आजदेखि दुई दिन वर्षा र हिमपातकाे सम्भावना, सतर्कता अपनाउन मौसमविदहरूकाे सुझाव
काठमाडौं,- पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आजदेखि दुई दिन बदली, वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । आज देखि सुदूरपश्चिमबाट सुरु हुने यो अवस्था आइतबारबाट मात्रै क्रमिक रुपमा सुधार हुने सम्भावना छ । यसको प्रभावले काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ ।
वरिष्ठ मौसमविद मीन कुमार अर्यालका अुनसार आज अपराह्नदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ ।
आज राति भने सुदूरपश्चिमका केही स्थानहरु, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुने पूर्वानुमान छ ।यो प्रणाली क्रमशः पूर्वतिर सर्दै जानेछ र काठमाडौं उपत्यकामा पनि यसको प्रभाव देखिने छ । काठमाडौं उपत्यकामा आज पानी पर्ने सम्भावना देखिँदैन । शुक्रबार राति काठमाडौंमा बादल लाग्ने र शनिबार हल्का वर्षा हुने वरिष्ठ मौसमविद मीन कुमार अर्यालले जानकारी दिए ।
‘भोलि शनिबार देशैभर साधारण बदली हुन्छ । सुदूरपश्चिम र कर्णालीका धेरै स्थानहरुमा तथा कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ,’ अर्यालले भने, ‘काठमाडौं उपत्यकामा भोलि हल्का वर्षाको सम्भावना छ ।’हल्का वर्षा भन्नाले १० मिलिमिटर भन्दा कम पानी पर्नु हो, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटर भन्दा तलको अवस्थालाई भने मध्यम वर्षा भनिन्छ ।
आइतबारबाट क्रमशः माैसममा सुधार हुने देखिन्छ । आइतबार यसको प्रभाव छिटफुट मात्र रहन्छ, आइतबार पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना रहेकाे छ । बदली पनि अलि बढी पश्चिमतिर केन्द्रित रहने छ । आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मात्र वर्षा हुने देखिन्छ । अन्य स्थानमा भने खासै वर्षाको सम्भावना नदेखिएको वरिष्ठ मौसमविद अर्यालले बताउनु भयाे। यो प्रणालीले जाडो बढाउने छ । त्यसैले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । यो तापक्रम भोलि अझै घट्ने सम्भावना रहेकाे छ ।
WRITE COMMENTS FOR THIS ARTICLE