेकाे उद्योगीहरू बताउँछन् । सरकारको पुँजीगत खर्च गर्न नसक्ने अवस्था, उधारो भुक्तानी नहुनु र भारतमा गुणस्तर चिह्न प्राप्त नगरेका उद्योगको निर्यात रोकिनु पनि नेपाली सिमेन्टका लागि घातक बनेको छ । देशभरमा २१ वटा सिमेन्ट उद्योगको आफ्नै क्लिङ्कर उत्पादन छ । खपत कम भएका बेला यिनै उद्योगको उत्पादनले धानिरहेका कारण सरकारले ग्रान्डिङ प्लान्टका सिमेन्ट उद्योग सञ्चालकको मागलाई वेवास्ता गरेको देखिन्छ ।
सुनसरी–मोरङ औद्योगिक कोरिडोर अल्ट्राटेक सिमेन्टका सञ्चालक मनिष मारुका अनुसार डेढ वर्षयता उद्योगको प्लान्ट बन्द छ । सरकारले माग बढाउने गरी खपत बढाउन पुँजीगत खर्च गर्न सके अहिलेको उत्पादनले थेग्दैन तर पुँजीगत खर्च नै नभइरहेका बेला पूर्वाधारका कामसमेत न्यून मात्रामा भइरहेको छ । मारुका अनुसार अहिले आफ्नै क्लिङ्कर प्लान्ट भएका उद्योगले उत्पादन गरेको सिमेन्टको खपतले पुगिरहेका बेला सरकारलाई ग्रान्डिङ उद्योगका सञ्चालकको माग सुनुवाइ गर्न जरुरी नै ठानेको छैन । उद्योगीले अरूबाट क्लिङ्कर खरिद गरेर उद्योग चलाउन नसक्ने अवस्था रहेकाले अब सरकारसँगै अनुमति लिएर बन्द गर्ने अवस्था आइसकेको उनी बताउँछन् ।
WRITE COMMENTS FOR THIS ARTICLE